• ९ मंसिर २०८१, आइतबार

इतिहासको खोज र पुस्तान्तरण

blog

इतिहास भनेकै सङ्घर्ष, त्याग, बलिदानको निर्मिति हो । नेपालमा वर्तमानमा आइपुग्दासम्म भएका सबैखाले राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक परिवर्तन युद्ध, सङ्घर्ष, आन्दोलन, बलिदान, त्याग तथा विद्रोहकै देन हुन्, प्राप्ति हुन् । अहिले नेपालको विद्यमान ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ व्यवस्था ‘जनयुद्ध’ ले गरेको बल प्रयोगको उपलब्धि हो भन्नै पर्छ । किनकि ‘जनयुद्ध’ नभएको भए सामन्ती राजतन्त्रात्मक तानासाही व्यवस्था ढल्ने सम्भावना थिएन ।

हामीलाई थाहा छ, ‘गणतन्त्र, संविधान सभा र संयुक्त सरकार’ का विद्रोही मागलाई दुई/दुई पटक अस्वीकार गरेकै कारण वार्ता भङ्ग भएर पुनः रक्तपात, हिंसा, प्रतिरोधको निरन्तरता चलेको हो । जसले ‘टाउकोको व्यापार’ लाई समेत वैधानिकता दिएको थियो । चालिस बुँदे माग र तीन बुँदे यो प्रस्तावलाई पुरानो, जर्जर, जनविरोधी व्यवस्थाले स्वीकार गरेको भए यति ठुलो हताहती हुने नै थिएन । प्रायः जघन्य, आपराधिक, हत्या शृङ्खला वार्ताहरूको विफलतापछि नै चलाइएको स्पष्ट छ । त्यो हत्या शृङ्खला चलाउनेहरू नै अहिले ‘हातमा सुनका बाला लिएर बसेको सिंह’ झैँ बडो सात्त्विक र अहिंस्रक बनेर ‘जनयुद्ध’ विरुद्ध खनिएका छन् । यहाँ तिनै विषयको सांस्कृतिक दिशाबाट चिरफार र सांस्कृतिक गन्तव्य पहिलाउन खोजिएको छ : 

प्रस्तावना

विभिन्न वर्गीय आन्दोलन, दसवर्षे सशस्त्र सङ्घर्ष, जनान्दोलनका कठिन सङ्घर्ष, त्याग, बलिदानको परिणामस्वरूप गणतन्त्र–सङ्घीयता–धर्मनिरपेक्षता–समावेशिता, अल्पसङ्ख्यक–उपेक्षित जनजातिको आरक्षण, नीतिगत र प्रशासनिक तहमा दलित र महिलाको अनिवार्य सहभागिताको सुनिश्चितता, तल्लो वर्ग, गरिब र आमजनतासम्म राजनीतिक चेतनाको विस्तार, विकास र एकात्मक शासन पद्धतिलाई फेरेर सङ्घीयता अनुरूप गाउँगाउँसम्म राज्यलाई पु¥याउने काम जस्ता उपलब्धि प्राप्त भएका छन् । 

संविधान सभामार्फत जनप्रतिनिधिका हातबाट नै इतिहासमा पहिलो पल्ट जनताले संविधान लेखन गरी महत्वपूर्ण मौलिक हक स्थापित भएका छन् । सदियौँदेखिको पारिवारिक–सामन्ती–निरङ्कुश–एकात्मक र केन्द्रीकृत राजतन्त्रको युग अन्त्य गरेर सामाजिक रूपान्तरण, आर्थिक समृद्धि, प्रगति र विकासका नवीनतम आयाम सिर्जना गर्दै समाजवादोन्मुख व्यवस्था र सो अनुरूपको अर्थव्यवस्था स्थापना गर्ने सङ्कल्प पनि संविधानले प्रत्याभूत गरेको छ । यो युगान्तकारी उपलब्धि हो ।

त्याग बलिदानको अपमान

हाल आएर ‘जनयुद्ध’ को त्यो महत्तम त्याग, उदात्त बलिदान, अपूर्व सौर्य र अप्रतिम साहसमाथि घोर प्रतिगामी, प्रतिक्रियावादी, दक्षिणपन्थी दलाल तìवहरूले हिलो छ्याप्दै र विषवमन गर्दै, प्रथमतः विद्रूपीकरण गर्ने, द्वितीयतः भ्रष्टीकरण गर्ने, तृतीयतः अपराधीकरण गरी अन्त्यमा प्रतिशोध लिने प्रचारात्मक युद्ध चलाएका छन् । त्यो महान्, भव्य र उदात्त जनयुद्धीय आदर्श, मूल्य र विम्बलाई हिंसा, हत्या, आतङ्क, अपराध साबित गर्ने प्रपञ्च जारी राखेका छन् । 

