• १३ साउन २०८१, आइतबार

एक महिनापछि पर्सा गाउँपालिकामा लगाएको ताला खुल्यो

blog

पर्सा गाउँपालिकाको कार्यालय । तस्बिर: जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, चैत ८ गते । सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित सीमावर्ती क्षेत्रमा पर्ने पर्सा गाउँपालिकामा जनप्रतिनिधिले नै गरेको तालाबन्दी ३६ दिनपछि खुलेको छ । 

गाउँपालिकाका बहुमत कार्यपालिका सदस्यले विभिन्न १९ बुँदे माग राख्दै गएको फागुन १ गतेदेखि कार्यालयमा तालाबन्दी गरेका थिए । असन्तुष्ट जनप्रतिनिधिको १९ बुँदे मागका सम्बन्धमा अर्को कार्यपालिका बैठकमा छलफल भएपछि योजना सञ्चालन गर्ने सहमति गरी बुधवार साँझ गाउँपालिकाको कार्यालयमा लगाइएको ताला खोलिएको हो । 

गाउँपालिकाका अध्यक्ष धिरेन्द्र रायको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले आफूहरूको मागका सम्बन्धमा अर्को बैठकमा बृहत् छलफल गर्ने गरी तत्काल तालाबन्दी खोल्ने सहमति गरेको पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरका वडाध्यक्ष राकेश रामले जानकारी दिनुभयो । उहाँका अनुसार सहमतीपश्चात बुधवार साँझ नै गाउँपालिका अध्यक्ष राय, प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार यादवसहितको उपस्थितिमा गाउँपालिका कार्यालयमा लगाइएको ताला खोलिएको हो । 

तालाबन्दी खुलेसँगै बिहीबारबाट गाउँपालिकाको कामकाज नियमित सुचारु भएको छ । एक महिनापछि कार्यालय खुल्दा बिहीबार गाउँपालिका कार्यालयमा सेवाग्राहीको चहलपहल देखिन्छ ।  

३६ दिनसम्म गाउँपालिकामा तालाबन्दी हुँदा स्थानीय निराश बनेका थिए । गाउँपालिकाका असन्तुष्ट जनप्रतिनिधिले गत आर्थिक वर्ष २०७९÷०८० को आय–व्ययको फाँटवारी उपलब्ध गराउनुपर्ने, शाखा प्रमुखहरूको कामकाज सन्तोषजनक नभएकाले हेरफेर वा आवश्यकता अनुसार हटाउनुपर्ने, स्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीको तलबसहित नामावली विवरण उपलब्ध गराउनुपर्ने, इन्धन खर्चको विवरण उपलब्ध गराउनुपर्ने, २०७४ सालदेखि अहिलेसम्मको पेस्की र बेरुजु फर्छ्यौट गर्नु पर्ने लगायतका माग राखेका छन् ।