• १३ साउन २०८१, आइतबार

हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

blog

काठमाडौँ,  चैत ९ गते ।  आज हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भवना रहेको जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।

नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली भएकाे छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

उहाँका अनुसार देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । तराईका क्षेत्रमा बादल लागे पनि पानी पर्ने सम्भावना न्यून छ ।

काठमाडौँको अहिलेको वायुको तापक्रम १५ डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता चार किलोमिटर छ । आजको न्यूनतम तापक्रम ११ दशमलब ७ डिग्री सेन्डिग्रेड रहेको तथा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेन्डिग्रेडको बीचमा रहने मौसमविद् नगरकोटीले बताउनुभयो । 

यसैगरी आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।  

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस