• ११ पुस २०८१, बिहिबार

रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, चैत १३ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नयाँ रोडमा मङ्गलबार बिहान रोकिराखेको बसमा मोटरसाइकल आएर ठोक्किँदा एक युवकको मृत्यु भएको छ । 

दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् । मङ्गलबार बिहान साढे ३ बजेतिर विष्णुपुरबाट नयाँ रोडतर्फ आउँदै गरेको बा ३८ प ४२८५ नम्बरको मोटरसाइकल रोकिराखेको ग १ ख ८६०९ नम्बरको बसमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका २५÷२६ वर्षका दुई युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याउँदा एक जनालाई चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका प्रवक्ता (डिएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर घाइते अर्का युवकको प्रादेशिक अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । 

डिएसपी थारुका अनुसार मृतक र घाइते दुवैको पहिचान खुल्न बाँकी छ । घाइतेका अभिभावक सम्पर्कमा आएका र उनीहरू आएपछि मृतक र घाइतेको सनाखत हुने प्रहरीले जनाएको छ । 

दुर्घटनापछि रोकिराखेको बस प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी थारुले बताउनुभएको छ ।