चाँदनी आचार्य
घोडाघोडी (कैलाली), चैत १५ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि शान्तिपूर्ण वातावरणमा पहिलो दिनको परीक्षा सम्पन्न भएको छ ।
कैलालीमा १८ हजार चारसय विद्यार्थीले एसइई परीक्षामा भाग लिएका छन् । गत वर्ष कैलालीमा १७ हजार सातसय १४ जनाले एसइई परीक्षा दिएका थिए । जिल्ला शिक्षा इकाई कार्यालय कैलालीका प्रमुख वैकुण्ठ सुवेदीले ५३ वटा परीक्षा केन्द्रमा पहिलो दिनको परीक्षा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताउनुभयो ।
इकाई प्रमुख सुवेदीले कैलालीमा यसवर्ष १७ हजार तीनसय विद्यार्थी नियमित रहेको जानकारी दिनुभयो । कैलालीमा सातजना दृष्टिविहीन विद्यार्थी एसइई परीक्षामा सहभागी छन् ।
उहाँले अनुगमनको नाममा कक्षा कोठामा नछिर्ने वातावरण बनाएको बताउनुभयो । परीक्षालाई मर्यादित बनाउन सम्बन्धित परीक्षा केन्द्राध्यक्षको जिम्मा भएकाले सोहीअनुसार गर्न निर्देशन दिएको बताइएको छ । विद्यार्थीलाई कुनै डरत्रास नलिई ढुक्क भएर परीक्षा दिने वातावरण बनाउन निर्देशन भएको इकाई प्रमुख सुवेदीले बताउनुभयो ।
पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा यसवर्ष एसइई परीक्षा दिनेको सङ्ख्या ५५ हजार १० जना रहेको शिक्षा विकास निर्देशनालय दिपायलका निर्देशक दुर्गा विष्टले जानकारी दिनुभयो । प्रदेशभरि पहिलो दिनको परीक्षा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी आफूले पाएको उहाँले बताउनुभयो ।