• १५ वैशाख २०८१, शनिबार

अग्निसाइर कृष्णासवरन गाउँपालिकामा तालाबन्दी

blog

तालाबन्दीसहित गाउँपालिका अगाडि धर्ना बसेका आन्दोलनकारीहरु । तस्बिर : देवरामप्रसाद यादव

देवराम प्रसाद यादव

सप्तरी, चैत १५ गते । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गर्न सघाएको विरुद्धमा गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकास्थित गठित बेतिथि विसङ्गतिविरुद्धको सङ्घर्ष समितिद्वारा गाउँपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको हो । 

सङ्घर्ष समितिका संयोजक अरुणकुमार चौधरीलगायत समितिका पदाधिकारी तथा स्थानीयवासीले गाउँपालिकाको मूल गेटमा ताला लगाएर गाउँपालिका अगाडि धर्ना  दिएका छन् ।

गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीको स्वेच्छाचारी निर्णयबाट व्यक्तिको नाउँमा पास भएको इटहर्वा बजार कलौनी सीतापुरको सार्वजनिक जग्गा फिर्ता नभएसम्म तालाबन्दी सहितका आन्दोलनको कार्यक्रम जारी राख्ने सङ्घर्ष समितिका संयोजक चौधरीले बताउनुभयो । 

यसअघि कार्यपालिकाको निर्णयविपरीत गाउँपालिका अध्यक्ष चौधरीले मालपोत कार्यालय सप्तरीलाई जग्गा रोक्का तथा चारकिल्ला सिफारिस गरिएकोले संशोधनसहित जग्गा रोक्का राख्नेसहितका आफुहरुसित भएको सम्झौताविपरीत व्यक्तिको नाउँमा सार्वजनिक जग्गा पास गरेको विरुद्धमा आन्दोलनमा उत्रिन बाध्य भएको सङ्घर्ष समितिका संयोजक चौधरीले जानकारी दिनुभयो । उहाँले गाउँपालिका अध्यक्ष चौधरीले मोटो रकम लिएर कार्यपालिकाको निर्णयबाट रोक्का राखिएको जग्गा फुकुवा सिफारिस गरेको आरोप लगाउनुभयो । 

गाउँपालिका कार्यालयमा बिहान १० बजेदेखि तालाबन्दीको कारण कार्यालयका कर्मचारीहरु बाहिरै बसेका छन् । तालाबन्दीका कारण गाउँपालिकाको सम्पूर्ण सेवा प्रभावित भएको स्थानीयबासी बेचन मण्डलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।  

सङ्घर्ष समितिका सल्लाहकार तुलसी चौधरीका अनुसार साङ्केतिक रुपमा बिहीवार साढे १२ बजेदेखि १ बजेसम्म सडक अवरुद्ध गर्ने र यसलाई निरन्तरता दिदै प्रतिदिन आधाघण्टा बढाएर सडक जाम गरिने जानकारी दिनुभयो  । 

गत फागुन १६ गते आन्दोलनरत पक्षसँग भएको सहमति कार्यान्वयनबाट अध्यक्ष चौधरीले पछि हट्दै मालपोत कार्यालयलाई पत्र नपठाएपछि उक्त जग्गा चैत २ गते व्यक्तिको नाममा पास भएको कारण आफूहरु आन्दोलनमा उत्रिनुपरेको सङ्घर्ष समितिका सदस्य सचिव एवम् इटहर्वा बजार व्यवस्थापन समितिका अध्यक्ष मिलन चौधरीले जानकारी दिनुभयो  ।