• १३ साउन २०८१, आइतबार

इलाममा चियाको पहिलो टिपाइ सुरु

blog

चियाको ‘फस्ट फ्लस’ । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, चैत १९ गते । चिया उत्पादनको मुख्य क्षेत्र रहेको इलाममा ‘फस्ट फ्लस’ अर्थात् चियाको पहिलो टिपाइको काम सुरु भएको छ । वर्षेभरिको उत्पादनमध्ये गुणस्तरीय मानिने पहिलो चरणको टिपाइको चियालाई किसान र उद्योगीहरूले विशेष महत्वका साथ लिने गरेका छन् ।

फस्ट फ्लसको चिया राम्रो मूल्यमा बिक्री हुने पहिलो चरणको हरियो पत्तीको मूल्य पनि राम्रै हुने गरेको छ । चिया टिपाइ सुरु भएसँगै सूर्योदय नगरपालिकास्थित सुन्दरपानीको गोर्खा टी स्टेटले केही दिन अघिदेखि तयारी चिया बनाउन थालेको छ । जिल्लाका अन्य केही कारखानाहरूले पनि आइतबारदेखि चिया प्रशोधन सुरु गरेको जनाएका छन् । 

तातो र जिल्लाको दक्षिणी भेगमा रहेका चिया बगानहरूमा टिपाई सुरु भएको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईले बताउनुभयो । राईका अनुसार जिल्लाको माथिल्लो भेगमा रहेका बगानमा भने करिब एक सातामा मात्रै चिया टिपाई सुरु हुनेछ । ‘माइपोखरी, साँखेजुङ लगायतका क्षेत्रमा चिया पालाउन थालेको भएपनि टिप्न एक–दुई दिन पछिमात्र हुन्छ,’ राईले भन्नुभयो, ‘गत वर्ष भन्दा यो वर्ष पहिलो टिपाइ अलि ढिलो भएको छ ।’ विगत वर्षहरूमा फागुन अन्तिमदेखि चैत १५ भित्रमा चियाको पहिलो टिपाइ सुरु हुने गरेको थियो । 

उता जसवीरे टी प्रोसेसिङले पनि केही दिनमा चिया टिपाई र प्रशोधन सुरु हुने जनाएको छ । यो कारखानाले किसानहरूलाई भेला गरेर पहिलो टिपाइ पूर्व किसानलाई टिपाइमा अपनाउनु पर्ने सर्तकर्ता र त्यसबाट उत्पादन हुने गुणस्तरको चियाको विषयमा सचेत पनि गराएको छ । ‘चिया टिपाई देखिनै गुणस्तर कायम हुने हुँदा टिपाइ अघि नै किसानलाई सचेत गराउनु उचित हुने रहेछ ।’ जसवीरे टी का सञ्चालक शरद सुब्बाले भन्नुभयो, ‘एक सुइरो मात्र कसरी टिप्ने, दुई पात एक सुइरो कसरी टिप्ने, त्यसको बास्ना, स्वाद कस्तो हुने, राम्रो र गुणस्तरीय चियाको मूल्य कस्तो हुने भन्ने विषयहरूमा किसानलाई जानकारी गराएका छौँ । विगतमा भन्दा यो वर्षको चियाको गुणस्तरमा निकै फरक पर्छ भन्ने लागेको छ ।’ 

यस वर्ष हिउँदमा आकाशे वर्षा नहुँदा त्यसको असर चिया उत्पादनमा परेको बताइएको छ । प्रायः जसो फागुन अन्तिम सातादेखि चैतको पहिलो साता सम्ममा चियाको पहिलो टिपाइ सुरु हुने गरेको थियो । तर, मौसम सुख्खा भएको र पहाडी क्षेत्रमा सिँचाइको वैकल्पिक व्यवस्था नभएकाले त्यसको असर चिया किसानलाई परेको सुब्बाले बताउनुभयो । ‘जिल्ला भरिनै चिया टिपाई सुरु हुन अझै केही समय लाग्छ,’ सुब्बाले भन्नुभयो, ‘यो वर्ष समयमा पानी नपर्दा चिया किसानले निकै घाटा व्यहोर्नुपर्ने अवस्था छ ।’ 

सूर्योदय नगरपालिकास्थित ओएसिस चिया कारखानाले पनि हरियो चिया प्रशोधन सुरु गरेको जनाएको छ । व्यवसायीले तयारी गरेको पहिलो टिपाइको चिया विषेशगरि तेस्रो मुलुक निर्यात हुने गरेको बताउँछन् । इलाममा गोल्डन, गोल्र्डन पल, सिल्भर, गोल्डन ब्ल्याक, ग्रिन लगायतका फरक–फरक नाम र स्वादका चिया उत्पादन हुने गरेको छ ।