• १४ माघ २०८१, सोमबार

च्याउ खेतीमा रमाएकी तुलसा

blog

च्याउ।

दाङ, चैत १५ गते । दाङको तुलसीपुर उपमहानगरपालिका-६ मोतीपुरकी ५८ वर्षीया तुलसा बुढामगरले व्यावसायिकरुपमा च्याउ खेती थालेको डेढ दशकभन्दा बढी भयो । सामान्य लेखपढ बुढामगर आफू एक्लै च्याउखेतीमा रमाएको मात्र होइन कि उहाँले अहिले च्याउ उद्योग पनि खोल्नुभएको छ । 

उहाँले खोलेको सो उद्योगमा अहिले चार जनाले रोजगारी पनि पाएका छन् । यस व्यवसायबाट राम्रै आम्दानी गरेकी उहाँले वार्षिक आठ लाख जति बचत गर्ने गरेको जानकारी पनि दिनुभयो । सुरुमा एउटा महिला समूह गठन गरी सानो माटोको कच्ची घर भाडामा लिएर च्याउ लगाउन सुरुआत गरेको बताउने उहाँ अहिले यस क्षेत्रकै एक सफल महिला उद्यमीका रूपमा पनि परिचित हुनुभएको छ । 

उहाँ भन्नुहुन्छ, “यस खेतीबाट आर्थिकरुपमा सक्षम हुनुका साथै आत्मनिर्भर पनि बनेकी छु । अहिले राम्रै कमाई हुन थालेपछि पहिलेभन्दा काम गर्ने जाँगर पनि बढेर आएको छ ।” च्याउ बिक्रीबाट हालसम्म बचत गरेको रकमबाट एक पक्की घर र केही सम्पत्ति जोड्न सफल भएको उहाँको भनाई छ । एक सफल उद्यमी महिलाको रूपमा स्थापित हुनुभएकी उहाँले उत्पादन गर्ने ताजा च्याउबाट तयार गरिएको च्याउको अचार र सुकुटी दाङ तथा जिल्ला बाहिरका अन्य सहरसम्म पनि पुग्ने गरेको छ । 

च्याउ बाहिरी बजारसम्म पुग्ने गरेको र त्यसबाट राम्रो आम्दानी हुने गरेको उहाँको भनाइ छ । गत फागुनमा तुलसीपुरमा आयोजना गरिएको तुलसीपुर महोत्सवमा उहाँले एउटा स्टल भाडामा लिएर आफूले उत्पादन गरेका च्याउ र च्याउका परिकार तथा अन्य अर्गानिक तरकारी, सिस्नोको झोल, तरुल आदि राख्नुभएको थियो । यस्ता स्थानीय मेला महोत्सवहरूमा अहिले पहिलेका तुलनामा मानिसहरूले यस्तै मौलिक तथा स्थानीय उत्पादन नै खोज्ने गरेकाले आफू र आफूजस्ता अन्य उद्यमी उत्साही हुने गरेको उहाँले बताउनुभयो । 

उहाँ भन्नुहुन्छ, “अहिले म निकै खुसी छु । दुई हप्तायता च्याउ र यसका परिकारहरू खरिद गर्ने मानिसको सङ्ख्या निकै बढेकाले आनन्द आएको छ । अबको चाहना आफ्ना उत्पादनहरू अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने रहेको छ । मलाई लाग्छ यस कार्यमा पनि हामी सफल हुन्छौँ होला ।” उहाँले ताजा च्याउ प्रतिकेजी दुई सय २० सम्म, च्याउको सुकुटी प्रतिकेजी तीन सयदेखि तीन यस ८० सम्म र अचार प्रति केजी पाँचदेखि छ सयसम्ममा बिक्री गर्दै आउनुभएको छ । सुरुका दुई वर्षमा गङ्गालाल च्याउ समूह खोलेर च्याउखेतीको सुरुआत गरेकी उहाँले अहिले आफ्नै च्याउ प्रशोधन केन्द्रसमेत सञ्चालन गर्नुभएको छ । 

