• १६ वैशाख २०८१, आइतबार

मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा

blog

धनुषाको लालगढस्थित पूर्वपश्चिम लोकमार्गमा सवारी जाँच गर्दै ट्राफिक प्रहरी । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, चैत १२ गते ।
होली पर्वलाई दृष्टिगत गर्दै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले प्रदेशमा सुरक्षा व्यवस्था कडा पारेको छ । होली पर्वमा हुनसक्ने आपराधिक घटनालाई नियन्त्रणमा लिन सुरक्षा व्यवस्थामा कडाइ गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता तथा सूचना अधिकारी श्यामकुमार महतोले बताउनुभयो ।

उहाँका अनुसार मधेश प्रदेशका सबै जिल्लामा गरी चार हजार ४२ जना प्रहरी परिचालन गरिएको छ । पैदल गस्ती, मोबाइल गस्ती परिचालन गरिनुका साथै राजमार्ग र भित्री सडकखण्डमा चेक प्वाइन्टहरु खडा गरिएको जानकारी उहाँले दिनुभयो ।

शान्ति सुरक्षा खलबलिन नदिनका लागि होली पर्वको अवधीमा मदिरा सेवन गरेर सवारी चालाउने, क्षमताभन्दा बढी सवार गराएर चलाउने सवारी चालकलाई तत्कालै कारवाही गरिने प्रवक्ता महतोले बताउनुभयो । उहाँले जथाभावी रङ लगाउने, लोला हान्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, अश्लील गीत बजाएर नाच्ने, बाटो हिँड्ने महिलालाई अभद्र व्यवहार गर्ने जस्ता क्रियाकलाप नगर्न आग्रह गर्दै मर्यादित भएर होली पर्व मनाउन आग्रह गर्नुभयो ।