• २२ वैशाख २०८१, शनिबार

वैदेशिक रोजगारीमा जानेको पारिश्रमिक एक लाख तोक्न माग

blog

सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौं, चैत १९ गते । नेकपा (माओवादी केन्द्र) का सांसद रामकुमार राईले वैदेशिक रोजगारीमा जानेहरूको मासिक पारिश्रमिक एक लाख रुपियाँ तोक्नुपर्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद राईले नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूको मासिक पारिश्रमिक एक लाख रुपियाँ तोकिनुपर्ने बताउनुभएको हो ।

उहाँले फ्रि भिसा फ्रि टिकट भनिएपनि दुई लाख रुपियाँसम्म लिएर विदेश पठाउने गरिएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले देशभरका पालिकाबाट सदरमुकाम जोड्ने सडक कालोपत्रे गर्न माग पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘पालिकाबाट सदरमुकाम जोड्ने सडक कालोपत्रे गर्न माग गर्दछु । वैदेशिक रोजगारीमा फ्रि भिसामा जानेलाई डेढ लाखदेखि दुई लाख लिएर पठाइरहेको छ । कतिले काम पाइरहेको छैन । भनेको कम्पनी पाइरहेको छैन । बेरोजगार भएर जेलमा बस्नुपरेको छ । सरकारले यसमा पहलकदमी लिओस् । विदेश पठाउँदा नेपाली दाजुभाइलाई महिनाको एक लाख तलब तोकियोस् ।’’

सांसद राईले २०७२ सालको भूकम्पपछि राहतस्वरुप घर पुनर्निर्माणका लागि रकम दिने भने पनि पहिलो किस्ता पछिका किस्ता नदिइएको भन्दै तुरुन्तै पीडितहरूलाई भुक्तानी दिन माग गर्नुभयो ।