अर्जुन काफ्ले स्याङ्जा, जेठ १६ गते । गण्डकी प्रदेशमै पहिलो बालमैत्री नगर घोषणा गर्न सफल भएको भीरकोट नगरपालिकाले पूर्ण खोप सुनिश्चित नगरपालिका बनेको छ । भीरकोट नगरपालिकालाई कोभिड–१९ विरूद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो । भीरकोट कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित गर्ने स्याङ्जा जिल्लाको दोस्रो नगरपालिका हो । पुतलीबजार कोभिड–१९ को खोप सुनिश्चित भएको पहिलो नगरपालिका हो ।कोभिड–१९ विरूद्धको पूर्ण खोप सुनिश्चित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रमुख प्रशासकीय अधिकृत खुमलाल भूसालले कोभिड–१९ नियन्त्रणमा भीरकोट नगरपालिका र सरोकारवाला संघसंस्थाहरूले खेलेको भूमिका र सफलताको चर्चा गर्नुभएको थियो । कोभिड महामारीको समयमा नगरपालिकाले स्वास्थ्य सचेतना कार्यक्रम, क्वारेन्टाइनको व्यवस्थापन, तत्कालीन कालिका सामुदायिक अस्पतालमा आइसोलेसन कक्षको व्यवस्थापन, हप्तामा दुई दिन निःशुल्क पिसिआर र हप्तामा सातै दिन एन्टीजिन परीक्षण, राष्ट्रिय आविष्कार केन्द्रसँगको लागत साझेदारीमा मिनी अक्सिजन प्लान्ट स्थापनालगायतका विविध कार्यक्रम गरेर कोभिड १९ नियन्त्रणको प्रयास गरेको प्रशासकीय अधिकृत भुसालले बताउनुभायो । भीरकोटमा १२ वर्षमाथिका लक्षित जनसङ्ख्या १६ हजार ९९३ जना मध्ये ९५.८८ प्रतिशत अर्थात् १६ हजार २९३ जनाले कोभिडविरूद्धको खोप लगाएका छन् । लक्षित उमेर समूहका ९० प्रतिशत जनसङ्ख्याले कोभिडविरूद्धको खोप लगाएपछि स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्न सकिने व्यवस्था छ । भीरकोट नगरपालिका समग्र स्वास्थ्य सूचकका आधारमा हेर्दा गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहमध्ये बाह्रौं स्थानमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वसुन्धरा शर्माले बताउनुभयो । फेदीखोला गाउँपालिका बाहेक स्याङ्जा जिल्लाका १० वटै पालिका र पर्वत जिल्लाका कोभिड सङ्क्रमित बिरामीहरूलाई भीरकोटको नगर अस्पतालमा क्वारेन्टाइनमा राखिएको, खानपान र औषधोपचारको व्यवस्थापन नगरपालिकाले गरेको थियो ।
काठमाडौं, जेठ १६ गते । चलचित्र 'लाल सिंह चड्डा' को ट्रेलर सार्वजनिक गरिएको छ । कोरोना महामारीका कारण राेकिएको यो फिल्मले प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो । ब्लकबस्टर चलचित्र '३ इडियट्स' पछि 'लाल सिंह चड्डा' मा करिना र आमिरको जोडी जमेको छ । चलचित्रमा आमिर र करिनाकासाथै मोना सिंह र चैतन्य अक्किनेनीको पनि मुख्य भूमिका रहेको छ । चलचित्र अगस्ट ११ तारिखमा रिलिज हुने भएको छ ।
सत्ता साझेदार पाँचदलीय गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्नबाट बैठक सुरु भएको जानकारी राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले दिनुभयो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जनताले दिएको भोट त्यतिकै खेर जान नदिने बताउनुभएको छ । विश्व सूर्तिजन्य प्रदार्थरहितको दिवसको पूर्वसन्ध्याँमा बोल्नुहुँ उहाँले जनताले दिएको भोटको खेर जान नदिने बताउनुभएको हो ।
