• ८ मंसिर २०८१, शनिबार

रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षाको चुनौती आए बन्द गरिने : उपप्रधानमन्त्री लामिछाने

blog

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने ।

काठमाडौँ, चैत १४ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेललगायतका पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षामा चुनौती आए बन्द गर्न सकिने बताउनुभएको छ । 

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले मुलुकको अर्थतन्त्र थप चलायमान गर्ने लक्ष्यका साथ ठमेल, दरबारमार्गलगायतका स्थानमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने सरकारको तयारी रहेको बताउनुभयो । रात्रिकालीन व्यवसायमार्फत पर्यटकले थप सेवा सुविधा पाउने, रोजगार बढ्ने, सहर चलायमान बन्ने अपेक्षाका साथ रात्रिकालीन व्यवसायमा जोड दिइएको उहाँले उल्लेख गर्नुभयो । 

“हामीले आगामी वैशाखदेखि नै रात्रिकालीन व्यवसाय सञ्चालन गरेर पर्यटकीय सहरहरुलाई थप चलायमान बनाउने लक्ष्यका साथ सरोकारवाला निकायबीच छलफल र परामर्श गरिरहेका छौँ,” उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो, “रातिको समयमा बजार खुलाउँदा सुरक्षा नहोला की भन्ने जिज्ञासा पनि आएको छ, यदी यसरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा कुनै सुरक्षा चुनौती आएको खण्डमा फेरी बन्द गर्न सकिन्छ ।”

बैठकमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्द सामाजिक विकृती आउन सक्ने सम्भावना रहेको समितिका सदस्यहरुले जिज्ञासा राख्नुभएको थियो । समितिका सदस्य कृष्णगोपाल श्रेष्ठले रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा ध्वनी प्रदूषण हुने, सुरक्षामा चुनौती थपिने, विकृती बढ्न सक्ने भन्दै उक्त विषयमा सचेत रहन आग्रह गर्नुभएको थियो । रात्रिकालीन व्यवसाय सञ्चालनबाट हुने फाइदा मात्रै नभएर यसका बेफाइदाबारे गम्भिर भएर सोच्नुपर्ने उहाँको भनाइ थियो । 

“रात्रिकालीन व्यवसाय सञ्चालन हुनु भनेको डान्सबार मात्रै सञ्चालन गर्ने, सङ्गित मात्रै बज्ने र विकृती नै हुन्छ भन्ने होइन,” समितिका सदस्य श्रेष्ठको प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो, “राति नेपाल भित्रिने आन्तरिक तथा बाह्य पर्यटकहरुले खाना कहाँ खाने ? कहाँ बस्ने ?, रात्रिकालीन व्यवसाय सञ्चालन भयो भने यी सेवाबाट उहाँहरु बिमुख त हुनुपर्दैन ।” रासस