• १३ साउन २०८१, आइतबार

उडान खुलाउन पुरानै अडान

blog

काठमाडौँ, चैत १० गते । युरोपमा नेपाली हवाई सेवाका उडान खुलाउने विषयमा युरोपेली सङ्घ (इयु) ले फेरि पुरानै अडान दोहोर्‍याएको छ । हवाई उडान मानव सुरक्षासँग जोडिएको नितान्त प्राविधिक विषय भएको भन्दै सङ्घले त्यसका प्राविधिक सर्त पूरा हुनुपर्ने जनाएको छ ।

युरोपेली सङ्घको विदेश मामिला हेर्ने निकाय युरोपियन एक्सटर्नल एक्सन सर्भिस (इइएस) को एसिया तथा प्रशान्त विभागका उपप्रबन्ध निर्देशक पाउला पाम्पालोनीले यो कुनै राजनीतिक विषय नभई नितान्त प्राविधिक विषय भएको बताउनुभयो । नेपाल–युरोपेली सङ्घको संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउनुभएकी पाम्पालोनीले यस वियषमा सङ्घमा र नेपालका उच्चाधिकारीसँग गहन रूपमा छलफल भइरहेको बताउनुभयो ।

उहाँका अनुसार प्रतिबन्ध खुलाउने विषयमा केही मापदण्ड रहेका छन्, जुन युरोपेली सङ्घको सुरक्षा विभागले तय गरेको कानुन हो । उहाँले सङ्घका प्राविधिक विज्ञहरू आवश्यक मापदण्ड पूरा भए नभएको परीक्षण गर्न धेरै पटक नेपाल आइसकेको पनि बताउनुभयो । विद्यमान संरचनाले नेपालको हवाई उडान सुरक्षित छ कि छैन भनेर अनुगमन पनि गरिरहेको भन्दै उहाँले त्यो अनुगमन नेपालको उडान सुरक्षित होस् भन्नकै लागि रहेको पनि स्पष्ट पार्नुभयो ।

यस विषयमा युरोपेली सङ्घ र नेपालको संयुक्त आयोगको बैठकमा पनि छलफल भएको उल्लेख गर्दै उहाँले सङ्घले राजनीतिक तहमा पनि प्रतिबन्ध खुलाउने विषय महत्वपूर्ण रहेको महसुस गरेको तर त्यसका लागि थप सहकार्यसाथ अघि बढ्नु जरुरी रहेको बताउनुभयो ।