झापा फुटबल क्लब शहLद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । ललितपुरको सातदोवाटो स्थित एन्फा कम्प्लेक्समा जारी ‘सी’ डिभिजन लिग अन्तर्गत सोमबार वीरगन्ज युथ एकेडेमीलाई ५–० गोलले हराउँदै झापा ‘बी’ डिभिजनमा उक्लिएको हो ।
पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ५५३ जनाको पीसीआर परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौं, जेठ १६ गते । 'मोडल हन्ट नेपाल २०२२'का लागि आवेदन खुला गरिएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले विज्ञप्ति जारी गर्दै सन् २०२२ को सातौं संस्करण संस्करणको लागि आवेदन खुला भएको जानकारी दिएको हो ।प्रतियोगिताको अडिसन असार ४ गतेदेखि साउन अन्तिम सातासम्म हुनेछ । फाइनल प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट, -याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ ।१८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा युवकको हकमा कम्तीमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उचाइ हुनुपर्ने प्रावधान छ ।प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ बराबरको उपहारसहित १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेसनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत जुन ९ देखि १५ तारिखसम्म अमेरिकामा आयोजना हुन लागेको त्रिदेशीय सिरिज खेल्न नेपाली टोली अमेरिका पुगेको छ ।
जिल्ला सदरमुकाममा रहेको उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा बहुमत वडाध्यक्ष् सहित इतिहासमै पहिलोपल्ट नेपाली काँग्रेसले विजय प्राप्त गरेको छ । नेपाली काँग्रेसका उम्मेदवार वसन्तकुमार बस्नेतले दुईहजार ८६ मतको अन्तरले एमालेका उम्मेदवार भागवत राउतलाई पराजित गर्दै उहाँ नगर प्रमुखमा विजयी हुनुभएको हो ।
मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएको तारा एयरको जहाज दुर्घटनास्थलमा अहिलेसम्म २० जनाको शव भेटिएको छ । दुई जनाको शव विमानको भग्नावशेषबाट निकाल्ने प्रयास भइरहेको जानकारी प्राप्त भएको छ ।
सरकारले अन्तशुल्क, भन्सार, आयकर र मूल्य अभिवृद्धि करसम्बन्धी नियमावलीमा संशोधन गरेको छ ।
बाबुराम देवकोटाभिमान (सिन्धुली), जेठ १६ गते । कमलामाइ नगरपालिका–९ भिमान निवासी तेजप्रसाद घिमिरेलाई कमलाखुँज छिर्न चुरे जङ्गल छिचोल्दा अत्यास लाग्थ्यो । एकाध बाहेक खहरे थिएनन् । दुई दशक अघिसम्म चुरे जङ्गल चारकोशे झाडी जस्तै देखेका घिमिरेले हेर्दाहेर्दै नाङ्गो भएको छ । यो बीचमा सयौं नयाँ खहरेहरु चुरेबाट निस्किएका छन् ।‘भिमानबाट रानीबास पुग्न दुई घण्टाको पैदल बाटोमा चार÷पाँचवटा खहरे खोला थिए,’ उहाँले भन्नुभयो, ‘अहिले २० वटाभन्दा बढी नयाँ थपिएका छन् । चुरेबाट नयाँ खहरे बन्नुको कारण भनेको वन कटानी र फँडानी नै भएको उहाँको निष्कर्ष छ ।’ उहाँले थप्नुभयो, ‘ढलापडा सुख्खड खडा’ का नाममा चुरे जङ्गलबाट धमाधम सालका रुखहरु कटान गर्न थालेपछि ट्याक्टर जङ्गल छिर्न थाले, सालका गोलिया पाखै बग्ने गरी झार्न थालियो । घाटगद्धी भन्दै चुरेको खुकुलो जमिन चलाएपछि वर्षामा सबै बग्यो ।’ त्यँहीबाट नयाँ खहरेले जन्मलिएर अहिले विनाश निम्त्याएको घिमिरेको ठहर छ । हिउँद महिनामा दोहन, कटान र फँडानी हुने भएकाले बर्सेनि वर्षाको मौसममा नयाँ खहरे जन्मेर विनाश गर्दै आएको उहाँको बुझाइ छ । जङ्गल विनाशसँगै वर्षाको मौसममा जन्मिने नयाँ खहरेले बस्ती तथा खेतबारीमा क्षति पु¥याउने भएपछि चुरे जङ्गलको छेउछाउमा बस्ने बासिन्दामा चिन्ता छाएको छ । कमलाखुज र मरिण क्षेत्रमा चुरे जङ्गलको विनाशले बर्सेनि नयाँ खहरे जन्मने क्रम बढेको छ । सुकुम्बासीका नाममा वर्षेनी बढ्दै गएको चुरे अतिक्रमण र काठ चोरी निकासीका कारण खहरेखोला बढ्न गएर समस्या आएको स्थानीय बासिन्दाले बताएका छन् । दुधौली नगरपालिकाका प्राविधिक सहायक हेरम्बराज अधिकारी खहरे खोलाले यस क्षेत्रमा कति उर्वर जमिनलाई क्षति पु¥यायो, त्यसको लगत कुनै पनि निकायसँग नभएको बताउनुहुन्छ । जङ्गल विनाश गर्नुहुँदैन भन्ने स्थानीय उपभोक्तामा चेतनाको अभाव रहेको तथा त्योभन्दा बढी त समय–समयमा तस्करले जङ्गल फँडानी गरी अवैध रुपमा काठ लाने गरेकाले समस्या बढ्दै गएको स्थानीय बासिन्दाको भनाइ छ ।कमला नदी र खहरेले आफ्नो भएको जग्गा बगरमा परिणत गराएपछि जङ्गल फडानी गर्नेको सङ्ख्यामा समेत वृद्धि भएको छ । रानीबासको चन्दनपुरमा जङ्गल फँडानी गरेर बस्ती नै बसालिएको स्थानीय बासिन्दा बताउँछन् ।डिभिजन वन कार्यालय सिन्धुलीको एक तथ्याङ्कअनुसार जिल्लामा चुरे जङ्गलको क्षेत्रफल एक लाख १२ हजार ६३१ हेक्टर छ । यो मध्ये एक लाख हेक्टर जङ्गल सरकारी स्वामित्वमा रहेको र बाँकी समुदायलाई हस्तान्तरण भइसकेको छ । चुरे जङ्गलको तल्लो फाँटको तीन हजार ३८३ हेक्टर वन पूर्ण रुपमा नष्ट भइसकेको छ ।
पुष्कर भण्डारीडडेल्धुरा, जेठ १६ गते । सूचिकृत स्वास्थ्य संस्थाहरुको संख्या बढ्दै गएसँगै सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा समेत वृद्धि भएको छ । चालू आर्थिक वर्षको अहिलेसम्म मात्रै डडेल्धुरामा ८५४ जना महिलाहरुले सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । सात वटा स्थानीय तह रहेको डडेल्धुरामा सात वटै स्थानीय तहमा गरी २० वटा सूचिकृत स्वास्थ्य संस्थाहरुले सुरक्षित गर्भपतन गराउँछन् । औषधि र शल्यक्रिया गरी दुई वटा विधिमार्फत सुरक्षित गर्भपतन गरिन्छ । ८१५ जनाले औषधि र ३९ जनाले शल्यक्रियामार्फत् सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालय परिवार नियोजन संयोजक भवानी कुँवरले बताउनुभयो । डडेल्धुरा अस्पतालमा मात्रै यस वर्ष १५७ जनाले सुरक्षित गर्भपतन गराउनुभएको छ । यी मध्ये १३१ जनाले औषधिको प्रयोग र २६ जनाले अप्रेसन गरेर सुरक्षित गर्भपतन गराउनुभएको उहाँले बताउनुभयो । सोमबार जिल्ला सदरमुकाममा सामुदायिक विकास मञ्चले आयोजना