भनिन्छ, उत्तम खेती, मध्यम व्यापार, अधम जागिर । हाम्रा पुर्खाले हचुवाका भरमा यो भनेका होइनन् तर यो बाटोमा नहिँड्नाले आज हामी आर्थिक रूपमा निकै पछाडि छौँ । कृषि पेसालाई पहिलो प्राथमिकता दिएको भए विकासोन्मुख देशमध्ये सबभन्दा गरिबको लहरमा हामी पक्कै पर्ने थिएनौँ । हाम्रा पुर्खाले खेतीलाई उत्तम मान्नुका पछाडि बलिया आधार थिए । देशको आयस्रोतको पहिलो आधार कृषि नै हो । यसलाई सबैले स्वीकारेका छन् । ठुला उद्योगहरू चिनी कारखाना, जुट मिल, चुरोट कारखाना, खाद्यान्न आदि उद्योग कृषि उत्पादनमा आधारित हुन्छन् ।
हाम्रो सौभाग्य नै भन्नु पर्छ, हामी प्राकृतिक स्रोतसाधनमा अत्यन्तै धनी छौँ । हाम्रो भूबनोट हिमाल, पहाड र तराईमा विभाजित छ । देशको कुल क्षेत्रफलमध्ये १५ प्रतिशत हिमाल, १७ प्रतिशत तराई र ६८ प्रतिशत भाग पहाडी क्षेत्रले ओगटेको छ । यही भौगोलिक विविधता अनुसारको बहुउपयोगी जल, जमिन, जङ्गल उपलब्ध छन् हामीसँग । त्यसैले त हिमाली र पहाडी भेगमा आयुर्वेदिक औषधीका रूपमा प्रयोग हुने जडीबुटीदेखि औषधीय गुण भएका जौ, फापर, कोदो, आलु, मकै, गहुँ, सिमी जस्ता खाद्यान्न र स्याउ, सुन्तला, आरू, आलुपखडा, लप्सी जस्ता शक्तिवर्धक फलफूल पाइन्छन् ।
यसै गरी अन्न भण्डार मानिने तराई भेगमा प्रशस्त मात्रमा धान, मकै, गहुँ, दाल जस्ता खाद्यान्न र उखु, जुट, सुर्ती, कपास र चिया पनि धेरै मात्रामा उत्पादन हुन्छ । साथै आलु, गोलभेँडा, बन्दा, काउली जस्ता तरकारी र आँप, लिच्ची, भुइँकटहर, रुखकटहर, मेवा जस्ता फलफूल पनि उल्लेख्य मात्रामा उत्पादन हुन्छ । हाम्रो देश यस्तो देश हो; जहाँ एउटै चिज अलग अलग हावापानीमा उत्पादन हुन्छ । जस्तै ः हिमाल, पहाड र तराई तीन वटै हावापानी भएको माटोमा आलु फल्छ भने चिया गर्मी मौसम भएको झापा र ठण्डा मौसम भएको इलाम दुवै ठाउँमा हुर्कन्छ । त्यति मात्र होइन, संसारकै अग्लो स्थानमा धान फल्ने देश पनि नेपाल नै पर्दछ । नेपालको हिमाली जिल्ला जुम्लामा रातो मार्सी धान फल्छ । यो नेपालको पहिचान हो, विशेषता हो ।
हामीसँग छ हजारभन्दा बढी नदीनाला छन्, जसबाट ८३ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । त्यसैले त नेपाल विश्वमा जलस्रोतको दोस्रो धनी देशका रूपमा चिनिएको छ । हामीसँग भएको यति धेरै पानीको स्रोतलाई विद्युत् उत्पादन र सिँचाइमा उपयोग गर्न सक्यौँ भने हामी कृषिमा आत्मनिर्भर हुन सक्छौँ र अहिलेको खाद्यान्न आयातलाई अन्त्य गरी बरु उल्टै खाद्यान्न निर्यात गर्न सक्षम हुने छौँ । परनिर्भरताबाट पनि मुक्ति पाउने छौँ । देशको ७० प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषि पेसामा संलग्न छन् ।
कुल क्षेत्रफलमध्ये २८.७५ प्रतिशत जमिन कृषियोग्य रहेको छ भने कृषियोग्य जमिनको २९.७४ प्रतिशत सिँचाइयोग्य रहेको छ । बाँकी जमिनमा खेती गर्नका लागि आकासे पानीमा भर पर्नुपर्ने अवस्था रहेको छ तर हामीले थप विद्युत् उत्पादन गरेको खण्डमा आकासे पानीमा भर पर्नुपर्ने जमिनलाई पनि हराभरा बनाउन सकिन्छ । नजिकै रहेको नदीको पानीलाई विद्युतीय माध्यम (जेनेरेटर) बाट तानेर पोखरी निर्माण गरी उक्त तानेको पानीलाई सञ्चित गरी सिँचाइ गर्न सकिन्छ । हामीले देखेका छौँ विकसित तर जलस्रोतको अभाव खेपिरहेका देशहरूले पनि अन्यत्रबाट पानी ल्याएर मरुभूमि जस्तो जमिनलाई समेत हराभरा बनाएका छन् ।
यसरी कृषि उत्पादन गरी आत्मनिर्भर बन्न सफल भएका मात्र होइन, निर्यात गर्नसमेत सक्षम भएका छन् । हामीसँग त प्रशस्त पानीका स्रोत उपलब्ध छन् । केवल इच्छाशक्ति हुनु पर्छ । अर्को तरिकाबाट पनि आकासे पानीमा भर पर्नुपर्ने कृषियोग्य जमिनलाई सिँचाइ गर्न सकिन्छ । आवश्यकता अनुसारको पोखरी निर्माण गरिन्छ र पोखरीको माथिल्लो सतहमा जमिनले पानी नसोसोस् भनेर प्लास्टिक बिछ्याइन्छ । यसलाई प्लास्टिक पोखरी भनिन्छ । हिउँदे बालीका लागि यो प्रविधि उपयुक्त हुन्छ । हाल यो सिँचाइ प्रविधि प्रयोगमा आइसकेको छ ।
