• १३ साउन २०८१, आइतबार

सुपर काबेली क्यासकेटको एचआरटी सुरुङ निर्माण सम्पन्न

blog

सुपर काबेली ‘ए’ क्यासकेट आयोजनाको सुरुङ निर्माण सम्पन्न ।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत १६ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माणाधीन सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाको एचआरटी सुरुङ निर्माण सम्पन्न भएको छ । कुल १२ मेगावाट क्षमता भएको उक्त क्यासकेट आयोजनाको एचआरटी सुरुङमार्ग निर्माण सम्पन्न भएको हो ।

आयोजनाको एक हजार ८३७ मिटर दूरी भएको सुरुङ निर्माण बिहीबार पूरा भएको हो । आयोजनाका प्रतिनिधि मेघनाथ ढुङ्गानाका अनुसार गत २०७९ साल पुस अन्तिम सातादेखि सुरुङ निर्माणको काम सुरु गरिएको थियो । उक्त एचआरटी सुरुङ निर्माण सम्पन्न भएसँगै अब आयोजनाको ७५ प्रतिशत काम पूरा भएको छ ।

जिल्लाको सिरिजङ्घा गाउँपालिका–७ खेबाङ र वडा ८ याम्फुदिन भई बग्ने काबेली खोलाबाट विद्युत उत्पादन गर्ने गरी सुपर काबेली ‘ए’ क्यासकेट आयोजना सुरु गरिएको हो। आयोजनाको मुख्य प्रवर्द्धक हिलटन इनर्जी लिमिटेड छ । यो आयोजनाबाट उत्पादन हुने विद्युत पाँचथरको अमरपुरस्थित १३२ केभीए क्षमताको सव–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ ।