आयोगको कल सेन्टरमा नागरिकको जिज्ञासामा बृद्धि
लक्की चौधरीकाठमाडौं, वैशाख ९ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सम्बन्धमा आम नागरिकबाट आउने जिज्ञासा र गुनासो सम्बोधनका लागि शुरु गरेको कल सेन्टरमा नागरिकको जिज्ञासा आउनेक्रम बृद्धि भएको छ । जिज्ञासाको सहज समाधान हुने भएपछि नागरिकबाट आयोगको कल सेन्टरमा जिज्ञासा आउनेक्रmममा बृद्धि भएको हो ।कल सेन्टर सुपरभाइजर मधुसुदन पुडासैनीकाअनुसार अहिलेसम्म ३ हजार ३२३ जिज्ञासा आएका छन्, जसमध्ये अधिकांश जिज्ञासाको सम्बोधन भएको आयोगले जनाएको छ । उहाँकाअनुसार चैत १५ गतेदेखि शुरु भएको कल सेन्टरको शुरुवाती दिनमा जिज्ञासा आउनेक्रम बढी भएपनि बीचमा कम भएको थियो । तर पछिल्लो समय पुनः कल सेन्टरमा नागरिकको जिज्ञासाको रफ्तार बढेको उहाँले बताउनुभयो । कल सेन्टरबाट आएको जानकारीअनुसार गत चैत १५ गते ३१२ जिज्ञासा आएका थिए । अहिलेसम्मको सबैभन्दा बढी जिज्ञासा आएको दिन पनि त्यही भएको पुडासैनीको भनाई छ । त्यस्तै बढी जिज्ञासा चैत १६ गते ३०५, चैत १७ गते २५२ वैशाख ८ गते २१६ जिज्ञासा आएका छन् । सोहीअनुसार पछिल्लो समय वैशाख ७ गते १३४, वैशाख ६ गते ११६, वैशाख ५ गते १०६, वैशाख ४ गते ८५, वैशाख ३ गते ६५, वैशाख २ गते ८८ र वैशाख १ गते ५३ जिज्ञासा आएका थिए । कल सेन्टरमा आएको नागरिकको जिज्ञासा सकेसम्म तत्काल सम्बोधन गर्ने गरिएको र केही जिज्ञासा क्रमशः सम्बोधन गर्नेगरिएको पुडासैनीले बताउनुभयो । कल सेन्टरमा आउने जिज्ञासा र त्यसको सम्बोधनले निर्वाचनबारे विभिन्न जानकारी सहजरुपमा प्राप्त गर्नेगरेको नागरिकको भनाई रहेको उहाँले जानकारी दिनुभयो । कल सेन्टरमा आउने जिज्ञासामा निर्वाचन प्रचार प्रसारमा गाडीमा साउण्ड सिष्टम प्रयोग गर्न पाइन्छ कि पाइँदैन ? वाल पोष्टर टास्न पाईने नपाईने ?, निर्वाचनमा उम्मेदवारको चुनाव चिन्ह खुलाएर वाल पोष्टर कति साईजसम्मको टाँस गर्न पाउने ? संविधानमा मेयर–अध्यक्ष र उपमेयर–उपाध्यक्षको राजीनामा मात्रै उल्लेख भएको देखियो । वडा सदस्यको हकमा निजले को समक्ष राजीनामा दिने ? लगायतका जिज्ञासा आउने गरेका छन् । सोहीअनुसार अध्यक्ष र उपाध्यक्ष दुवैले राजीनामा दिंदा कसलाई सम्बोधन गरेर कहाँ राजीनामा बुझाउने ?, वडाध्यक्ष र वडा सदस्यले कसलाई राजीनामा बुझाउने ? उम्मेदवारले चुनाव चिन्ह कहिले पाउँछ ? उम्मेदवारले मनोनयन फिर्ता गर्दा दलको पत्र आवश्यक पर्छ कि पर्दैन ? स्थानीय तहमा कर्मचारी खटाउँदा सम्बन्धित स्थानीय तहमा कार्यरत कर्मचारीमध्येबाट राख्नुपर्नेमा बाहिरबाट ल्याएको पाईयो । यसमा कार्यविधिको व्यवस्था के हो ?, मेयर र उपमेयर पदमा दुवै पुरुष उठाउन मिल्छ कि मिल्दैन ? कतिसम्म भोट ल्याउनेको धरौटी जफत हुन्छ ? लगायतका जिज्ञासा आउनेगरेको कल सेन्टरका प्रतिनिधिहरुले बताउनुभयो ।त्यस्तै, एक जनालाई मात्र मतदान गर्दा मत बदर हुन्छ कि हुँदैन ? वैशाख १७ गते हुने नासुको परीक्षा रोकिन्छ कि रोकिन्न ? उम्मेदवार बन्न के के योग्यता आवश्यक पर्छ ? लागुऔषधको कारोबारमा सजाय भुक्तान भैसकेको व्यक्तिले उम्मेदवार हुन पाउने कि नपाउने ? मतदाता परिचयपत्रको आधारको रुपमा रहने नागरिकता वा राष्ट्रिय परिचयपत्र भएको मतदाताले यसैको आधारमा मत हाल्न पाईने हो कि होईन ? कुनै पनि उम्मेदवार र पार्टी मन नपरेको अवस्थामा मतदाताले कसरी मतदान गर्ने ? लगायतका जिज्ञासा आउने गरेको पुडासैनीले जानकारी दिनुभयो । निर्वाचन आयोगमा ११०२ मा निःशुल्क कल गर्ने व्यवस्था गरिएको छ ।
अद्यावधिक भइसकेको मतदाता नामावलीमा थपघट हुन सक्दैन : आयोग
