• १३ साउन २०८१, आइतबार

सडक विस्तारका लागि घर भत्काउन आग्रह

blog

शुक्लागण्डकी नगरपालिकाको कार्यालय । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, चैत्र ८ गते ।
विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्डको कामलाई सहयोग गर्न तनहुँको शुक्लागण्डकी नगरपालिकाले स्थानीय बासिन्दालाई आग्रह गरेको छ । राजमार्गसँग जोडिएका घर लगाएका संरचना नभत्काउँदा काममा ढिलाइ भएकाले नगरपालिकाले घर भत्काएर सहयोगका लागि आग्रह गरेको हो ।

नगर प्रमुख कृष्णराज पण्डितद्वारा जारी विज्ञप्तिमा राजमार्गको निर्माण र स्तरोन्नतिका क्रममा सम्बन्धित निकायसँग स्थानीय बासिन्दाको पीरमर्काको सम्बोधन गर्ने कार्यमा नगरपालिका सदैव प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।

राजमार्गको स्तरोन्नति हुने क्षेत्रभित्र पर्ने संरचनाको मूल्याङ्कित प्रतिस्थापन तथा क्षतिपूर्ति रकम प्राप्त गर्ने लाभग्राहीको विवरण सम्बन्धित वडा कार्यालयमा प्रेषित गरी तोकिए बमोजिमको प्रक्रिया प्रारम्भ भएको उल्लेख गरिएको छ ।

राजमार्ग सुधार चरण १ योजना अन्तर्गतको पृथ्वी राजमार्गको मुग्लिङ पोखरा सडक खण्ड स्तरोन्नतिका क्रममा यस नगरपालिका क्षेत्रभित्र पर्ने खण्डमा सडकको सतह निर्माणको कार्य भइरहेको उल्लेख गर्दै मापदण्ड भित्र परेका संरचनाहरु निर्धारित मितिसम्म हटाएर क्षतिपूर्ति तथा प्रतिस्थापन रकम मागदाबी गरी सडकको स्तरोन्नति तथा विस्तार कार्यमा सहजीकरण गर्नुहुन सम्बद्ध नगरवासीमा अपिल गरिएको छ ।

पूर्वी र पश्चिमी खण्ड गरी दुई भागमा विभाजन गरी विस्तार सुरु गरिएको सो सडकको पूर्वी खण्ड (मुग्लिन–जामुने) को लम्बाइ ४१.४५ किलोमिटर र पश्चिम खण्ड (जामुन–पोखरा) को लम्बाइ ३९.५५ किलोमिटर छ । पश्चिम सडकखण्डअन्तर्गत दुई लेनको छ किलोमिटर दूरीमा अस्पाल्ट प्रविधिको कालोपत्र सम्पन्न भएको छ ।

तनहुँ र कास्की खण्डमा गरी उक्त दूरीमा कालोपत्र गरिएको पश्चिम खण्डका प्रमुख इन्जिनियर राजेश पौडेलले बताउनुभयो । पौडेलका अनुसार पश्चिम खण्डको भौतिक प्रगति १८ प्रतिशत पुगेको छ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति चीनको यनहुइ काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ । पश्चिम खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ भदौबाट काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता छ । यसैगरी, पूर्वी खण्डमा ५१ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ । अहिले सडकको डिजाइन अनुरुप सडक केन्द्रबाट दायाँबायाँ २३/२३ मिटर सडक बिस्तार भैरहेको पूर्वी खण्डका इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिनुभयो ।

पूर्वी खण्डमा ४१ दशमलव सात किलोमिटर छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि रु. छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो । उक्त खण्डको सम्पन्न गर्नुपर्ने म्याद विसं २०८१ वैशाखसम्म छ ।