प्रशिक्षणपश्चात् १५ वर्षकै उमेरमा उनी विश्व च्याम्पियन बन्छन् र उनले ओलम्पिकमा भाग लिएर ओलम्पिक च्याम्पियन बन्ने सपना देख्न थाल्छन् तर त्यसैबीच सोभियत सङ्घको सेनाले अफगानिस्तानमाथि आक्रमण गरेर त्यसलाई आफ्नो अधीनमा लिन्छ । विश्वभरि सोभियत सङ्घको यस कारबाहीको विरोध हुन्छ । लगत्तै सन् १९८० को मास्को ओलम्पिकमा अमेरिका समर्थक राष्ट्रहरूले भाग नलिने भनेर ओलम्पिक बहिष्कार गर्छन् ।
त्यसैगरी सन् १९८४ को लस एन्जल्स ओलम्पिकमा सोभियत सङ्घ समर्थक राष्ट्रहरूले पनि भाग नलिने निर्णय गर्छन् । बुल्गेरियाले पनि ओलम्पिक बहिष्कार गरेको थियो । सुलेमानव राजनीतिक लडाइँ देखेर वाक्क हुन्छन् । राजनीतिबाट टाढा हुन उनी टर्की प्रवेश गर्छन् । टर्की प्रवेश गरेपछि उनको नयाँ नाम रहन गयो । बुल्गेरियालीले उनलाई ‘नाउम सहालामोनोभ’ भनेर उच्चारण गर्दथे तर जब उनी टर्की प्रवेश गरे उनको नाम नेम सुलेमानव राखियो । यो नामसँग उनी खुसी थिए ।
तर सुलेमानवलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा नामकै कारण अफ्ठ्यारो प¥यो । टर्की सरकारले १० लाख अमेरिकी डलर बुल्गेरियाको भारोत्तोलन सङ्घलाई पठाएर सुलेमानवको स्थानान्तर व्यवस्था मिलाइदियो ।
त्यसपछि उनले टर्कीबाट सोल ओलम्पिक (सन् १९८८) मा भाग लिएर ६० केजी तौल समूहमा ‘स्न्याच’, ‘ल्किन एन्ड जर्क’ र ‘टोटल’ मा नयाँ ओलम्पिक कीर्तिमान बनाएर तहल्का मच्चाइदिए । नेम सुलेमानव छोटो कदका थिए । उनको कद मात्र चार फिट १० इञ्च थियो ।
यसबीच सन् १९९२ मा आयोजना भएको युरोपियन भारोत्तोलन च्याम्पियनसिपमा उनी बुल्गेरियाका नवप्रतिभा निकोलेइ पेसालोभद्वारा पराजित भए । अनि त्यसको तीन महिनापछि सुरु हुने बार्सिलोना ओलम्पिकका लागि उनले गम्भीर भएर प्रशिक्षण गरे । जब बार्सिलोना ओलम्पिक सुरु भयो तब उनले ६० केजी समूहबाट नै भाग लिई निकोलेइको भन्दा १५ केजी बढ्ता तौल उचालेर स्वर्ण पदक जिते ।
एट्लान्टा ओलम्पिक (सन् १९९६) मा उनले ६४ केजी तौल समूहबाट भाग लिए । उनलाई टक्कर दिन ग्रिसका भार्लेजोस लियोनिडिस अगाडि आए । ग्रिसका खेलाडीले प्रयास त गरे तर सुलेमानवलाई उछिन्न सकेनन् । अन्ततः सुलेमानवले नै स्वर्ण पदक जिते । यो उनको तेस्रो ओलम्पिक स्वर्ण पदक थियो । लगातार तीन पटक ओलम्पिकमा स्वर्ण पदक जित्ने उनी मात्र थिए । उनी सात पटक विश्व च्याम्पियन भए र उनले ४६ वटा विश्व कीर्तिमान बनाए ।
उनको असाधारण क्षमताको कदर गर्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले उनलाई ‘ओलम्पिक अर्डर’ बाट सम्मान ग¥यो । यसैगरी अन्तर्राष्ट्रिय भारोत्तोलन सङ्घले उनलाई ‘हल अफ फेम’ बाट सम्मानित गरेको छ । जब उनी ३३ वर्षका भए तब उनले चौथो पटक ओलम्पिकमा भाग लिने निर्णय गरे तर यस पटक उनी असफल भए । उमेर चढ्दै जाँदा उनी धेरै धूमपान गर्ने भए । एक दिनमा ५५ खिल्लीसम्म चुरोट पिउन थाले ।
सन् २००९ मा उनी कलेजोमा ‘सिरोसिस’ भएर तीन महिना अस्पताल बसे । त्यसपछि सन् २०१७ सेप्टेम्बर २५ मा उनको कलेजो काम नलाग्ने भयो । उनीमा कलेजो प्रत्यारोपण गरियो । त्यसपछि नोभेम्बर ११ मा उनलाई मस्तिष्कघात भयो र ओलम्पिक खेल जगत्का सर्वकालीन एक महान् खेलाडी नेम सुलेमानवको सन् २०१७ नोभेम्बर १८ मा ५० वर्षको उमेरमा निधन भयो ।
उनलाई इस्तानबुलमा समाधिस्थ गरियो । आज पनि उनको समाधिमा पुग्नेहरूले श्रद्धाञ्जलीका फूल चढाउने गरेका छन् । उनको मृत्युमा ग्रिसका भारोेत्तोलक लियो नाडिस पनि मलामी गएका थिए ।
नेम सुलेमानव एक यस्ता शक्तिशाली भारोत्तोलक थिए जसले ‘क्लिन एन्ड जर्क’ मा आफ्नो शरीरको तौलभन्दा तीन गुना बढी वजन उठाएका थिए । उनले सन् १९८२ देखि सन् २००० सम्म विश्व भारोत्तोलन जगत्मा सक्रिय भूमिका निर्वाह गर्दै कैयौँ विश्व कीर्तिमान बनाए ।
नेम सुलेमानवको नाममा डकुमेन्ट्री बनेको छ ‘पकेट हरक्युलस’ । जसमा हायाट भेन इकले पकेट हरक्युलसको भूमिका निर्वाह गरेका छन् । विश्वको प्रसिद्ध पत्रिका टाइमले आफ्नो आवरण पृष्ठमा उनको तस्बिर छापेको थियो ।