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख ९ गते । निर्वाचन आयोगले प्रक्रियाअनुसार अद्यावधिक भइसकेको मतदाता नामावलीमा थपघट र हेरफेर गर्न नसकिने प्रष्ट पारेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ती जारी गर्दै सो कुरा प्रष्ट पारेको हो । आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “अन्तिम मतदाता नामावली प्रकाशन भएपछि पनि मतदाता नामावली सार्न, सच्याउन पाउँ भन्ने निवेदन आइरहेको सन्दर्भमा मतदाता नामावली ऐन, २०७३ को दफा २१ बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन भएपछि नामावलीमा हेरफेर, थपघट गर्न वा सच्याउन नपाइने कानूनी व्यवस्था भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।”मतदाता नामावली संकलन कार्य स्थगन भएपछि आयोगबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम स्वीकृत भई गत फागुन १९ देखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिएको थियो । आयोगकाअनुसार अनलाइनबाट समेत निवेदन दिने सुविधा प्रदान गरिएको थियो । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भए पश्चात आयोगबाट गत चैत १३ गते दोहोरो नामावली हटाउने लगायतका प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रवक्ता पौडेलले प्रष्ट पार्नुभएको छ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ को प्रयोजनको लागि आयोगद्वारा गत चैत १३ गते प्रकाशन गरिएको अन्तिम मतदाता नामावलीमा कुनै संशोधन वा परिमार्जन वा थपघट वा हेरफेर गर्न वा सच्याउन परेमा स्थानीय तह निर्वाचन सम्पन्न भएपछि गर्न सकिने आयोगले जनाएको छ ।
वीरगञ्ज महानगर प्रमुखबाट सरावगीको राजीनामा
वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले पदबाट राजीनामा दिनु भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन सरावगीले सो पदबाट राजीनामा दिनुभएको हो ।
पालिका अध्यक्षसहित १४ को राजीनामा
वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा पार्टीले टिकट दिने पक्का भएपछि उम्मेदवारी दिन जनप्रतिनिधिहरुले राजीनामा दिन थाल्नुभएको हो । जिल्लाका दुई पालिका अध्यक्ष, वडाअध्यक्षसहितका सदस्यहरुले राजीनामा दिनुभएको छ ।
उम्मेदवार हुन चाहने व्यक्तिको बन्दसूचीबाट नाम हटाउन आयोगको आग्रह
प्रतिनिधि सभा सदस्य निर्वाचन वा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्पmको उम्मेदवारको बन्दसूचीमा नाम कायम रहेको व्यक्ति आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन चाहेमा वैशाख १० गते भित्र प्रक्रिया पु-याई बन्दसूचीबाट नाम हटाउन निर्वाचन आयोगले आग्रह गरेको छ ।
एमालेको निर्वाचन घोषणापत्र, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
कैलालीमा ९१ जनाको सामूहिक राजीनामा
फूलबारी(कैलाली), वैशाख ९ गते । कैलालीमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसका वडा सभापतिसहित ९१ जना क्रियाशील सदस्यले सामूहिक राजीनामा दिएका छन् ।जिल्लाको धनगढी उपमहानगरपालिका–१८ का वडा सभापति भक्तबहादुर थापासहितका क्रियाशील सदस्यले शुक्रबार नगर सभापति यज्ञराज उपाध्यायलाई सामूहिक राजीनामा दिएका हुन् । ‘विगत लामो समयदेखि बलियो सङ्गठनका कारण नेपाली काँग्रेसको जित निश्चित भएको हुँदा वडा नम्बर १८ कमिटीका तर्फबाट उम्मेदवार नभएका कारण क्रियाशील सदस्यबाट राजीनामा दिँदै स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेका छौँ,’ वडा सभापति भक्तबहादुर थापाले बताउनुभयो । सामूहिक राजीनामा दिनेहरुमा नेपाली काँग्रेस कैलालीका पूर्व जिल्ला सदस्य लक्ष्मीप्रसाद देवकोटा, पूर्व क्षेत्रीय उपसभापति कुम्भराज गिरी, पूर्व वडाध्यक्ष सालीभान खड्कालगायतका नेता कार्यकर्ता छन् । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा उक्त वडा माओवादी केन्द्रले जितेका कारण भागबण्डाका क्रममा माओवादीले नै पाउने भएपछि काँग्रेसका नेता कार्यकर्ता असन्तुुष्ट बनेका थिए ।
