• १५ वैशाख २०८१, शनिबार

मधेश प्रदेशका ४५ प्रतिशत आमाले स्तनपान गराउँदैनन्

blog

मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा पूर्ण स्तनपानका लागि कानुन कार्यान्वयनबारे तीनदिने प्रशिक्षण दिँदै कानुनविद् । तस्विर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, चैत ९ गते । आमाको दुध सर्वोत्तम आहार मानिन्छ । यसको महत्व दर्शाउन अमृतधारा, प्रकृतिको अमूल्य उपहार जस्ता शब्दावलीको प्रयोग गरेको पाइन्छ । चिकित्सकहरुले स्वस्थ्य समाज निर्माणका लागि जन्मेको एक घण्टाभित्र र ६ महिनासम्म आमाको दुध खुवाउन अनिवार्य गरेका छन् । 

तर स्तनपानको दृष्टिले मधेशका माहरु भने आफ्नै सन्ततिप्रति निर्मम देखिएका छन् । मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका पोषण शाखा प्रमुख विनोद यादवका अनुसार जन्मेको एक घण्टाभित्र मधेश प्रदेशका ४५ प्रतिशत आमाले स्तनपान गराउँदैनन् भने पूर्ण स्तनपान (जन्मेको ६ महिनासम्म) नगराउने आमाको सङ्ख्या ३५ प्रतिशत पुगेको छ।

स्तनपान नगराउने प्रवृत्ति अनेकन स्वास्थ्य समस्याको कारण बनेको र आर्थिक सामाजिक दृष्टिले पनि यो प्रत्युत्पादक भएको शाखा प्रमुख यादवले जनाउनुभयो । युनिसेफकी पोषण अधिकृत सुमी मास्केले ६ महिनासम्म पनि आमाको दुध खुवाउने हो भने बाल मृत्युदर २० प्रतिशतसम्म घटाउन सकिने जनाउनुभयो । आमाको दुध वातावरण मैत्री, सम्पूर्ण आहार र रोग प्रतिरोधका लागि पहिलो खोपसमेत भएकोले स्तनपानको पूर्ण पालनाले बट्टाको दुधमा खेर गइरहेको अर्बाैं रुपियाँ बचत हुने तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को प्रतिवेदन अनुसार स्तनपान नगराउने प्रवृत्ति अशिक्षितभन्दा शिक्षित र गाउँभन्दा सहरका आमामा बढी देखिएको छ । आमाहरुका लागि अज्ञानता, कार्यव्यस्तता, जागिर जस्ता चाहेर पनि स्तनपान गराउन नसकिने बाध्यात्मक अवस्था त छँदैछन् त्योभन्दा पनि बट्टे दुधप्रतिको भ्रमित विश्वासले पूर्ण स्तनपान नगाराइएको अवस्था टड्कारो समस्या भएको उहाँले बताउनुभयो । 

मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका पोषण शाखा प्रमुख विनोद यादवले प्रतिवेदन उद्धृत गर्दै मधेश प्रदेशमा १२ प्रतिशत बालबालिकालाई दुधदानी (बोटल फिडिङ) बाट दुध खुवाउने गरिएको छ । बट्टे दुधको आकर्षक विज्ञापनको भ्रममा परेर बिचमै आमाको दुधको साटो दुधदानीमा पाउडर दुध ख्वाउने प्रवृत्ति चुनौतीका रुपमा देखिएको छ । यो प्रवृतिलाई निरुत्साहित गर्न मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले युद्ध स्तरमा अभियान सञ्चालन गरेको पोषण शाखा प्रमुख यादवको दाबी छ । 

नेपालले ‘आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तुको (विक्री वितरण नियन्त्रण) ऐन, २०४९ र नियमावली २०५१ लागु गरेको छ । यसको प्रभावकारी कार्यान्वयन र आमाको दुध प्रतिस्थापन गर्ने वस्तुको नियमनलाई कडाई साथ पालना गर्न गराउन निर्देशनालयले दक्ष जनशक्ति परिचालत गर्ने जनाएको छ । यसका लागि निर्देशानालयले उक्त ऐनको सघन कार्यान्वयनका लागि बर्दीबासमा बिहिवारदेखि ३ दिने क्षमता अभिवृद्धि अभिमुखीकरण सुरु गरेको छ । 

कार्यक्रममा ८ वटै जिल्लाका स्वास्थ्य प्रमुख, पोषण फोकल पर्सनहरु, २० पालिकाका स्वास्थ्य शाखा प्रमुखहरु पोषणसम्बन्धी काम गर्ने युनिसेफ, वर्ल्ड भिजन, सेभ द चिल्ड्रेन, विश्व स्वास्थ्य सङ्गठनसमेत ६० जनाको सहभागिता छ । कार्यक्रमका प्रमुख प्रशिक्षक एव कानुनविद् सिंह ऋषि काफ्लेले ‘आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तुको (विक्री वितरण नियंत्रण) ऐन, २०४९ र नियमावली २०५१ को प्रभावकारी कार्यान्वयका लागि अवलम्बन गर्नु पर्ने विधिसम्मत प्रक्रियाबारे विस्तृत प्रशिक्षण दिनुभएको थियो । 

"कानुनको प्रभावकारी कार्यान्वयन र सचेतीकरण अभियानले सन् ३० सम्म यो लक्ष्य पूरा गर्न सहयोग पुग्ने विश्वाुसाथ मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले यस्ता कार्यक्रम अघि बढाएको हो," पोषण शाखा प्रमुख विनोद यादवले भन्नुभयो ।