करिब तीन लाखबाट निजी च्याउ उद्योग थालेको बताउने उहाँले हालसम्म च्याउखेतीबाटै एक करोड बराबरको पक्की घर खरिद गर्नुका साथै च्याउखेतीका लागि आवश्यक पर्ने सामग्री जोड्नुभएको छ । त्यसै गरी उहाँलाई उत्कृष्ट महिला उद्यमीका रूपमा साना तथा मझौला उद्योगबाट निःशुल्क च्याउ प्रशोधन मेसिन प्राप्त गर्नुभएको छ । उहाँले १४ वर्षसम्म महिला स्वास्थ्य स्वयंसेविका भएर पनि काम गर्नुभएको थियो । यसैक्रममा जिल्ला भ्रमणमा गएका बेला चितवनमा च्याउखेती देखेपछि यसतर्फ आकर्षित भएको बताउनहुन्छ । 

दुई सन्तानकी आमा, सामान्य लेखपढ तुलसालाई उहाँका श्रीमानको राम्रो सहयोग छ । उहाँले जिल्ला तथा केन्द्रीयस्तरका धेरै पुरस्कारसमेत प्राप्त गरिसक्नुभएको छ । गत वर्षपनि उहाँलाई तुलसीपुर उपमहानगरपालिले उत्कृष्ट महिला उद्यमीका रूपमा पुरस्कृत गरेको थियो । च्याउ खेती नेपालजस्ता देशका लागि उचित रहेको उहाँको अनुभव छ । धेरै कडा परिश्रम पनि गर्न नपर्ने र स्वास्थ्यका दृष्टिकोणले पनि फाइदाजनक मानिने च्याउको खेती नेपालमा उचित रहेको उहाँको अनुभव छ । 

त्यसैले पनि नेपालमा च्याउ किसान खासै मर्कामा नपरेका र च्याउ तथा च्याउको परिकार नेपाली बजारमा लोकप्रिय रहेको उहाँको भनाई छ । नेपालमै केही गर्न सकेमा ठुलो सङ्ख्याका युवा तथा युवती विदेश पलायन हुन नपर्ने उहाँको धारणा छ । पछिल्लो समयमा रोजगारीका लागि भन्दै दिनहुँ विदेश जाने नेपाली युवाको सङ्ख्या बढ्दै गएकोप्रति उहाँ खुसी हुनुहुन्न । उहाँ भन्नुहुन्छ “पछिल्ला वर्षहरूमा धेरै महिला तथा पुरुष बेरोजगार भयौँ भन्दै विदेश जानुहुन्छ । दिनहुँ हजारौँको सङ्ख्यामा युवा बिदेसिएका समाचारहरू सुन्ने गरेको पनि छु । तर यो गलत हो । वास्तवमा आफनै गाउँ ठाउँमा प्रशस्त अवसर छन् । हामीले ती अवसरबाट लाभ लिन सक्नुपर्छ । मैले नै राम्ररी कमाइ गरेकी छु भने अरू नेपालीले किन गर्न नसक्ने ?”  

उहाँले नेपालका धेरै ठाउँमा च्याउ खेती गरेर मनग्गे आम्दानी गर्न सकिने अनुभव पनि सुनाउनुभयो । त्यसैले विदेश जानुको सट्टा थोरै लगानी र केही मेहनत गरेर नेपालमै च्याउ खेती गर्न सकिने उहाँको सुझाव छ । अहिले नेपालको मलिलो जमिन बाँझै छोडेर युवाहरू बिदेसिएकाले सरकारले पनि कृषि सम्बन्धी यस्तै कार्यक्रमहरू ल्याएर नेपाली युवालाई रोजगार बनाई स्वदेशमै रोक्नुपर्ने सुझाव दिनुहुन्छ । रासस