सात महिला चलचित्रकर्मी सम्मानित
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्याउनुभएका महिला चलचित्रकर्मीलाई सम्मान गर्नुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा सम्मानित हुनुहुनेमा अभिनेत्री केकी अधिकारी, प्रियङ्का कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल हुनुहुन्छ । उहाँहरुलाई जनही नगद रु २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
‘महाजात्रा’ टोली पोखरामा
नेपाली चलचित्र ‘महाजात्रा’ को टोली प्रचारप्रसारका क्रममा पोखरा आइपुगेको छ । आगामी चैत ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र षट्कोण आटर्सको ब्यानरमा निर्माण भएको हो । चलचित्र पत्रकार सङ्घ नेपाल कास्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले फिल्मको लागत उठाइसकेको दाबी गर्नुभयो । अब प्रदर्शनका क्रममा हुने आम्दानीले अर्को चलचित्र बनाउने बानियाँले उल्लेख गुर्नभयो ।
धारा ३७० को कथा
भारत र पाकिस्तानबिच बेला बेला जम्मु–काश्मीरको विवाद चर्किने गरेको छ । यसका पछाडि राजनीतिकको अनेकौँ कारण हुन सक्छन् । जम्मु–काश्मीरको मुद्दाका विषयलाई केही हदसम्म जानकारी दिने कोसिस चलचित्र ‘आर्टिकल ३७०’ मा गरिएको छ । यो चलचित्रमा भारतमा लगाइएको धारा ३७० खारेज गर्ने कथा देखाइएको छ । भारतीय संविधानको धारा ३७० सँग सम्बन्धित कथालाई चलचित्रमा देखाइएको छ । बिनाकुनै लडाइँ लडेर काश्मीरबाट धारा ३७० हटाउनका लागि के कस्तो सङ्घर्ष गर्नु परेको थियो भन्ने कुरा चलचित्रमा कथानक ढङ्गले प्रस्तुत गर्न खोजिएको छ
समको नाटक ‘अन्धवेग’ मञ्चन
बालकृष्ण समले विसं १९९६ मा लेख्नुभएको मनोवैज्ञानिक दुःखान्त नाटक मण्डला थिएटरमा मञ्चन भइरहेको छ । प्रवीण खतिवडा निर्देशित नाटक ‘अन्धवेग’ यही चैत १८ सम्म मञ्चन हुने आयोजकले जनाइएको छ । समले लेख्नुभएको नाटक मञ्चीय दृष्टिकोणबाट हेर्दा जटिल छन् भन्ने भाष्य निर्माण भएको छ । यो नाटक सरल, स्वभाविक र कोमल संवादले भरिपूर्ण रहेको खतिवडाले जानकारी दिनुभयो ।
‘रङ्गेली’ लाई पिजी सर्टिफिकेट
‘रङ्गेली’ नाममा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले प्रमाणपत्र दिन अस्वीकार गरेको विषयमा चौतर्फी विरोध भएपछि बोर्डले नै निर्मातालाई बोलाएर प्रमाणपत्र प्रदान गरेको छ । चलचित्र पिजी सर्टिफिकेट (प्यारेन्टल गाइडेन्स) १६ वर्षभन्दा मुनिका दर्शकले अभिभावकको साथमा हेर्नुपर्ने छ । सेन्सरले चलचित्रको आपत्ति जनाउँदै प्रमाणपत्र दिन अस्वीकार गरेपछि चलचित्रकर्मीले सामाजिक सञ्जालमार्फत विरोध गरेका थिए । चलचित्रकर्मीको चर्को विरोधपछि सेन्सर बोर्डले ‘रङ्गेली’ लाई सहज रूपमै प्रमाणपत्र दिएको हो ।
फरक भूमिकामा हरिवंश
अभिनेता हरिवंश आचार्यले आफूलाई ‘जात्रा’ शृङ्खलामा जोडिन मन लागेको र अहिले आएर सो इच्छा पूरा भएको बताउनुभएको छ । आइतबार ‘महाजात्रा’ को ट्रेलर सार्वजनिक कार्यक्रममा उहाँले चलचित्रमा आफू एक भ्रष्ट नेताको भूमिकामा रहेको बताउनुभयो । अभिनेता आचार्यले भन्नुभयो, “चलचित्र सामाजिक सन्देशलाई मनोरञ्जनात्मक रूपमा भनेका छौँ । यसले हाम्रो विकृति र त्यसले समाजमा परिरहेको असरलाई पनि ऐना झैँ देखाउँछ ।”
‘बढ्दै छ’ मा मिस पबी
गायिका अञ्जु पन्त र गायक प्रवीण बेडवालको स्वरमा रहेको ‘बढ्दै छ’ बोलको को गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेलको शब्द तथा सङ्गीत रहेको छ ।
‘सतीदेवी’ प्रति सञ्चारमन्त्रीको चासो
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र ‘सतीदेवी’ प्रति चासो लिँदै नेपालमा यस प्रकारका मौलिक, यथार्थपरक चलचित्र निर्माणमा जोड दिनुपर्ने बताउनुभएको छ । मन्त्री शर्मा र चलचित्रका लेखक, निर्माता तथा निर्देशक लक्ष्मण सुवेदीबिच भएको भेटघाटमा नेपाली चलचित्रको विकास, विस्तार र श्रीवृद्धिका लागि मौलिक कथा प्रस्तुतिमा जोड दिनुपर्ने मन्त्री शर्माको भनाइ थियो । उहाँले चलचित्र नारीप्रधान, मौलिक कथामा निर्माण भएको सुनेकाले आफूलाई रुचि लागेको बताउनुभयो ।
निशु भइन् मिसेस नेपाल आइडल २०२४
सन् २०२४ को मिसेस नेपाल आइडलको ताज सप्तरीकी निशु काफ्लेले पहिरिनु भएको छ । ताजसँगै काफ्लेले इजिप्टमा हुन गइरहेको नेपाल फेसन एण्ड इन्टरटेनमेन्ट अवार्डमा इन्ट्रिप्याकेज समेत प्राप्त गर्नुभएको छ ।