कर्णालीमा चौँसट्ठी स्वतन्त्र उम्मेदवार विजयी
कर्णाली प्रदेशको स्थानीय तहका विभिन्न पदमा ६४ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । कर्णालीका ७९ वटा स्थानीय तहमा ९४६ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा थिए । पालिका अध्यक्ष, उपाध्यक्षदेखि वडा अध्यक्ष र सदस्य पदमा स्वतन्त्र उम्मेदवारले विजय प्राप्त गरेका हुन् । नगरपालिका प्रमुखमा दुई जना, गाउँपालिका अध्यक्षमा तीन जना र गाउँपालिका उपाध्यक्षमा एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएको छ । यसैगरी वडा अध्यक्षमा १९ जना, वडा सदस्यमा २० जना, महिला वडा सदस्यमा आठ जना र दलित महिला वडा सदस्यमा नौँ जना स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएको छ ।
बिरामीले हवाई टिकट नपाउँदा प्रशासनमा धर्ना
जिल्ला अस्पताल उपचार गर्न नसकिने भन्दै बाहिर रेफर गरिएका बिरामीले हवाई टिकट नपाउँदा बिरामी र आफन्तद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनुभएको छ ।
अस्पतालको बेवास्ताका कारण विना पोस्टमार्टम शव चिहानघाटमा
प्रेमराज सिंखडाकालीकोट, जेठ ९ गते । शंकास्पद रूपमा मृत्यु भएका रास्कोट नगरपालिका ८ का ४४ वर्षीय प्रेम दर्जीको शव विना पोष्टमार्टम चिहानघाटमा पुगेपछि तनाव बढेको छ । पोष्टमार्टम गर्ने भनी रास्कोट सामुदायिक अस्पतालमा दुई दिनसम्म राखिए पनि पोष्टमार्टम नगरिएको भेटिएपछि दाहसंस्कारमा किचलो थपिएको हो ।आक्रोशित आफन्त तथा मलामीहरूले विना पोष्टमार्टम दाहसंस्कार नगर्ने बताएपछि खाल्डो खनिएको भागमाथि शव राखिएको छ । जिल्लाबाट पोष्टमार्टमका लागि डाक्टरसहितको टोली आउन लागेको अस्थायी प्रहरी चौकी शान्तिघाटले गोरखापत्रलाई जानकारी दिएको छ । स्थानीय तहको निर्वाचनमा विजयी रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही र उपप्रमुख मनिराज बरालको विजयी भोजमा सहभागी दर्जीको शनिबार पाटेडीलको पानिगौंडामा शव भेटिएको थियो । मृतक दर्जी विजयी भोजमा दमाह बजाउन र नाचगान गर्न बायालपाटासम्म उपप्रमुखको घरमा समेत पुगेको बताइएको छ । उपप्रमुख मनिराज बरालको घर पाटेडीलमा राति ८ बजेसम्म नाचगान गरेका दर्जी सोही राति बेपत्ता हुनुभएको थियो । दर्जीको शव पानिगौंडाको कुलोमा जेठ ७ गते साँझ ६ बजे भेटिएको थियो । दर्जीको शवलाई जेठ ८ गते बिहान पोष्टमार्टम गर्न रास्कोट सामुदायिक अस्पतालमा पठाइएको थियो । अस्पतालका स्वास्थ्यकर्मी शेरमान गुरूङले माथिल्लो तहको आदेशअनुसार शवलाई हेरफेर मात्र गरी पठाएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी सिद्धराज न्यौपानेका अनुसार प्रहरीले पोष्टमार्टम गर्न अस्पताललाई पत्राचार गरिएको छ ।
नवनिर्वाचित जनप्रतिनिधिद्वारा शपथ, केहीले गर्नुभयो पदभार ग्रहण
प्रेमराज सिंखडाकालीकोट, जेठ ९ गते । कालीकोटका नौ वटा पालिका प्रमुखहरुले पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको छ । जिल्ला न्यायाधीश तथा प्रमुख निर्वाचन अधिकृत लालकाजी श्रेष्ठले उहाँहरुलाई शपथ खुवाउनुभएको हो । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा खाँडाचक्र नगरपालिका प्रमुख कमल शाही, तिलागुफा नगरपालिका प्रमुख शङ्करप्रसाद उपाध्याय, रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही, नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट, शान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहन केसी, पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकाया, पचालझरना गाउँपालिका अध्यक्ष देवजङ शाहीले शपथ लिनुभएको हो । यस्तै, शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द्र आचार्य र महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिहंले पनि पद तथा गोपनीयताको शपथ लिनुभयो । जिल्लाका नौ स्थानीय तह मध्ये खाँडाचक्र नगरपालिका र शान्नीत्रिवेणी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार कमल शाही र मोहन केसीले जित्नुभएको थियो । रास्कोट नगरपालिका, पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका, शुभकालिका गाउँपालिका र महावै गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रले जित हात पारेको छ । तिलागुफा नगरपालिका र नरहरीनाथ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । जिल्लाका तीन स्थानीय मध्ये एक नगरपालिका र दुई गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले उपप्रमुख र उपाध्यक्ष जितेका छन् । माओवादी केन्द्र पाँच प्रमुखसहित चार उपप्रमुख र उपाध्यक्ष, कांग्रेसले दुई प्रमुखसहित एक उपाध्यक्ष जितेको छ । दुई प्रमुखमा भने स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । सबैले आजै पदभारग्रहण गर्नेशपथसँगै तत्काल पदभार ग्रहण गर्नेमा खाँडाचक्र नगरपालिका प्रमुख कमल शाही, तिलागुफा नगरपालिका प्रमुख शङ्करप्रसाद उपाध्याय, रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही हुनुहुन्छ । यस्तै नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट, शान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहन केसी, महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिहंले पनि पदभार ग्रहण गर्नुभएको छ । पद तथा गोपनीयताको शपथपछि नौ वटा स्थानीय तहका प्रमुख मुख्य निर्वाचन कार्यालय जिल्ला अदालतमा । तस्विरः प्रेमराज सिम्खडा ।
बाँकेमा मङ्गलबारदेखि कोभिडविरुद्धको खोप अभियान पुनः सुरु गरिने
बाँकेमा जेठ १० गते अर्थात् मङ्गलबारदेखि कोभिडविरुद्धको खोप अभियान पुनः सुरु गरिँदैछ ।
हुम्लामा २० प्रतिशत मत बदर
जिल्लामा खसेको मतमध्ये २० दशमलव ८९ प्रतिशत मत बदर भएको छ । सात वटै गाउँपालिकाका ५४ वटा मतदान केन्द्रमा खसेको एक लाख ४९ हजार २८३ मतमा २६ हजार ९५२ मत बदर भएको मुुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले जानकारी दिनुभयो ।
नवनिर्वाचित प्रमुख र अध्यक्षलाई शपथ
सुर्खेत जिल्लाका नौवटै स्थानीय तहका प्रमुख र अध्यक्षले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आइतबार जिल्ला समन्वय समितिको हलमा उहाँहरूको शपथग्रहण कार्यक्रम भएको हो । स्थानीय तह सदस्य निर्वाचन ऐन २०७९ अन्तर्गत निर्वाचित पदाधिकारीलाई मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो । सुर्खेत जिल्लामा पाँच नगरपालिका र चार गाउँपालिका रहेका छन् ।
‘योजना वितरणमा पारदर्शी बन्नेछु’
स्थानीय तहको निर्वाचनमा दैलेखको नौमूले गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार छविराम सुवेदी ठूलो मतान्तरसहित विजयी हुनुभएको छ । उहाँ तीन हजार २०० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढामगरले दुई हजार ५४४ मत प्राप्त गर्नुभयो ।
फेरि मतदान गर्न १३ घण्टा पैदल हिँड्नु नपराेस् : मासपुरवासी
बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका लागि मतदान गर्न हुम्लाको मासपुरवासीले १३ घण्टा पैदल हिड्नु पर्ने बाध्यता भयो । गाउँमै मतदान केन्द्र नतोकिदाँ मासपुरबासीले मतदान गर्न सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।