• २३ वैशाख २०८१, आइतबार

नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न माग

blog

सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौं, चैत १९ गते । नेकपा (एमाले) का सांसद सरिता भुसालले नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न माग गर्नुभएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद भुसालले नारायणगढ–बुटवल सडकखण्ड निर्माणका लागि दुई पटक म्याद थप गरेपनि हालसम्म आयोजना सम्पन्न हुन नसकेको बताउनु भयो ।

उहाँले सडक निर्माण सम्पन्न नहुँदा यात्रु तथा स्थानीयले धेरै दुःख झेल्नुपरेको भन्दै वर्षायाम अघि नै निर्माण सम्पन्न गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले पटक–पटक समय थप गर्दापनि निर्माण सम्पन्न हुन नसक्नुको कारण पहिचान गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद भुसालले भन्नुभयो, ‘‘वर्षायाम सुरु हुनु अगावै यात्रुहरूले थप समस्या भोग्नु नपरोस् भन्ने कुरामा सरकारको ध्यानाकृष्ट होस् । पटक–पटक समयावधि थप गरिदा पनि योजना सम्पन्न हुन नसक्नुका कारण पहिचान गरी कम्पनीलाई अझ गतिशील रूपमा कार्य अगाडि बढाउन सरकारले समय समयमा निगरानी गरी यस समस्याबाट छिट्टै मुक्त गरोस् । दुर्घटना दिनप्रतिदिन बढ्दैछ । लामो दूरीमा चल्ने सवारी साधनमा एकभन्दा बढी चालकको व्यवस्था गर्ने गर्नुपर्‍यो । सडकको स्तरोन्नति गर्नुपर्‍यो ।’’

सांसद भुसालले सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि लामो दूरीको सवारी साधनमा दुईजना चालकको व्यवस्था गर्नुपर्ने र सडकको स्तरोन्नति गर्नुपर्ने पनि बताउनुभयो ।