मेचीमार्ग अन्तर्गत फिदिम ताप्लेजुङ खण्डको हेवाखोलामा तत्कालका लागि यात्रु आगमनलाई सहजीकरण गर्न फड्के पुल निर्माण थालिएको छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सवालजवाफ गर्नुहुने छ ।
अविरल वर्षासँगै गएको बाढी पहिरोले ताप्लेजुङका विभिन्न क्षेत्रमा एघार वटा झोलुङ्गे पुललाई क्षतिग्रस्त बनाएको छ । गत साताको बिहीबारदेखि बुधबारसम्म परेको वर्षाका कारण गएको बाढी पहिरोले उक्त सङ्ख्यामा झोलुङ्गे पुल पूर्णरुपमा क्षतिग्रस्त बनाएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्ने बताउनुभएको छ । आकस्मिक चिकित्सकीय समूहको कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले आकस्मिक तयारीका लागि सबै पक्ष सधैँ चनाखो हुनुपर्छ भन्नुभयो ।
गोरखामा गएराति भएको जिप दुर्घटनामा मृत्यु भएका पाँच जनाको शोकमा लखनथापा गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।
गोरखामा भएको जिप दुर्घटना प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत उहाँले गोरखाको शहीद लखन गाउँपालिका -३ मा भएको सवारी दुर्घटनामा परी पाँच जनाको दुःखद् निधनले मर्माहत भएको र घाइतेको तत्काल उपचारका लागि समेत सरोकार निकायलाई निर्देशन दिनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले पहिरो प्रभावित क्षेत्रका बासिन्दाको लागि राहत तथा उद्धार रणनीतिक योजना तय गरेको छ ।
गोरखामा जन्ती बस दुर्घटनामा मृत्यु हुने पाँच जनाकै सनाखत भएको छ । मृत्यु भएका एक महिला र चार पुरुष गरी पाँचै जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश विपत् व्यवस्थापन परिषद्को बैठकमा जनतासँग प्रदेश सरकार छ भन्ने महसुस हुने गरी सरकारले काम गर्नुपर्ने बताउनुभयो। उहाँले बिहीबार आयोजित बैठकमा यस्तो बताउनुभएको हो। मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “हामीले सर्वसाधारण नागरिकको सेवा सधैँ गर्नु पर्छ। दुःख परेका बेलामा सहयोगको आशा अझै धेरै हुन्छ। हामीले विपत्का समयमा सरकार हामीसँगै छ भन्ने महसुस नागरिकलाई गराउनुपर्छ। यो हाम्रो कर्तव्य पनि हो।” उहाँले प्रदेश सरकारसँग भएको साधन स्रोतको अधिकतम उपयोग गरेर सुरक्षा निकायको परिचालन र स्थानीय तहसँगको सहकार्यमा काम गर्न सम्बन्धित पक्षसँग अनुरोध गर्नुभएको छ। विपत्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न, उद्धार, उपचार, राहतका सबालमा विषेश ध्यान दिन निर्देशन पनि दिनुभएको छ।
विभिन्न लोकप्रिय कार्यक्रमहरू समेटेर लुम्बिनी प्रदेशका स्थानीय तहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। हालसम्म लुम्बिनीका दुई उपमहानगरपालिका, एक नगरपालिका र केही गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। बुटवल उपमहानगरपालिका रुपन्देही, घोराही उपमहानगरपालिका दाङ, रेसुङ्गा नगरपालिका गुल्मी तथा गुल्मीका केही गाउँपालिकाले हालसम्म नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। नीति तथा कार्यक्रममा स्थानीय तहले केही नयाँ र लोकप्रिय कार्यक्रमहरू समावेश गरेका छन्। रात्रिकालीन बजार सञ्चालन गर्ने, अविवाहित ४० वर्ष नाघेका महिला र ४५ वर्ष उमेर नाघेका पुरुषलाई भत्ता उपलब्ध गराउने, किसानलाई मोबाइलबाटै सूचना उपलब्ध गराउनेदेखि बाँदर धपाउनेलगायतका कार्यक्रमहरू समावेश गरिएका छन्।
सुक्खा क्षेत्र घोषणा गरिएको खोटाङको हलेसी क्षेत्रका सर्वसाधारणको घर–घरमा दुधकोशी नदीको पानी पु-याउने योजना अन्तिम चरणमा पुगेको छ। हलेसी तुवाचुङ नगरपालिका–७ का तीन हजार ७५६ घरधुरीलाई पानी वितरण गर्ने लक्ष्य राखिएको (बृहत् पम्पिङ) खानेपानी आयोजना अन्तिम चरणमा पुगेको हो।
कुनै बेला राजनीतिक, प्रशासनिक, न्यायिक, शैक्षिक क्षेत्रमा राजविराज सहरको अग्रणी नाम थियो तर अहिले देशकै पुरानामध्येको एक राजविराज नगरपालिका विकासका दृष्टिले पनि पछाडि परेको छ। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा राजविराज नगरपालिकाको उपप्रमुखमा निर्वाचित भए पनि इसरत परविनले २०७९ भदौदेखि नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। नगरका विकास चुनौती र सम्भावनाबारे कार्यवाहक प्रमुख इसरत परविनसँग गोरखापत्रका ललिता साहले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :