• १३ साउन २०८१, आइतबार

चिनियाँ व्यवसायीद्वारा एक लाख किलो चिया अर्डर

blog

चिया ।

मङ्गलबारे (इलाम), चैत ९ गते । अनुगमन तथा भ्रमणका लागि यहाँ आएका चिनियाँ चिया व्यवसायीले इलामका विभिन्न चिया उद्योगमा एक लाख किलोग्रामभन्दा बढी चिया अर्डर गरेका छन् । चिया बगान र उद्योगको भ्रमणपछि उनीहरूले सो बराबरको चिया अर्डर गरेका हुन् । 

इलाम नगरपालिका र इलाम उद्योग वाणिज्य सङ्घसँगको पहलमा केही दिनअघि चिनियाँ चिया व्यवसायी यहाँ आएका थिए । उनीहरूलाई यहाँ ल्याउनका लागि चिया व्यवसायी चिरन दाहालले समन्वय गर्नुभएको थियो । सो अवसरमा चिनियाँ व्यवसायी र यहाँका चिया व्यवसायी तथा किसानबिच चिया खरिद, चीनमा चिया निर्यातको सम्भावनालगायतका विषयमा छलफल भएको दाहालको भनाइ छ । 

चिनियाँ व्यवसायीले चियाबारी र उद्योगकोसमेत स्थलगत अनुगमन गरेका छन् । सो अवसरमा चिनियाँ व्यवसायीले देउमाई र इलाम नगरपालिकाका विभिन्न चिया उद्योग र चिया किसान भेटघाट गरेका थिए । उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष चेतनाथ पौडेल कृष्णले एक महिनाअघि पाँच जना चिनियाँ व्यवसायीले यहाँ आएर अनुगमन गरेको र अहिलेसो परिमाणमा चिया अर्डर गरेको बताउनुभयो । 

चियाको पहिलो टिपाइ सुरु हुनै लाग्दा चीनबाट आएको व्यवसायीको टोलीले अवलोकनपछि चिया अर्डर गरेपछि नयाँ उत्साह प्राप्त भएको उहाँको भनाइ छ । इलाम नगरपालिकाले यसअघिदेखि नै यसका लागि पहल गरिरहेको नगरपालिकाका प्रमुख केदार थापाले बताउनुभयो । चिनियाँ व्यवसायीहरूले नेपाली चियाको गुणस्तर निकै राम्रो भएको प्रतिक्रिया दिएका थिए । नेपालमा उत्पादन भएको चिया ८० प्रतिशत भारतमा निर्यात हुने गरेकोमा अब चीनमा पनि निर्यात हुने आशा पलाएको छ । रासस