तम्घास-रिडी-खर्ज्याङ्ग सडक सुचारु
गएराति परेको अविरल वर्षाका कारण अवरुद्ध भएको तम्घास-रिडी-खर्ज्याङ्ग सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
ग्रामीण बस्तीमा अझैपनि खाना पकाउन गोबर गुइँठाकै प्रयोग
सहरी क्षेत्रमा खाना पकाउन ग्याँस, हिटर, इन्डक्सनको अत्यधिक प्रयोग भइरहेपनि ग्रामीण भेगमा भने अझै पनि धेरै ठाउँमा दाउरा र गुइँठा प्रयोग गरी खाना पकाउने गरिन्छ ।
कानुनको व्यवहारिक कार्यान्वयनमा जोड
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश पुनमसिंह चन्दले कानुनको व्यवहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।
रोल्पामा पहिरोले पुरिँदा एकको मृत्यु
लगातार वर्षापछि आएको पहिरोले घर भत्किँदा रोल्पाको लिबाङमा एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार पहिरोले लिबाङ स्थित मण्डली भत्किँदा आइतबार बिहान महिलाको मृत्यु भएको हो ।
पहिरो गएपछि गुल्मीको तम्घास-रिडी-वामीटक्सार सडक अवरुद्ध
गए रातिदेखि परेको अविरल वर्षाका कारण तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अबरुद्ध बनेको हो ।
गुलरियाको हनुमान मन्दिर
बर्दियाको गुलरिया नगरपालिका वडा नं. ४ मा अवस्थित कोटही टोलमा अवस्थित हनुमानको निकै नै आकर्षक मूर्ति रहेको छ ।
शिक्षाको गुणस्तर वृद्धि, हप्तामा एक दिन अभिभावकसँग
राप्तीसोनारी गाउँपालिका–६, सिधनवास्थित सिद्धेश्वर माध्यमिक विद्यालयमा निम्न माध्यमिक विद्यालय तहका अङ्ग्रेजी विषयका शिक्षक गणेश खड्का हरेक शुक्रबार विद्यार्थीको अभिभावकका घरमा पुग्नुहुन्छ । शिक्षक खड्का यसरी हरेक शुक्रबार अभिभावकको घरमा पुग्न थाल्नुभएको एक वर्षभन्दा बढी भइसक्यो । खड्काले गत वर्षको वैशाख १८ गतेबाट ‘हप्तामा एक दिन अभिभावकसँग’ भन्ने अभियान नै सञ्चालन गरेर हरेक हप्ताको शुक्रबार अभिभावकको घरमा पुगेर भेटघाट सुरु गरेको बताउनुहुन्छ ।
बस्ती जोगाउन अस्थायी तटबन्ध बनाउँदै सशस्त्र प्रहरी
कपिलवस्तुको महाराजगन्ज नगरपालिका १० हर्दौना स्थित बाणगंगा नदीमा सशस्त्र प्रहरीको टोली हर्दौना गाउँ जोगाउन अस्थायी तटबन्ध निर्माण गरेको छ ।
अस्पताल सेवाग्राहीप्रति जिम्मेवार बन्नुपर्छ : स्वास्थ्यमन्त्री
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले अस्पताल सेवाग्राहीप्रति जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । पाल्पा जिल्ला अस्पतालद्वारा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री सारुले यस्तो बताउनुभएको हो ।
मृतक तथा बेपत्ताका परिवारलाई राहत प्रदान
रुकुम पश्चिममा मनसुनजन्य विपद्को कारण मृत्यु भएका र बेपत्ता भएका परिवारका आफन्तलाई राहत प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले पाँच जना मृतक तथा बेपत्ता व्यक्तिका नजिकका हकदारलाई नौ लाख रुपियाँ राहत प्रदान गरेको हो ।
बुटवलको मुख्य बजारमा डुबान समस्या
बुटवलको मुख्य बजार अमरपथ क्षेत्र ठुलो पानी पर्दा डुबानमा पर्न थालेपछि डुबान रोक्न वैकल्पिक उपायको खोजी भएको छ । बुटवल उपमहानगरपालिकाले बुटवलको अमरपथ र आसपासका क्षेत्रको डुबान रोक्न वैकल्पिक उपाय खोजी गर्ने निर्णय गरेको हो । बुटवलमाथिको चुरे क्षेत्रमा ठुलो पानी आउँदा बुटवलकै मुख्य बजार अमरपथ डुबानमा पर्न थालेपछि यहाँका व्यवसायी चिन्तित छन् । व्यवसायीले यस्तै समस्या उत्पन्न भइरहे अमरपथ क्षेत्रमा व्यवसाय चलाउन गाह्रो हुने बताए । व्यवसायी अकरम खानले यो वर्ष अमरपथ क्षेत्र दुई पटक डुबानमा परिसकेकाले अब व्यवसाय गर्न गाह्रो हुँदै गएको बताउनुभयो । डुबान क्षेत्र अनुगमन गर्दै बुटवल उपमहानगरपालिकाले सो क्षेत्रको डुबान समस्या समाधानका लागि वैकल्पिक उपाय खोजी गर्ने निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ ।
‘बगनासे साँचो’ को प्रयोग बढाउन सहयोग गर्दै पालिका
स्थानीय कालिगडबाट तयार गरिएको ऐतिहासिक ‘बगनासे साँचो’ को प्रयोग बढाउन थालिएको छ । जिल्लाको बगनासकाली गाउँपालिकाभित्रका कालिगडले उत्पादन गर्दै आएको सय वर्ष पुरानो साँचो (ताल्चा) प्रयोगलाई बढाउने गरी तयारी गरिएको हो । गाउँपालिकाभित्रका सरकारी, गैरसरकारी एवं अन्य सङ्घ संस्थाले अनिवार्य रूपमा गाउँमै उत्पादन भएको ताल्चा प्रयोग गर्ने गरी छलफल भइरहेको पालिकाकी अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । ‘बगनासे साँचो’ पालिकाभित्र प्रयोगमा ल्याउन सकेको खण्डमा स्थानीय प्रविधि संरक्षण, रोजगारी वृद्धि हुने, साँचोको आयात रोकिने र प्रचारप्रसार हुने उहाँले बताउनुभयो ।
लमही–कोइलाबास सडक : बजार क्षेत्रमा सडक विस्तार गरिने
लमही–कोइलाबास हुलाकी सडक अन्तर्गत लमही बजार क्षेत्रमा सडक विस्तार गरिने भएको छ । लमही–कोइलाबास सडक अन्तर्गत अन्य क्षेत्रमा सडक विस्तार गरिए पनि बजार क्षेत्रमा भौतिक संरचनाका कारण सडक विस्तार हुन सकेको थिएन । हुलाकी सडक विस्तार गर्दा स्थानीयले जग्गाको मुआब्जा लिए पनि भौतिक संरचनाको मुआब्जा नपाएको भन्दै विरोध गरेपछि लामो समयदेखि बजार क्षेत्रमा सडक विस्तार हुन सकेको थिएन । अहिले लमही–कोइलाबास हुलाकी सडक क्षेत्रमा पर्ने संरचना हटाउन पहल सुरु भएको छ ।
अपहरणमा परेको भन्दै हल्ला फैलाउने पक्राउ
आफू अपहरणमा परेको भनेर नेपालगन्जमा अफवाह फैलाउने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
पहिरोले गाउँ जोखिममा, सात परिवार विस्थापित
गाउँमाथिबाट पहिरो आइरहेकाले सिस्ने गाउँपालिका–५ को थापागाउँ पहिरोको उच्च जोखिममा परेको छ । थापागाउँको माथिबाट भिरकुनाको पहिरोले गाउँ जोखिममा परेपछि सात घरपरिवार विस्थापित भएका छन् ।
कोहलपुर नगर अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु
बाँकेको कोहलपुर नगरपालिकामा रहेको नगर अस्पतालमा भदौ १ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिने भएको छ ।
उद्योग खारेज गर्नेको सङ्ख्या बढ्दै
पाल्पामा नयाँ उद्योग तथा व्यवसाय दर्ताभन्दा खारेजीको सङ्ख्या बढेको छ । पाँच लाखसम्मको लगानीमा स्थापना भएका फर्म दर्ता स्थानीय तह बाटै हुने भएपछि खारेज गर्नेको सङ्ख्या बढेको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले जनाएको छ ।
‘आनन्द संहिता’ लोकार्पित
लेखक तथा पत्रकार घनश्याम खड्काको गैर आख्यान कृति ‘आनन्द संहिता’ लोकार्पित भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा एक समारोहबिच कृतिको लोकार्पण गरिएको हो ।
एक हप्तापछि शवको पहिचान खुल्यो
साउन २६ गते बडिगाड खोलामा फेला परेको शवको पहिचान खुलेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–८ को बडिगाड खोलामा फेला परेको शव बाग्लुङ ढोरपाटन नगरपालिका–२ ढडेनचौरकी ६५ वर्षीय जुठी सार्कीको रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बोलबमधाममा भारतीय पर्यटकको घुइँचो