गरेको स्थानीय सञ्चारकर्मीहरुसँग यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी छलफल कार्यक्रममा आयोजना गरिएको थियो । सूचिकृत स्वास्थ्य संस्थाहरुमा सुरक्षित गर्भपतन भए पनि अनेच्छिक गर्भ तथा गोपनीयता नरहने र लिङ्ग पहिचान गरी गर्भपतन गराउनेहरु अवैधानिक रुपमा निजी स्वास्थ्य संस्थाहरुमा असुरक्षित गर्भपतन गराउने गरेको बताइएको छ । सोमबार सञ्चारकर्मीहरुसँग गरिएको छलफल कार्यक्रमका सहभागी । तस्बिरः पुष्कर भण्डारी ।
विजयकुमार साह ढल्केबर, जेठ १६ गते । गत १ चैतमा एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले आइतबार ती चार जनालाई नियन्त्रणमा लिएको हो । घटना संलग्न भनिएका अझै एकजना फरार रहेको तथा अनुसन्धान प्रक्रिया प्रभावित हुने भएकाले नियन्त्रणमा लिएकाहरुको नाम तत्काल सार्वजनिक गर्न नमिल्ने इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले बताउनुभयो । उहाँले पीडित पक्षले दिएको किटानी जाहेरीको आधारमा चारजनालाई नियन्त्रणमा लिएका जानकारी दिनुभयो । गत चैत १ गते उनीहरुले ती किशोरीलाई घरबाट मिथिला नगरपालिका–५ स्थित एक होटल ल्याएर जबर्जस्ती करणी गरेका थिए । पीडित पक्षले जेठ ३ गते इलाका प्रहरी कार्यालय ढल्केबरमा किटानी जाहेरी दिएका थिए ।प्रहरी निरीक्षक सिंहका अनुसार जिल्ला अदालत धनुषाले आरोपितहरु विरुद्ध पक्राउ पुर्जी नै जारी गरेको छ । आरोपितमध्ये चारजना पक्राउ गरिएको र घटनामा संलग्न भनिएका अन्य एकजनालाई पक्राउ गर्न खोजतलास भइरहेको छ । पक्राउ परेकाहरुलाई धनुषा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो ।
गाेरखापत्र अनलाइनकाठमाडाैं, जेठ १६ गते । मानवअधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७८ विनोद पहाडीलाई प्रदान गर्ने निर्णय गरेको छ । संविधानसभा सदस्य (२०६४–६९) समेत रहनुभएका अधिकारकर्मी एवं सञ्चारकर्मी पहाडीलाई तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गर्नुभएको उल्लेखनीय योगदानका लागि मानवअधिकार तथा शान्ति समाजले पुरस्कृत गर्ने निर्णय गरेको हो । २०७९ मङ्सिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजना गरिने कार्यक्रममा एक लाख १० हजार रूपियाँ पुरस्कार राशी र सम्मानपत्रसहित उहाँलाई पुरस्कृत गरिनेछ ।तीन दशक लामो अधिकारको आन्दोलनमा संलग्न रहँदा पटक पटक पक्राउ पर्नुभएका विनोद पहाडी डा. भीमराव अम्वेडकर अवार्डबाट समेत सम्मानित भइसक्नुभएको छ ।पिता रामबहादुर नेपाली र आमा सोभी नेपालीका सुपुत्र विनोद पहाडीको जन्म २०२८ साल वैशाख ६ गते पाल्पाको भुवनपोखरीमा भएको थियो । हाल बुटवल, रुपन्देही निवासी पहाडी २०४६ सालदेखि पत्रकारिता क्षेत्रमा संलग्न हुनुहुन्छ । विभिन्न सञ्चारमाध्यममा आबद्ध पहाडी नेपाल राष्ट्रिय दलित पत्रकार संघको संस्थापक अध्यक्ष , नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य एवं पत्रकार महासंघ रुपन्देही शाखाको दुई कार्यकाल (२०५३–५८)मा सभापति रहिसक्नुभएको छ ।