• २२ वैशाख २०८१, शनिबार

कनिका छरेजस्तो गरी बजेट नछर्न मन्त्रीलाई सांसद ढकालको आग्रह

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकाल ।

काठमाडौं, चैत १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले आगामी आर्थिक वर्षको बजेट कनिका छरेजसरी नछर्न मन्त्रीहरूलाई आग्रह गर्नुभएको छ ।

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद ढकालले आगामी आर्थिक वर्षको बजेट विगतको जस्तैगरी कनिका छरेजसरी नछर्न आग्रह गर्नुभएको हो ।

उहाँले पहुँचको आधारमा आफ्नो क्षेत्रमा बजेट लान दिनु नहुने पनि बताउनु भयो । उहाँले सांसदहरूको लेटरप्याडलाई चिर्कटोको संज्ञा दिँदै चिर्कटोमा लेखेर दिएको भरमा आयोजनामा बजेट दिनु नहुने बताउनु भयो । उहाँले बजेट विनियोजनमा विगतको निरन्तरता दोहोर्‍याउनु नहुने जिकिर गर्नुभयो ।

‘‘मन्त्रालयहरूमा बजेटको सिलिङहरू तय हुँदै गर्दा मन्त्रालयहरूमा हाट, बजार लागेको जस्तो भएको छ, योजना माग्न जानेहरूको । ती योजनाहरू कुनै प्रक्रिया पुगेर गएका छैनन् । एउटा लेटरहेडको चिर्कटो अथवा डायरीमा टिपेका चिर्कटोहरू प्रस्तुत हुने अनि बजेट प्रस्तुत हुँदै गर्दा विगतकै निरन्तरता हुने देखेको छु ।,’’ सांसद ढकालले भन्नुभयो, ‘‘बजेट र योजनाको यो शैलीको कारणले विगतका असरल्ल आयोजनाहरूलाई हेर्दै गर्दा फेरि यस वर्ष पनि विगतको निरन्तरता भयो भने हामीले यथास्थिति र निरन्तरतावाद बाहेक अरू केही पनि पाउने छैनौँ । योजना छनौटका सन्दर्भमा पहुँचका आधारमा लैजाने हुन आगामी आर्थिक वर्षमा हुन नदिऔँ । हाम्रो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीज्यू यही गरिमामय सदनमा हुनुहुन्छ, म आग्रह गर्दछु, कनिका छरेको जस्तो बजेट यसपटक कृपया नछरिदिनु होला । विगतमा निरन्तरता नदोहोर्‍याइदिनु होला ।’’

उहाँले पूर्वी चितवनमा आगामी आर्थिक वर्षसम्म इलाका प्रशासन कार्यालय लानका लागि माग गर्नुभयो ।