• १ जेठ २०८२, बिहिबार

अनलाइनबाट पटके बाटो इजाजतपत्र भुक्तानी प्रणाली सुरु

blog

मकवानपुर समाचारदाता

हेटौँडा, चैत १४ गते ।  बागमती प्रदेश सरकारले अनलाइनबाट पटके अर्थात् अस्थायी बाटो इजाजतपत्र भुक्तानी प्रणाली सुरु गरेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयबाट भक्तपुरको सल्लाघारीस्थित यातायात व्यवस्था सेवा कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा अनलाइनबाट भुक्तानी प्रणाली सुरु गरिएको हो । 

पटके अर्थात् अस्थायी बाटोको इजाजतपत्र लिन यसअघि मन्त्रालय अन्तर्गतका यातायात कार्यालयमा सेवाग्राही भौतिक रूपमा उपस्थित भएर भुक्तानी गर्नुपर्ने अवस्था रहेकोमा नयाँ प्रणालीको थालनीसँगै सेवाग्राही उक्त समस्याबाट मुक्त हुने भएका छन् । 

मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले मन्त्रालयको यातायात व्यवस्थापन सूचना प्रणाली पोर्टलमा गएर अनलाइनबाट अस्थायी बाटोको इजाजतपत्रका लागि घरमा नै बसेर भुक्तानी गर्न सकिने बताउनुभयो । उहाँले यो प्रणालीको सुरुवातसँगै सेवाग्राही कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हट्ने भन्दै अनलाइनबाट फर्म भरेर विद्युतीय प्रणालीबाट लाग्ने शुल्क भुक्तानी गरी फर्म डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले यो व्यवस्थाले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधन सञ्चालकलाई सहज हुने बताउनुभयो ।

यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले अनलाइन पटके इजाजतपत्र भुक्तानी प्रणालीको सुरु गर्नुभएको हो । मन्त्री लम्सालले सुरुमा यो प्रणालीमार्फत सेवा लिन केही असजिलो भएपछि समस्यालाई समाधान गर्दै जाने बताउँदै यो प्रणालीको सुरुवातसँगै यातायात कार्यालयमा लाग्ने भिड कम गर्न र सेवाग्राहीको समय बचत गर्नसमेत सहयोगी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सेवाग्राहीलाई सहजतासँगै यो प्रणालीले राजस्व भुक्तानीलाई पारदर्शी बनाउन सहयोग पुग्ने छ ।”