• २२ वैशाख २०८१, शनिबार

‘माइक्रो रेल प्रविधिमा आधारित पोड वेका लागि सरकारले तत्काल कार्यविधि बनाउनुपर्छ’

blog

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरी ।

काठमाडौं, चैत १९ गते । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले माइक्रो रेल प्रविधिमा आधारित पोड वे सञ्चालनका लागि तत्काल कार्यविधि बनाउन सरकारसँग माग गर्नुभएको छ ।

सवारी दुर्घटनाबाट जिउधनको सुरक्षा गर्न, नेपालमा पर्यटकीय क्षेत्रको विकास गर्न, ट्राफिक जाम हटाउन, पेट्रोलियम पदार्थको आयातलाई विस्थापन गर्न पनि सो प्रविधिमा आधारित पोड वे भरपर्दो माध्यम हुने भएकाले यसको सञ्चालनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले तत्काल सो सम्बन्धी कार्यविधि बनाउन ढिलाइ गर्न नहुने बताउनुभएको हो ।

‘‘माइक्रो रेल प्रविधिमा आधारित कार्यविधिको अभावले काम अघि बढ्न सकेको छैन । कार्यविधि कहिले बन्ने हो ? काम कहिले अगाडि बढ्ने हो ? सम्बन्धित मन्त्रालयको ध्यान जानुपर्ने देखिन्छ । यदि यो प्रविधिलाई कार्यान्वयन गर्ने हो भने काठमाडौँलगायत महत्त्वपूर्ण सहरहरूमा ट्राफिक जामलाई हटाउन सकिन्छ । नेपालको पर्यटकीय क्षेत्रमा उल्लेख्य रूपमा विकास गर्न सकिन्छ । इन्धनलाई प्रतिस्थापन गर्न सकिन्छ ।,’’ प्रमुख सचेतक चौधरीले भन्नुभयो, ‘‘सुरक्षित यात्राको ग्यारेन्टी गर्न सकिन्छ । प्रदूषणका कारण जलवायुमा हुने परिवर्तनलाई रोक्न सकिन्छ । हिमाली र पहाडी क्षेत्रमा हुने हवाई यातायातको विकल्पको रूपमा स्थापित गर्न सकिन्छ । जस्तोसुकै मौसममा पनि यो प्रविधिमा आधारित यातायात नेपालमा अत्यन्तै उपयोगी हुन सक्छ ।’’

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै प्रमुख सचेतक चौधरीले नेपालका लागि उपयोगी भनेर सरकारले गत मङ्सिर ७ गते राजपत्रमा प्रकाशित गरेकाले त्यसका लागि आवश्यक ऐन, नियम बनाउने काममा लाग्नुपर्ने बताउनु भयो । प्रमुख सचेतक चौधरीले सुरक्षित र भरपर्दो यात्राका लागि पनि सो प्रविधिमा आधारित पोड वे अत्यन्त कामयाबी हुने बताउनुभयो ।