• १५ वैशाख २०८१, शनिबार

हमास र यमनी हुथी विद्रोहीबिच गाजा युद्धबारे छलफल

blog

गाजा, चैत ३ गते । हमास र यमनका हुथी विद्रोहीका शीर्षस्थ व्यक्तिहरूबिच इजरायलविरुद्ध आफ्ना गतिविधिहरू सञ्चालन गर्न समन्वय गर्ने विषयमा छलफल गर्न दुर्लभ बैठक गरेको प्यालेस्टिनी स्रोतहरूले शुक्रबार एएफपीसँग बताएका छन् ।

हमास र यमनी हुथी समूहले ‘इजरायलको गाजामा भइरहेको कारबाहीको प्रतिरोध’ गरिरहेका छन् । इराननिकट यी समूहजस्तै लेबनानको हिजबुल्लाह र केही इराकी लडाकु समूहको पनि इजरायल तथा संयुक्त राज्य अमेरिकासँग शत्रुतापूर्ण व्यवहार रहेको छ ।

गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता हुथी विद्रोहीले गाजामा प्यालेस्टिनीप्रति ऐक्यबद्धता जनाउँदै इजरायलसँग सम्बन्धित पानीजहाजलाई निशाना बनाएको भन्दै महिनौँदेखि रेड सिको बाटो भएर आवतजावत गर्ने पानीजहाजमा आक्रमण गर्दै आएका छन् ।

हमास र इस्लामिक जिहाद निकटस्थ स्रोतका अनुसार दुई प्यालेस्टिनी इस्लामिक समूहका साथै ‘प्यालेस्टिनी माक्र्सिस्ट पपुलर फ्रन्ट’का नेताहरूले गत हप्ता हुथी प्रतिनिधिहरूसँग ‘महत्त्वपूर्ण बैठक’ गरेका थिए ।

हमास निकट स्रोतले बैठक कहाँ भएको थियो भन्ने उल्लेख नगरी यी समूहहरूले गाजा युद्धको ‘अर्को चरण’ का प्रतिरोधका गतिविधिहरूका लागि समन्वय गर्ने संयन्त्र’ बारे छलफल गरेका थिए ।

प्यालेस्टिनी समूह र हुथी विद्रोहीसमूहले दक्षिणी गाजाको रफाहमा इजरायली स्थलआक्रमण हुनसक्नेबारे पनि कुराकानी गरेको नाम उल्लेख नगर्ने सर्तमा स्रोतले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार गाजामा हमासको अन्तिम किल्ला रफाह र आसपासका क्षेत्रमा करिब १५ लाख मानिसको भीड लागेको छ जसमध्ये अधिकांश विस्थापित भएका छन् र इजिप्टको सीमानजिक कमजोर जीवनयापनको अवस्थामा छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले शुक्रबार रफाहमा सैन्य कारबाही गर्ने सेनाको योजनालाई स्वीकृति दिएको जनाएको छ ।

हमास र इस्लामिक जिहादस्रोतका अनुसार हुथी विद्रोहीले ‘प्यालेस्टिनी प्रतिरोधलाई समर्थन गर्न’ रेड सीबाट आवतजावत गर्ने पानीजहाजमा आक्रमण जारी राख्ने बताएका छन् ।

यमनी विद्रोही हुथी समूहका नेता अब्दुल मलिक अल–हुथीले बिहीबार दक्षिण अफ्रिकाको ‘केप अफ गुड होप’ पार गर्दै रेड सीबाट टाढा रहेका पानीजहाजलाई लक्षित गरी आक्रमण विस्तार गरिने बताएका छन् ।

अक्टोबर ७ मा हमासको अकल्पनीय आक्रमणबाट इजरायलमा करिब एक हजार १६० जनाको मृत्यु भएको एएफपीले इजरायली अधिकारीद्वारा पुष्टि गराएको तथ्याङ्कमा उल्लेख छ ।

प्यालेस्टिनी लडाकुहरूले करिब २५० जना इजरायली र विदेशी बन्धकलाई पनि कब्जामा लिएका थिए, जसमध्ये करिब १०० जना लाई नोभेम्बरमा एक हप्ता लामो युद्धविरामको क्रममा रिहा गरिएको थियो । इजरायलले गाजामा करिब १३० जना बन्दी रहेको र तीमध्ये ३२ जनाको मृत्यु भएको अनुमान गरेको छ ।

इजरायलले हमासविरुद्ध गरेको जवाफी कारबाहीमा गाजामा कम्तीमा ३१ हजार ४९० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस/एएफपी