देश र जनताको मुक्ति खातिर गरिएको वर्गचेतनायुक्त कुर्बानीलाई ‘सत्र हजारका हत्यारा’ जस्ता गोयवल्स शैलीमा प्रचार अभियान चलाएर अपमानित गरिएको छ । यस्तो प्रचारलाई चिर्न र जनताबिच सत्यबोध र बलिदानको मूल्य स्थापित गर्न सांस्कृतिक क्षेत्रबाट सूक्ष्म र गहिरो हस्तक्षेप आवश्यक छ । सांस्कृतिक प्रतिवादबिना यस्तो दुष्प्रचारलाई निस्तेज गर्न सकिँदैन । त्यो भनेको सांस्कृतिक क्षेत्रका सबै विधामा ‘जनयुद्ध’ र अमर बलिदानलाई स्थापित गर्नु हो । 

कुप्रचारको प्रतिवाद र सांस्कृतिक प्रतिरोध

साहित्यका उपन्यास, कथा, काव्य, नाटक, संस्मरण, लेख, रचनाद्वारा, कलाका मूर्ति, चित्र, चित्रसंवाद, चित्रकथा, चित्रविम्ब, व्यङ्ग्यचित्र, गीत, सङ्गीत, गायन, अभिनय, चलचित्र, डकुमेन्ट्री, भिडियो सामग्री आदिमा सचेत र योजनाबद्ध लेखनद्वारा सिर्जना, निर्माण, प्रकाशन गरी महान् जनयुद्ध, त्याग–बलिदान, उपलब्धि, परिवर्तन, आर्थिक विकास, समृद्धीकरणका विषयवस्तु प्रचारप्रसार गर्नु अत्यावश्यक भइसकेको छ । तिनमा परिवर्तनविरोधी शक्तिहरूको गोयवल्स प्रचारप्रसारको भण्डाफोर, भत्र्सना, खण्डन मण्डन, तथ्यनिरूपण आदि गर्नु पनि अत्यावश्यक छ । 

इतिहासको निरन्तरता र पुस्तान्तरण

यस उद्देश्यका लागि पहिले गणतान्त्रिक परिवर्तन र ‘जनयुद्ध’ को इतिहास लेखन गर्नु पर्छ, अन्यथा भावी पुस्ताले दसवर्षे युद्ध के थियो ? किन भयो ? उद्देश्य के राखेको थियो ? भन्ने भाव बिर्सने र दुष्प्रचारमा आधारित जानकारीका कारण अपराध मान्ने स्थिति पैदा हुन्छ । तसर्थ युद्धका सबै दस्ताबेज सङ्कलन, प्रकाशन र भण्डारण गर्नु पर्छ । सहिदका स्मृति, स्मारक, सङ्घर्षगाथा तयार गर्नु पर्छ । युद्धका आदर्श, उद्देश्य, उपलब्धि, विविध योगदानलाई जीवन्त राख्न गाथा/कृति/ग्रन्थ तयार गर्नु पर्छ र पुस्तान्तरणमा जोड दिनु पर्छ । पाठ्यपुस्तक परिवर्तन गरी त्यहाँ गणतन्त्र, जनयुद्ध, सङ्घर्ष, क्रान्ति, आन्दोलन र परिवर्तनका बारेमा पाठ समावेश गरी अध्ययन अध्यापन गराउनु पर्छ । 

सहिदका नाममा पुरस्कार, सम्मान, स्मारक, उद्यान स्थापना गर्नु पर्छ । जनयुद्धकालीन घटना, राजनीतिक परिवेश आदि बारेमा खोज अनुसन्धान गराउँदै संस्मरणात्मक ग्रन्थ प्रकाशन गर्नु पर्छ  । जनयुद्धका सङ्ग्रहालय, युद्धस्थल, लडाइँका मोर्चालाई स्थापित गर्नु पर्छ । तिनमा सहिदका नाममा संस्था स्थापना, प्रतिष्ठान स्थापना, पार्क र स्मारक निर्माणद्वारा पर्यटकीय केन्द्र बनाउन सकिन्छ । क्रान्तिकारी गीत सङ्गीत रचना, निर्माण, सञ्चार र प्रचारप्रसार गर्नु पर्छ । युद्धको सौन्दर्यशास्त्रसम्बन्धी बृहत् गाथा लेखन गराउनु पर्छ । सिर्जना र समालोचनाका ग्रन्थ तयार गरेर प्रचार गर्नु पर्छ । 