खास गरेर ग्रामीण भेगमा तरकारी खेतीका लागि यो प्रविधि अपनाइने गरिएको छ । यसरी यो सिँचाइ प्रविधिलाई देशभरि नै उपयोग गरेर कृषि उत्पादनमा सहयोग पु¥याउन सकिन्छ । यस कार्यमा सरोकारवाला निकायले समेत पहल गर्ने र आवश्यकता अनुसार सहयोग पु¥याउनु जरुरी छ । हामीसँग अप्रत्यक्ष किसिमबाट कृषिको परिपूरकका रूपमा रहेको पशुपालनका लागि आवश्यक चरण क्षेत्रको अभाव छैन । भनाइ नै छ, हरियो वन नेपालको धन । देशको कुल क्षेत्रफलको ४४.७४ प्रतिशत भाग वनले ढाकेको छ ।
यसरी हामीसँग प्रशस्त वन रहेको छ; जहाँबाट पशुपालनका लागि आवश्यक सोतर, घाँस सहजै उपलब्ध हुन्छ । यसले कृषि व्यवसायका लागि आवश्यक कम्पोस्ट मल उत्पादन हुन्छ । यसै गरी हामीसँग थुप्रै प्राकृतिक तालतलैया रहेकाले कृषिकै एउटा अङ्ग माछापालन पनि आयस्रोत वृिद्ध गर्ने अवसरका रूपमा रहेको छ । माछापालन सँगसँगै कुखुरापालन र बुङ्गुरपालन पनि गर्न सकिन्छ । यसबाट राम्रो आम्दानी गर्न सकिन्छ । दुःख लाग्छ, कृषिमा यति धेरै सुनौला अवसर हुँदाहुँदै पनि आज कृषियोग्य भूमि जनशक्तिको अभावमा बाँझो छन् । त्यसै खेर गइरहेका छन् । अनि हामी भने विदेशबाट महँगो मूल्यमा खाद्यान्न, तरकारी, फलफूल आयात गरेर उपभोग गर्न बाध्य छौँ ।
उपाय के त ?
यतिबेला लगभग ग्रामीण भेगका सबै ठाउँमा मोटर बाटो पुगिसकेको अवस्था छ, जसले गर्दा कृषि उत्पादनका लागि आवश्यक मल, बिउ, आधुनिक कृषि औजार वा प्रविधि गाउँसम्म पु¥याउन र उत्पादित वस्तु बजारसम्म पु¥याउनका लागि विगतमा जस्तो समस्या छैन । सरकारले कृषकलाई मल र स्तरीय बिउ खेती गर्ने समयमा उपलब्ध चाहिँ गराउनु पर्छ । यसका साथै कृषकले उत्पादन गरेका वस्तु चाहे त्यो खाद्यान्न होस्, चाहे तरकारी होस् वा चाहे फलफूल होस्, सरकार आफैँले उचित मूल्यमा खरिद गरिदिने वा बजार व्यवस्थापनको जिम्मेवारी लिनु पर्दछ । यसले कृषि उत्पादनको विद्यमान दलालीकरण अन्त्य गर्न सघाउँछ ।
उत्पादित वस्तुले सहज रूपमा बजार पायो र उचित मूल्य पनि पायो भने कृषकलाई खेती गर्न जाँगर चल्छ र उनीहरू उत्साहित हुँदै यो पेसाप्रति आकर्षित हुन्छन् । अर्को कुरा अबका दिनमा परम्परागत ढङ्गले खेती गर्नुभन्दा पनि सम्बन्धित विज्ञद्वारा माटो परीक्षण गराएर कुन खेती वा बालीनाली लगाउँदा उपयुक्त हुन्छ, सोही अनुसार खेती गर्ने पद्धतिको विकास गर्नु पर्दछ । उदाहरणका लागि विगतमा बाबुबाजेले खाद्यान्न लगाउने गरेका थिए । अहिले खाद्यान्न हुन छाड्यो भने फलफूल लगाउँदा पो राम्रो हुन्छ कि अर्थात् औषधीजन्य जडीबुटी लगाउँदा उपयुक्त हुन्छ वा असल जातका फलफूल, मूल्यवान् रुख लगाउँदा पो हुन्छ कि विचार गरेर खेती गर्नु उपयुक्त हुन्छ । त्यसका लागि कृषिविज्ञसँग सल्लाह गरेर माटो परीक्षण गरी काम गर्दा उचित हुन्छ । पहिले पो कुनै पनि प्रविधिको विकास नभएका कारण हाम्रा पुर्खाले जे सम्भव थियो त्यही लगाउँथे ।
यतिबेला हामीलाई एउटा अवसर पनि प्राप्त भएको छ । धेरै नेपाली युवकयुवती विदेश गएर लामो समय कृषिमा काम गरेर स्वदेश फर्केका छन् । उनीहरूको अनुभव, सिप, क्षमता र प्रविधिलाई नेपालको कृषि प्रणालीमा सदुपयोग गर्न सकियो भने कृषि व्यवसायले नसोचेको फड्को मार्छ । त्यस्ता व्यक्तिलाई राज्यले नै परिचालन गरेर फाइदा लिन सक्नु पर्दछ । यति गर्न सकेको खण्डमा न हामी कसैको निगाहामा बाँच्नु पर्छ, न रोजगारीका लागि घरखेत बन्दकी राखेर बिदेसिनु नै पर्छ ।