• १३ साउन २०८१, आइतबार

उद्योगमन्त्री भण्डारी र बङ्गलादेशका राज्यमन्त्रीबिच शिष्टाचार भेट

blog

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र बङ्गलादेशका शिपिङ राज्यमन्त्री खालीद महमुद चौधरीबिच भएको भेट ।

गोरखापत्र अनलाइन

काठमाडौँ, चैत १० गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र बङ्गलादेशका शिपिङ राज्यमन्त्री खालीद महमुद चौधरीबिच दुई पक्षीय हितका विषयमा काठमाडौँमा आज शिष्टाचार भेट भएको छ।

भेटका क्रममा मन्त्री भण्डारीले पछिल्लो वर्षमा बंगलादेशबाट नेपालमा हुने आयातको परिमाण उल्लेख्य वृद्धि भए पनि नेपालबाट बंगलादेशमा हुने निर्यातको मात्रा भने न्यून नै रहिआएकोमा राज्यमन्त्री चौधरीको ध्यानाकर्षण गराउनुभयो । उहाँले अन्तर्राष्ट्रिय व्यापारमा दुई मुलुकबिचको व्यापारको हिस्सालाई वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

बंगलादेश नेपालको महत्वपूर्ण व्यापार साझेदारका रूपमा रहिआएको स्मरण गराउँदै मन्त्री भण्डारीले द्विपक्षीय व्यापार सम्बन्धलाई प्रवर्धन गर्नुपर्नेमा राज्यमन्त्री चौधरीको ध्यानाकर्षण गराउनुभयो ।

दुध तथा दुग्धजन्य उत्पादन, तरकारी, फलफूल, जडिबुटी तथा वनस्पतिजन्य उत्पादन, धागो र औषधिजन्य उत्पादनलगायत विभिन्न वस्तुका लागि बंगलादेश नेपालको सम्भाव्य बजारका रुपमा रहेकाले उच्च भन्सार महसुल तथा गैरभन्सारजन्य अवरोधका कारणले नेपाली उत्पादनले बंगलादेशी बजारमा पर्याप्त पहुँच प्राप्त गर्न नसकेकाले त्यसको पहलकदमीका लागि मन्त्री भण्डारीले आग्रह गर्नुभयो ।

सन् २०१० देखि दुई देशबिचको सौविध्यपूर्ण व्यापार सम्झौता सम्बन्धमा वार्ता भइरहेको स्मरण गराउँदै भेटका क्रममा मन्त्री भण्डारीले दुवै देशको आर्थिक हितलाई महत्त्वपूर्ण रुपमा प्रवर्धन गर्नेगरी यस सम्झौतालाई अन्तिम रुप दिन दुवै पक्षले आफ्नो प्रयास केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपालको तेस्रो देशसँगको व्यापारका लागि चटगाउँ र मोङ्गलापोर्ट प्रयोग गर्ने पारवहन सुविधा प्रदान गरेकामा बंगलादेश सरकारलाई धन्यवाद दिँदै उहाँले सामुद्रिक बन्दरगाहको उपयोगमार्फत पारवहन सम्बन्धलाई सुदृढ बनाउन रोहनपुर–सिंहवाद रेलवे र अन्य पारवहन रुटको सञ्चालनका लागि मन्त्री चौधरीसित आग्रह गर्नुभयो ।

मन्त्री भण्डारीले नेपाल–बंगलादेश व्यापारका लागि काँकडभिट्टा–फुलबारी–बंगलाबन्ध रूट प्रयोग हुँदै आइरहेको र नेपाली ट्रकले भारतको फुलबारी भन्सार विन्दुबाट मात्र बंगलादेशबाट आयात भएका वस्तु ल्याइरहेकाले त्यसले पारवहन लागत बढ्न गएकोमा ध्यानाकर्षण गराउनुभयो ।  

विगतमा भएका वाणिज्य सचिव स्तरीय बैठकमा नेपालले बंगलादेशका जलमार्ग उपयोग गर्नेसम्बन्धी अवधारणापत्र प्रस्तुत गरेको स्मरण गराउँदै मन्त्री भण्डारी भन्नुभयो, “नेपाल र भारतबिचको पारवहन सन्धिले अन्तरदेशीय जलमार्गमा पहुँचको व्यवस्था गरेको छ, जलमार्ग सम्बन्धमा नेपालको प्रस्तावउपर भएको प्रगति र यसलाई नेपालले उपयोग गर्ने सम्भावना सम्बन्धमा बंगलादेशको धारणाको अपेक्षा गरेको छु ।”

भारतीय प्रसारण लाइनमार्फत नेपाल र बंगलादेशबिचको ऊर्जा व्यापार गर्न भारतीय पक्ष सहमत भएको विषय दुवै पक्षका लागि सुखद रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले ऊर्जा क्षेत्रमा बंगलादेशको लगानी सुनिश्चित गर्न आग्रह गर्नुभयो ।

उहाँले राज्यमन्त्री चौधरीलाई प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक क्रियाकलाप, जैविक विविधताका दृष्टिले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा रहेको जानकारी गराउँदै बंगलादेशी पर्यटक नेपाल आउनेमा आशा व्यक्त गर्नुभयो ।

अति कम विकसित मुलुकका रुपमा समेत सहयोगको विस्तार गर्दै संयुक्त रुपमा आवाज उठाउने एवं संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय मञ्चमा उम्मेदवारीलगायतका विषयमा समेत दुई देशबिच सहयोग आदान प्रदान हुँदैआएको स्मरण गराउँदै मन्त्री भण्डारीले यस किसिमको सहयोग अझ विस्तार हुनेमा जोड दिनुभयो ।

भेटका क्रममा बंगलादेशका राज्यमन्त्री चौधरीले मन्त्री भण्डारीले राख्नुभएका कुरा अत्यन्त सकारात्मक र सान्दर्भिक रहेको उल्लेख गर्दै बंगलादेश फर्केर आफुले सो विषयमा प्रधामन्त्रीको ध्यानाकर्षण गराउने बताउनुभयो । उहाँले नेपाल र बंगलादेशको निजी क्षेत्रलाई जोड्नुपर्नेमा जोड दिनुभयो । राज्यमन्त्री चौधरीले अप्रिलमा हुने दुई देशका सचिव र सहसचिवस्तरीय बैठकमा व्यापारमा देखापरेका समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।