• ११ पुस २०८१, बिहिबार

तराईमा तापक्रम बढेसँगै पाहुना चराहरु फर्कंदै

blog

जाडो छल्न आएका पाहुना चराहरु आफ्नै बास्थान फर्कदै । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की

वराहक्षेत्र, चैत १२ गते । जाडो सकिएसँगै कोशीटप्पु वन्यजन्तु आरक्ष लगायतको तराई क्षेत्रबाट पाहुना चराहरु फर्कन थालेका छन् । आन्तरिक बसाइँसराइ गरी आएका र हिमालपारिका देशबाट आएका चराहरु तराईमा तापक्रम बढ्न थालेपछि पुनः  आफ्नै वासस्थानतिर फर्कन थालेका छन् । 

हिमालपारिका देशबाट जाडो छल्न पानीचराहरु कोशीटप्पु आरक्ष हुँदै तराईका नदी, खोला र तालहरुमा आएका चराहरु फर्कन सुरु गरेका हुन् । पूर्वी पहाडी जिल्लाहरुबाट आन्तरिक बसाइँसराइ गरेर तराईका सिम क्षेत्र, घाँसे मैदान र ताल, पोखरी र तलाउहरुमा आएका चराहरु फर्कन थालेको राष्ट्रिय प्रकृति संरक्षण कोष कोशीटप्पु केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो । 

तराईमा जाडो कम हुँदै जाँदा आगन्तुक चराहरु आफ्नै वासस्थानतिर फर्कन थालेका छन् । असोज अन्तिमदेखि बसाई सरेर आएका पानीहाँसहरु तराईमा गर्मी सुरु भएसँगै फागुन अन्तिमदेखि चैतको अन्तिम सातासम्म पाहुना चराहरु फर्किसक्ने चराका जानकार अनिस तिम्सिनाले बताउनुभयो । उहाँका अनुसार आगन्तुक चराहरु जाडो यामभरि तराई क्षेत्रमा बस्ने र बच्चा कोरल्ने बेला भएपछि स्थायी वासस्थानतिरै फर्कर्दै आएका छन् । 

जाडो छल्न आउने हिउँदे आगन्तुक चराहरु नेपालका प्रमुख सिमसार क्षेत्रहरु कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका ताल क्षेत्र तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीहरुमा नै मूल रुपमा आफ्नो समय व्यतित गरेर फर्कने गरेका छन् । 

आगन्तुक चराहरु अनुकूल मौसम, सुरक्षित वासस्थान र चरनको खोजीमा एक ठाउँबाट अर्काे ठाउँ र एक देशबाट अर्को देशमा बसाइँ सरी आउने जाने क्रम वर्षभरि नै चलिरहने कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका सूचना अधिकृत विनयकुमार मिश्रले बताउनुभयो । मिश्रका अनुसार पहिलाको जस्तो पाहुना चराहरु बसाइँ सरेर आउने क्रम कम हुँदै गएको छ । 

हिउँदमा पानी चराहरु तराईको क्षेत्रमा राम्रोसँग देखिने हुँदा हेर्नका लागि आन्तरिक तथा विदेशी पर्यटकहरु कोशीटप्पु र आसपासका सिम तालहरुमा आउने गरेका छन् । चराहरु हेर्नको लागि हिउँद याममा आन्तरिक पर्यटकका साथै बेलायत, अमेरिका, जर्मनी र चीनबाट पर्यटक कोशीटप्पु आउने गरेका छन् । 

तिम्सिनाका अनुसार खडखडे हाँस, सिन्दुरे हाँस, हरियो टाउके हाँस, सुइरो पुच्छ्ररे हाँस, विजुला गैरी हाँसहरु तालहरुमा पहिला सयौंको सङ्ख्यामा देखिन्थे । जाडो छल्न आउने पानी चराहरु पहिला जस्तो सिमक्षेत्रहरु नहुँदा चराहरुको बसाइसराइँमा कमी आएको छ ।  

पूर्वी नेपालको २५ सयदेखि ३ हजार उचाइको पहाडका आसपास क्षेत्रमा रहेका चराहरु जाडो छल्न तराई क्षेत्रमा झरेका चराहरु पुन पुर्वी पहाडी क्षेत्रमै फर्कन थालेका छन् । पहाडी जिल्लाहरुबाट आएका फिस्टा, चुइयाँ, भद्राई र अर्जुनक प्रजातिका चराहरु कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र र आसपासका क्षेत्रहरुबाट चराहरु चैतको पहिलो साताबाट फर्कन सुरु गरेको नेचर गाइड तथा चरा हरुका जानकार अनिष तिम्सिनाले बताउनुभयो ।

चराहरुका जानकार तिम्सिनाका अनुसार पहाडी क्षेत्रमा बच्चा कोरलेपछि जाडो छल्न तराई क्षेत्रमा आएका पाहुना चराहरु तराईमा तापक्रम बढेसगै फर्कन थालेका हुन् । तराई क्षेत्रको सुनसरी, मोरङ, झापा, सप्तरी, उदयपुर र सिराहा जिल्लाका फाट, जङ्गल र सिम क्षेत्रहरुबाट चराहरु फर्कन थालेका छन् । पहाडी क्षेत्रबाट आएका आन्तरिक पाहुना चराले तराई क्षेत्रमा लगाइएको हिउँदे बालीमा लाग्ने किरा फट्याङ्ग्रा खाएर किसानलाई समेत सहयोग पुर्‍य ाउने गरेका छन् । उहाँले भन्नुभयो “चराहरुको प्रमुख आहारा भनेकै किरा, फट्याङ्ग्रा हो ।”

खेतबारीमा किरा नियन्त्रणका लागि जथाभावी रुपमा किसानले विषादी प्रयोग गर्दा किरा खाएर बाँच्ने चराहरुको प्रजनन क्षमता कमजोर हुँदै गएको छ । चराहरुको प्रजनन क्षमता कमजोर हुँदा चराहरु घट्ने क्रम बढ्दो छ । चराहरु घट्दै गए प्राकृतिक सङ्कट हुने चरा जानकार अनिष बताउनुहुन्छ । पहिला झुण्ड झुण्ड समूहमा जाडो छल्न आउने आन्तरिक पाहुना चराहरु केही वर्षदेखि कम आउन थालेका छन् । 

सन् २०२३ मा ५६ प्रजातिका ७ हजार ५ सय ५३ वटा चरा गणना गरिएकोमा यस पटक आरक्षमा ५३ प्रजातिको ५ हजार ५ सय २७ वटा चरामात्र गणनामा भेटिएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । गत वर्षभन्दा यस वर्ष चराको सङ्ख्या घटेको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका सूचना अधिकृत विनयकुमार मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार पहिला ५२५ प्रजातिको चराको रेकर्ड रहेकोमा थप ६ प्रजातिको चरासहित ५३१ प्रजातिको सङ्ख्या रेकर्ड गरिएको छ ।