• १५ वैशाख २०८१, शनिबार

खोटाङमा ट्याक्टरले किचेर एक जनाको मृत्यु

blog

ट्याक्टरले किचेर ऐंसेलुखर्क गाउँपालिका–६ ज्यामिरे सल्लेका ५१ वर्षीय रणबहादुर पोखरेलको मृत्यु । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई
खोटाङ, चैत ८ गते ।
खोटाङमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । ऐंसेलुखर्क गाउँपालिका–६ ज्यामिरे सल्लेका ५१ वर्षीय रणबहादुर पोखरेलको ट्याक्टरले किचेर बुधबार साँझ मृत्यु भएको हो ।

दुधकोशीबाट बालुवा ल्याएर आउँदै गरेको न ४ त ७८०६ नम्बरको ट्याक्टरमा मलामी गएर फर्किएका पोखरेल पनि चढेका थिए । सुरुमा अगाडिको भागमा चडेका पोखरेल बीच बाटोबाट ट्याक्टरको पछाडिको डालामा चढेका थिए । पोखरेलको घर नजिक पुगेर झर्ने क्रममा उनलाई ट्याक्टरले किचेको ज्यामिरेका वडाध्यक्ष सुनिल राईले बताउनुभयो ।

‘‘झर्ने क्रममा निकै समय ट्याक्टर रोकिएको भन्ने सुनिन्छ, तर खै कसरी ट्याक्टर हिंड्ने क्रममा उहाँलाई किचेछ ।’’ वडाध्यक्ष राईले भन्नुभयो, ‘‘ट्याक्टरले किचेको पछिसम्म पनि बोल्दै हुनुहुन्थ्यो, अस्पताल पुगेपछि अचानक मृत्यु भयो ।’’

दिउँसो ३ बजे ट्याक्टरले किचेर घाइते भएका पोखरेललाई उपचारका लागि एम्बुलेन्समा ऐंसेलुखर्क प्राथमिक उपचार केन्द्र लगिएको थियो । अस्पताल पुगेको केही समयपछि पोखरेलको मृत्यु भएको बताइएको छ ।

मृतक पोखरेलको पोस्टमार्टमका लागि तयारि भइरहेको वडाध्यक्ष राईको भनाइ छ । ट्याक्टरका चालक रावा बेसी गाउँपालिका–१ कुभिण्डेका प्रकाश बिशंखे र सहचालक ज्यामिरेका पेसल राई पक्राउ परेका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले जनाएको छ ।