सडक र पर्यटकीय स्थलहरूको नामाकरण सहिदका नाममा गर्नु पर्छ । जनयुद्ध र त्यसका उपलब्धिबारे अन्वेषण–अनुसन्धान–खोज–विश्लेषण गराई ‘जनयुद्धको नयाँयथार्थ’ नयाँ पुस्तामा पु¥याउनु पर्छ । सांस्कृतिक–साहित्यिक प्रतियोगिता गराउनु पर्छ । खेलकुद, नृत्य, वक्तृत्वकला, हाजिरीजवाफ प्रतियोगिता सहिदका नाममा गर्नु पर्छ । सहिद, बेपत्ता, घाइते, अपाङ्गता भएकालाई प्रत्येक वर्ष सम्मान–पुरस्कार–अभिनन्दन गर्ने परम्परा बसाल्नु पर्छ । आदर्श, विचारनिष्ठ, समर्पित योद्धालाई हरेक वर्ष सम्मान गर्नु पर्छ । घाइते–अपाङ्गता भएकालाई मासिक वृत्तिको व्यवस्था गर्नु पर्छ । सांस्कृतिक आदर्श र आचरणलाई प्रोत्साहन गर्नु पर्छ । भौतिकवादी चेतनाको पाठशाला चलाउनु पर्छ । यसरी जनयुद्ध, बलिदान, सहिद, इतिहासलाई सांस्कृतिक रूपमा स्थापित गर्न जरुरी छ । 

अभियान प्रस्ताव

सांस्कृतिक प्रारूपीकरणले मात्र जनयुद्धका योगदान पुस्तान्तरण हुन सक्छन् । सांस्कृतिक रूपमा जनयुद्धका योगदान स्थापित र प्रचारप्रसार गर्न एउटा विशेष अभियान नै सञ्चालन गर्नु जरुरी देखिन्छ । त्यसो नगरे जनयुद्धको इतिहास र यथार्थ विस्मृतिका गर्भमा हराएर जान सक्छ । जनयुद्धले के दियो ? जनयुद्ध के थियो ? जनयुद्धका लक्ष्य के थिए ? आदिबारे अन्वेषण नगराउने हो भने अबको नयाँ पुस्ताले जनयुद्ध बिर्सिने खतरा टड्कारो छ । 

इतिहास मेट्न कस्सिएकाहरूले, इतिहास उल्ट्याउन लागेकाहरूले, परिवर्तन तुहाउने योजना बुनेकाहरूले, प्रतिगमनको बाटो समातेका प्रतिक्रान्तिकारीहरूले जनयुद्धविरुद्ध विषवमन गर्दै जाने र सहिदमाथि हिलो छ्याप्दै जाने तर त्यसको हामीले सांस्कृतिक प्रतिवाद नगर्ने हो भने इतिहास मेटिन पनि सक्छ । तसर्थ यो गम्भीर विषयलाई मनन् गरी विशिष्ट योजनामा अभियान चलाउनुपर्ने हुन्छ; जसका लागि आर्थिक व्यवस्थापन गर्नु अति आवश्यक छ ।

निचोड

उपरोक्त उद्देश्य अनुरूपका कार्य सम्पन्न गर्न सांस्कृतिक क्षेत्रबाट गरिने कार्यलाई बढी जोड दिनु आवश्यक छ ।  त्यतातिर हाम्रो ध्यान गएकै छैन । गणतन्त्र र परिवर्तन ल्याउन भएका यावत् सङ्घर्षको दस्ताबेजीकरण, भण्डारण, प्रचारप्रसार, खण्डनमण्डन, सत्य र यथार्थ जनतासम्म पु¥याउने काममा राज्यको पनि दायित्व हुन्छ । जसरी विसं १९९७, २००७ साल, २०४६ सालका इतिहाास र सहिदको राज्यले अपनत्व लिन्छ, त्यसै गरी २०५२ देखि २०६३ सम्मका गणतन्त्रका सहिद र गणतान्त्रिक इतिहासको पनि राज्यले नै अपनत्व लिनु पर्छ । यो राज्यकै दायित्वभित्र पर्छ । यो कार्ययोजनालाई प्राथमिकता क्रममा राखी फरक फरक वर्षमा पनि सम्पन्न गर्न सकिन्छ । यतातिर पनि राज्यको ध्यान जाओस् ।   

Author

ईश्वरचन्द्र ज्ञवाली