• १३ साउन २०८१, आइतबार

सरकारले विश्वासको मत प्राप्त गर्ने मन्त्री देउवाको दाबी

blog

होली मिलन कार्यक्रममा बोल्दै मन्त्री प्रकाशबहादुर देउवा।

अविनाश चौधरी

धनगढी, चैत १० गते। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले प्रदेश सरकारले विश्वासको मत प्राप्त गर्ने दाबी गर्नुभएको छ। 

शनिबार नेपाल प्रेस युनियनले धनगढीमा आयोजना गरेको होली मिलन कार्यक्रममा उहाँले सरकारले विश्वासको मत प्राप्त गर्ने बताउनुभएको हो। बहुमत जुटाउनका लागि सरकारले सबै दलसँग छलफल चलाएको भन्दै मन्त्री देउवाले होली लगत्तै प्रदेश सभाबाट सरकारले विश्वासको मत लिने उल्लेख गर्नुभयो। 

“सरकारसँग रहेका दल सरकारबाट बाहिर गइसकेपछि हामीले विश्वासको मत लिनुपर्छ र अहिले त्यसकै तयारीमा जुटेका छौं”, उहाँले भन्नुभयो,“मलाई विश्वास छ, सरकारले विश्वासको मत प्राप्त गर्ने छ।”

समृद्ध सुदूरपश्चिम बनाउनका लागि विगत एक वर्षदेखि अहिलेको सरकार सञ्चालनमा रहेको भन्दै मन्त्रीले बहुमत प्राप्त हुने बित्तिकै प्रदेश सरकार सुशासन र डेलिभरी, प्रदेश संरचनाप्रति जनताको विश्वास बढाउनका लागि काम गर्ने बताउनुभयो। प्रदेश सरकारले आगामी बजेट अरु बेलाकोभन्दा राम्रो बनाउने कार्यमा अग्रसर हुने पनि मन्त्री देउवाको भनाइ थियो।