• १५ वैशाख २०८१, शनिबार

ताप्लेजुङमा ४९ परीक्षार्थी अनुपस्थित

blog

फाइल तस्विर

चन्द्र पन्दाक 

ताप्लेजुङ, चैत १५ गते । बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ताप्लेजुङमा ४९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । एसइई परीक्षामा सहभागी हुन आवेदन दिएका एक हजार ८९० जना विद्यार्थीमध्ये सो सङ्ख्यामा परीक्षा अनुपस्थित भएका हुन् । 

जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईका अनुसार एसइईको पहिलो दिन बिहीबार भएको अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा २७ जना छात्र र २२ छात्रागरी ४९ जना अनुपस्थित भएका हुन् । बाँकी एक हजार ७७९ जना विद्यार्थी अर्थात् परीक्षार्थी परीक्षामा सामेल भएको शिक्षा विकास तथा समन्वय इकाई का प्राविधिक सहायक रामनारायण साहले जानकारी दिनुभयो ।

साहका अनुसार परीक्षामा सामेल भएकामध्ये ९७७ जना छात्रा र ८०२ जना छात्र छन् । पहिलो दिनको परीक्षा जिल्लाभरी शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई का प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो । एसइई सञ्चालनका लागि जिल्लामा १७ वटा परीक्षा केन्द्र छन् ।

इकाईका अनुसार फुङ्लिङ नगरपालिकामा भानुजन माध्यमिक विद्यालय, बालसुबोधिनी संस्कृत माध्यमिक विद्यालय, युवावर्ष माध्यमिक विद्यालय, सिद्धकाली माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयमा परीक्षा केन्द्र रहेको छ । यस्तै, मिक्वाखोला गाउँपालिकामा मोती माध्यमिक विद्यालय, मेरिङ्देन गाउँपालिकामा त्रिभुवन माध्यमिक विद्यालय, सिदिङ्वा गाउँपालिकामा भञ्ज्याङ माध्यमिक विद्यालयमा केन्द्र रहेको छ ।

त्यस्तै, सिरिजङ्घा गाउँपालिकामा सिनाम माध्यमिक विद्यालय, तेल्लोक माध्यमिक विद्यालय र गणेश माध्यमिक विद्यालय, पाथीभरा याङ्वरक गाउँपालिकामा थेचम्बु माध्यमिक विद्यालयमा परीक्षा केन्द्र रहेको छ । मैवाखोला गाउँपालिकामा मैवाखोला माध्यमिक विद्यालय, आठराई त्रिवेणी गाउँपालिकामा सरस्वती माध्यमिक विद्यालय र दुर्गा माध्यमिक विद्यालय केन्द्र छन् । 

यसैगरी फक्ताङ्लुङ गाउँपालिकामा सिँवा माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र निर्धारण गरिएको छ । एसइई सञ्चालनका लागि गत वर्ष १६ वटा परीक्षा केन्द्र रहेकोमा यो फक्ताङ्लुङको सरस्वती माध्यमिक विद्यालयमा नयाँ केन्द्र थप भएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।