म्याद सकिँदा बाँकेमा सात जनाले मात्र हतियार बुझाए
नेपालगञ्ज, वैशाख ९ गते । निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर बाँके प्रशासनले लाइसेन्स लिएर राखेका हतियार तथा अवैध हतियार प्रहरीलाई बुझाउन दिएको निर्देशनलाई बेवास्ता गरिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले गत चैत १६ गते जनताले लाइसेन्स लिएर राखेका हतियार नजिकको प्रहरी एकाइ तथा जिल्ला प्रहरी कार्यालय बाँकेमा चैत मसान्तभित्र बुझाउन निर्देशन दिएको थियो । तर सो अवधिमा सात वटा मात्र हतियार प्रहरीमा जम्मा गरिएको जनाउँदै बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले अधिकांशले प्रशासनको निर्देशन पालना नगरेको बताउनुभयो । उहाँले बाँकेबाट ५५५ जनाले हतियार राख्नका लागि अनुमति लिएको देखिएको जनाउँदै ७ वटा मात्र हतियार बुझाउनुले ती हतियार पनि निर्वाचनमा सुरक्षा चुनौती बन्न सक्ने आशङ्का व्यक्त गर्नुभयो । हतियार बुझाउने म्याद सकिए पनि अझै हतियार ल्याएमा बुझेर राख्ने तथा चुनाव सकिएलगत्तै फिर्ता गर्ने प्रजिअ खत्रीले बताउनुभयो । उहाँले हतियार बुझाउन सर्वसाधारणलाई फेरि पनि आग्रह गरिएको जनाउनुभयो । उता, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले निर्वाचन सुरक्षाका लागि निजी हतियार प्रहरीलाई बुझाउनुपर्ने बताउनुभयो । उहाँले अहिलेसम्म ७ थान मात्र बाह्रबोर बन्दुक बुझाइएकाले अरुलाई पनि बुझाउन फेरि पनि आग्रह गरिएको बताउनुभयो । उहाँले अब प्रशासनबाट हतियार राख्नेहरुको लगत लिएर उनीहरुलाई सम्पर्क गरेर हतियार बुझाउन लगाउने तयारी गरिएको जनाउँदै त्यसपछि पनि नबुझाउनेलाई कारवाहीको दायरामा ल्याइने बताउनुभयो । खुला सीमानाका कारण हतियार सजिलै भित्र्याउन सकिने हुँदा लाइसेन्स भएका भन्दा बढी हतियार गैरकानुनी रुपले भारतबाट भित्र्याइएका पनि यहाँ रहेको हुनसक्ने प्रहरीको भनाइ छ । त्यस्ता हतियारलाई पटक पटक प्रहरीले पक्राउ पनि गर्दै आएको छ ।
फेरि उम्मेद्वार हुन वडा अध्यक्षबाट राजीनामा
नवीन शिशिरबागलुङ, वैशाख ९ गते । बागलुङ नगरपालिका–११ रायडाँडाका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले आफ्नो पदबाट राजिनामा दिनुभएको छ । आसन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस गाउँ पार्टी समितिले वडा अध्यक्षको उम्मेवारको रुपमा गौतमलाई पुनः सिफारिस गरेपछि गौतमले पदबाट राजीनामा दिनुभएको हो । गौतमले नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीमार्फत नगरप्रमुख जनकराज पौडेलललाई राजीनामा बुझाउनुभएको छ । गौतम पार्टीले उम्मेदवारको रुपमा नाम सिफारिस गरेपछि पदबाट राजीनामा दिनुभएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जनताको चाहना अनुसार पार्टीले पनि आफूलाई पुन उम्मेदवारीको रुपमा सिफारिस गरेको हुँदा पदिय दायित्वबाट राजिनामा दिएका गौतमले प्रतिक्रिया दिनुभयो । गठबन्धनबाट वडाध्यक्षमा सर्वसम्मत उम्मेदवार बन्ने सहमति बनेपछि राजीनामा बुझाउनुभएको हो । विस २०७४ को स्थानीय निर्वाचनमा गौतम नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा विजयी हुनुभएको थियो । बानपा–११ मा नेपाली काँग्रेसको राम्रो जनमत भएको ठाउँ हो । गौतम लामो समय सञ्चारक्षेत्रका कार्यरत हुनुहुन्थ्यो । नगरपालिकाको सबैभन्दा दुर्गम मानिने रायडाडाको थप विकासको लागि दोहोरिने आफू फेरि पनि नेतृत्व लिन तयार भएको गौतमको भनाइ छ । गौतमले पेश गरेको राजिनामा पत्र नगरप्रमुख जनकराज पौडेल समक्ष पेश गरेको योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो ।