• १३ साउन २०८१, आइतबार

नगरपालिकाद्वारा कृषकलाई भैँसी सहयोग

blog

नगरपालिकाले दिएको अनुदान रकमबाट भैसी खरिद गरी ल्याउँदै किसान । तस्विरः राजकुमार भट्टराई

राजकुमार भट्टराई

खोटाङ, चैत १० गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुधबाट आम्दानी गर्न ९४ जना किसानलाई भैँसी प्रदान गरेको छ । किसानलाई दुधमा आत्मनिर्भर बनाउँदै दुधबाट आम्दानी भित्र्याउने लक्ष्यसहित भैँसी प्रदान गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको “भैँसी प्रवर्धन कार्यक्रम” अन्तर्गत दुई माउ भैँसीपालन गर्ने किसानलाई थप एक माउ भैँसी प्रदान गर्ने नीति रहेको बताइएको छ । 

भैँसी पालनमा किसानलाई व्यावसायिक बनाउन यो कार्यक्रम सञ्चालन गरिएको मेयर विमला राईले बताउनुभयो । ‘दुध उत्पादन गरेर विक्री गरुन् र आर्थिक रूपमा किसानको स्तरमाथि उक्सियोस् भनेर यो कार्यक्रम सञ्चालन गरेका हौँ । किसानलाई व्यावसायिक बनाउने हाम्रो नीति हो’ मेयर राईले भन्नुभयो, ‘दुई माउ भैँसी पालिरहेका किसानलाई थप एक माउ भैँसी दिँदा तीन माउ भएपछि किसान व्यावसायिक हुन्छन् ।’ 

त्रि–धार्मिकस्थल हलेसीमा आउने भक्तजनलाई लक्षित गरी “भैँसी प्रवर्धन कार्यक्रम” सञ्चालन गरिएको मेयर राईले बताउनुभयो । ‘हलेसीमा देश विदेशबाट आउने भक्तजनले माछा मासु खाँदैनन्, दुध र दुधबाट बनेका परिकार आवश्यक देखिन्छ । जति दुध उत्पादन भए पनि हामीसँग बजारीकरणको समस्या छैन । किसानलाई दुधबाट आत्मनिर्भर बनाउन कार्यक्रम सञ्चालन गरेका छौँ ।’

दुध र घिउ बजारीकरणका लागि नगरपालिकाले डेरीसमेत सञ्चालन गर्न लागेको छ । किसानले उत्पादन गरेको दुध विक्रीमा समस्या नहोस् भनेर डेरी सञ्चालन गर्न लागिएको मेयर राईको भनाइ छ ।  

“भैँसी प्रवर्धन कार्यक्रम” नगरपालिकाले अघिल्लो वर्षबाट सुरु गरेको छ । अघिल्लो वर्ष ४४ जना किसानलाई भैँसी वितरण गरेको थियो । यस वर्ष थप ५० किसानलाई भैँसी दिनेगरी किसानसँग सम्झौता गरिएको छ । सम्झौता अनुसार किसानले उन्नत जातको करिब एक लाखसम्मको भैँसी खरिद गरी ल्याउने छन् । त्यसपछि नगरपालिकाले अनुगमन गरेर ८० हजारसम्म भुक्तानी दिने कृषि तथा पशु शाखामा कार्यरत कर्मचारी रविन राउतले बताउनुभयो । 

अघिल्लो वर्ष भैँसी पाएका कृषकहरूले अहिले ५ देखि १७ लिटरसम्म हरेक दिन दुध विक्री गर्दैआएका छन् । नगरपालिकाले सूचना प्रकाश गरेर हाल दुई माउ भैँसी पालिरहेका किसानलाई छनोट गरेको छ । 

हलेसी तुवाचुङ नगरपालिकाले किसानलाई आत्मनिर्भर बनाउन पशुसँगै कृषिका विभिन्न कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । कृषिउपज बजारीकरणका लागि हलेसी बजारमा चिस्यान केन्द्रसहितको कृषि मार्ट समेत सञ्चालनमा ल्याएको छ ।