रुपन्देहीको सैनामैना नगरपालिका–१ मा रहेको पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबमधाममा भारतका विभिन्न सहरबाट आउने धार्मिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । प्रत्येक वर्ष साउनको सोमबार पर्रोहा बोलबमधामस्थित शिव ज्योतिर्लिङ्गमा जलार्पण गर्ने श्रद्धालु भक्तजनको ठुलो भिड लाग्ने गरेको छ । पर्रोहा बोलबमधामका अध्यक्ष रामवली चौधरीले भारतका विभिन्न सहरबाट जलार्पण गर्न ठुलो सङ्ख्यामा धार्मिक पर्यटक आएको बताउनुभयो । उहाँले बोलबमधाममा भारतको सिद्धार्थनगर जिल्लाबाट एकै दिन ८० वटा बसमा श्रद्धालु भक्तजन आएको र भक्तजनले दर्शन गर्नुका साथै जलार्पणमा सहभागी भएको बताउनुभयो । भारतको सिद्धार्थनगरबाट आएका धार्मिक तीर्थयात्री विजय यादवले पर्रोहा बोलबमधाम क्षेत्र भा
स्थानीयका माग पूरा गरिने
लुम्बिनी वरपरका बासिन्दाले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी आफ्नो नजिकै भए पनि स्थानीयले यसबाट कुनै फाइदा उठाउन नसकेको गुनासो गर्दै आएका छन् । उनीहरूको गुनासो सम्बोधन गर्न लुम्बिनी विकास कोषले प्रयासको थालनी गर्ने जनाएको छ । स्थानीय बासिन्दाले उठाएका सकारात्मक मागबारे विकास कोषले १४ वटा बुँदामा कार्यसम्पादन तालिका बनाएर सम्बोधन गर्ने भएको छ । यहाँका स्थानीयले लुम्बिनी जस्तो पवित्र स्थान भएर पनि आफूहरूको जनजीवन तथा आर्थिक आयआर्जनमा कुनै सुधार नआएको भन्दै विकास कोषसँग गुनासो राख्दै आएका थिए ।
दुई दशकदेखि तानसेनमा लाखे
पाल्पामा दुई दशकदेखि लोपोन्मुख लाखेनाच प्रदर्शन गरिँदै आएको छ । तानसेनस्थित बसपार्कका युवा मिलेर लाखेनाचलाई निरन्तरता दिइँदै आएको हो । लाखेनाच मुख्यतः नेवार समुदायको संस्कृति हो । पाल्पाली नाट्य कला समूहका अगुवा किरण चित्रकारका अनुसार तानसेनमा नेवार समुदायको बसोबास बढी रहेका कारण पनि लाखेनाच निरन्तर नाच्नु आवश्यक रहेको छ । लाखेनाचले नयाँ तथा पुराना पुस्तालाई आकर्षित गरेको छ । तानसेनको बसपार्क, हुलाकचोक, टक्सार, शीतलपाटी, नारायणस्थान, असनटोल, वसन्तपुरलगायतका स्थानमा लाखेनाच देखाइने योजना रहेको जनाइएको छ । यो वर्ष घण्टाकर्णको दिनदेखि हरेक दिन लाखे प्रदर्शन भइरहेको चित्रकारले जानकारी दिनुभयो ।
कफी प्रशोधन केन्द्र सञ्चालन
अर्घाखाँचीमा कफी उत्पादन वृद्धि हुन थालेपछि कफी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । बन्जाडे कृषि नर्सरी फार्मले प्रधानमन्त्री कृषि आधुनिकीकरकण परियोजनाको सहयोगमा सन्धिखर्क नगरपालिका–८, किमडाँडामा प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हो । यसअघि उत्पादित कफी प्रशोधन नगरी बिक्री गर्दै आएका किसानले अब भने जिल्लामा प्रशोधन गरेर बिक्री गर्न थालेका छन् । जिल्लामा उत्पादन भएको कफीलाई जिल्लामै प्रशोधन गरी बिक्रीवितरण गर्न प्रशोधन केन्द्र सञ्चालन गरिएको कफी व्यवसायी पुष्कर बन्जाडेले बताउनुभयो ।
बाँकेको राप्तीसोनारीमा भेटियो रातो सर्प
बाँके राष्ट्रिय निकुञ्जको टोलीले जिल्लाको राप्तीसोनारी गाउँपालिका ८ स्थित एक विद्यालयबाट नेपालमा कमै मात्रामा पाइने रातो सर्पको उद्धार गरेको छ ।