निर्यात प्रोत्साहनका लागि कार्यविधि बनाउन निर्देशन
अर्थमन्त्री जनार्दन शर्माले निर्यातमा आधारित नगद प्रोत्साहन (इन्सेन्टिभ) तुरुन्त पाउने गरी कार्यविधि बनाउन निर्देशन दिनुभएको छ । निर्यातकर्ता व्यवसायी तथा सरोकारवालासँग अर्थ मन्त्रालयमा बुधबार भएको छलफलका क्रममा उहाँले मन्त्रालयका दुई सचिवलाई उक्त निर्देशन दिएको जानकारी दिनुभएको हो । निर्यातकर्ताले सहजै नगद प्रोत्साहन पाउने गरी कार्यविधि बनाउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “घुमाएर नपाउने खालको होइन, सजिलैसँग पाउने कार्यविधि बनाउनुपर्छ । पैसा आएको भोलिपल्टै पाउने गरी बनाउन मैले सचिवज्यूहरूलाई भनेको छु ।”
ढाकाले फेरिदियो जीवनस्तर
सामान्य परिवारमा जन्मिनुभएका लालीगुराँस नगरपालिका सोल्माकी सिर्जना तेयुङलाई सानैदेखि सीपमूलक काम सिक्ने इच्छा थियो । कमजोर आर्थिक अवस्थाकी तेयुङ सानोमा विद्यालय आउजाउ गरिरहँदा पनि तस्बिर कोर्ने र विद्यालय छेउका घरमा महिलाले ढाका कपडा बुनेको हेर्ने गर्नुहुन्थ्यो । ढाका बुनिरहेका महिलासँग कहिलेकाहीँ उहाँ सीप सिकाइदिन अनुरोध पनि गर्नुहुन्थ्यो ।
किसानकै पहलमा स्याउ उत्सव
ठूलीभेरी नगरपालिका–१, डोल्पाका दशरथ रोकायाले जिल्लामा पहिलो पटक स्याउ उत्सवको आयोजना गर्नुभएको छ । बेगी स्याउ तथा फलफूल उत्पादन उद्योगमार्फत स्याउ उत्पादनमा लाग्नुभएका किसान रोकायाले स्याउको प्रवद्र्धन गर्ने उद्देश्यसहित एकल प्रयासमा सो उत्सव आयोजना गर्नुभएको हो । उहाँले प्रचारप्रसार र पहिचानका लागि अर्काको मुख ताकेर बस्नुभन्दा आफैँले केही गर्नुपर्छ भनेर यो कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो । कृषक रोकायले स्याउका तीन सय बिरुवा लगाउनुभएको छ ।
चीनको प्रतिस्पर्धामा नेपाली चिया
नेपालले आफ्नो चिया टेस्टिङ (स्वाद जाँच)का लागि चीनमा नमुना पठाउने भएको छ । नेपालमा उत्पादित चिया चीन निर्यात हुने भएपछि स्वाद जाँचका लागि त्यता पठाउन लागेको हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईका अनुसार सेप्टेम्बर १८–२१ सम्म चीनको बेजिङमा हुने चिया प्रतिस्पर्धा (टी कम्पिटिसन)मा भाग लिने र नेपालको चियालाई प्रतिस्पर्धा गराउनका लागि विभिन्न १६ वटा चियाका नमुना पठाउन लागिएको हो ।
रासायनिक मलको अभाव झेल्दै पोखरेली किसान
धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर धान रोपेको दुई महिना बितिसक्दा पनि किसानले रासायनिक मलको अभाव खेप्नुपरेको छ ।
जजिरालाई नियमित उडानको अनुमति
गत जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले नियमित उडानको अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जजिरालाई सातै दिन उडान गर्ने अनुमति दिएको हो । जजिराले यही भदौ ३१ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिन एक उडान गर्ने अनुमति पाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो । हाल जजिराको एयरबस ३२० निओले सोमबार, मङ्गलबार र शुक्रबार गरी सातामा तीन उडान गर्दै आएको छ । कुल एक सय ७४ यात्रु क्षमता भएको जहाजमार्फत हाल कार्गाेसमेत पठाउन थालिएको छ ।
पाँच एयरलाइन्सले भैरहवा उडाउनुपर्ने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक एकभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्दै आएका पाँच हवाई कम्पनीले अब दैनिक एक उडान भैरहवामा गर्नुपर्ने भएको छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, एयर अरेबिया, कतार एयरवेज, फ्लाई दुबईले दैनिक तीनभन्दा बढी उडान गरिरहेका छन् ।
बजार अनुगमन सुरु, बजार झनै अस्तव्यस्त
सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन थालेको छ । चाडपर्वको समयमा कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने, नापतौलमा ठगी गर्ने जस्ता समस्या नहुन् भन्ने उद्देश्यसाथ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन सुरु गरेको जनाएको छ । विभागले विशेषगरी नियमित बजार अनुगमन गर्दै आए पनि चाडपर्वमा खाद्यान्न, लत्ताकपडा र सवारीसाधनमा अनुगमन बढी केन्द्रित गरेको जनाएको छ । विभागका निर्देशक होमनाथ भट्टराईले विभागले तीजदेखि नै चाडपर्व लक्षित गरेर दैनिक चारवटा टोलीले अनुगमन गर्दै आएको जानकारी दिनुभयो ।
वनैवनको देशमा आठ अर्बको काठ आयात
मुलुकमा एक वर्षमा आठ अर्ब रुपियाँ बराबरको काठ र काठजन्य सामान आयात भएको छ । नेपाललाई हरियो वन नेपालको धन भने पनि स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि ठूलो परिमाणमा काठजन्य वस्तु आयात गर्नुपरेको हो । भन्सार विभागको तथ्याङ्कअनुसार आव २०७८/७९ मा आठ अर्ब २२ करोड ३८ लाख ६५ हजार ५२६ रुपियाँको काठ र काठजन्य सामान आयात भएको छ । आव २०७७/७८ मा आठ अर्ब ५२ करोड ८६ लाख तीन हजार ५९१ रुपियाँको तथा आव २०७६/७७ मा पाँच अर्ब ८० करोड ३४ लाख ६७ हजार ५२९ रुपियाँको काठ र काठजन्य सामान आयात भएको विभागको तथ्याङ्क छ ।
चीनतिरै थन्किए व्यापारीका सामान
कोभिड–१९ सङ्क्रमणको कारण देखाउँदै चीनले नेपालसँग जोडिएका भन्सार नाकाहरू बन्द गरेपछि सयौँ कन्टेनर सामान चीनतिरै अड्किएका छन् । नाका खुल्नेबारे नेपाल पक्षले कुनै जानकारी नपाउँदा दशैँलाई लक्षित गर्दै ल्याइएका सामान दशैँअघि नेपाल आउने सम्भावना कमजोर भएको छ । अर्कोतिर फलफूल कुहिने अवस्था बनेको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार बस्नेतले उत्तरी नाका भएर चाडपर्व लक्षित सामान दशैँअघि आउन अब असम्भव रहेको बताउनुभयो ।
नेप्से परिसूचक २१.१६ अङ्कले गिरावट
सोमबार भएको कारोबारमा४.२९ अङ्क घटेर बन्द भएको नेप्से मङ्गलबार २१.१६ अङ्क घटेर १९५१.८४ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.८९ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.५१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अङ्क घटेको छ ।
प्रवर्द्धक सेयर बिक्री नहुने व्यवस्था स्थगित
जलविद्युत् आयोजनाको प्रवर्द्धक को सेयर निश्चित अवधिसम्म बिक्री वितरण गर्न नपाउने व्यवस्थासम्बन्धी सुझाव हाललाई कार्यान्वयन नहुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कार्यान्वयन नगर्ने निर्णय गर्नुभएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका कार्यवाहक अध्यक्ष गणेश कार्कीले जानकारी दिनुभयो । सरकारले ऊर्जा उद्यमीको मर्कालाई महसुस गरी सो अंश कार्यान्वयन नगर्ने व्यवस्था गरी उद्यमीलाई बचाएको उहाँले बताउनुभयो
चिनो खेती गर्न थाले किसान
कालीकोट जिल्लाका किसानले फेरि चिनो खेती गर्न थालेका छन् । केही वर्षदेखि लोप हुँदै गएको चिनो खेती पछिल्लो समय माग बढेपछि पुनः सुरु हुन थालेको हो । कालीकोट जिल्ला बाहिरबाट चिनोको माग बढेपछि किसान यसको खेतीतर्फ आकर्षित भएका हुन् । तीन दशक पहिले कर्णालीमा धेरै मात्रामा उत्पादन हुने रैथाने बाली चिनो, कागुनो, फापर, कोदो पछिलो समय लोप हुने अवस्थामा पुगेको थियो ।
बाँझो जग्गा उपयोग गर्न ऐन पारित
कर्णाली प्रदेश सरकारले बाँझो जग्गा उपयोग गर्न ऐन ल्याएको छ । प्रदेश सभाबाट पारित ‘कर्णाली कृषि व्यवसाय प्रवद्र्धन ऐन, २०७९’मा बाँझो राखिएको जग्गा सम्बन्धित जग्गाधनीको मञ्जुरीमा प्रदेश सरकारले उपयोगमा ल्याउनसक्ने व्यवस्था छ । सो ऐनमा व्यावसायिक कृषि करारको व्यवस्था गरिएको छ । कृषियोग्य जग्गा कृषि परियोजनाबमोजिम सार्वजनिक जग्गाको हकमा स्थानीय तहको सिफारिसमा र वन क्षेत्र नभएको सामुदायिक वनको जग्गाको हकमा स्थानीय तह र सम्बन्धित वनको सहमतिमा प्रदेश सरकारले निश्चित सीमा तोकी करारमा लिने दिने व्यवस्था मिलाउन सक्नेछ ।
सीमामा कडाइ गर्न व्यवसायीको माग
सीमावर्ती भारतीय बजारबाट अवैध रूपमा नेपाल भित्रिने सामानमा रोक लगाउन व्यवसायीले माग गरेका छन् । सीमाबाट निर्बाध रूपमा नेपाल भित्रिने सामानका कारण आफ्नो व्यापार व्यवसाय ठप्प भएको भन्दै व्यवसायीले सीमामा कडाइ गर्न माग गरेका हुन् । बर्दियाको सीमासँग जोडिएका सीमावर्ती भारतीय बजार लौकाही, चित्लहवा, बठनिया, तिकुनिया र बलैमा दैनिक उपभोग्य सामग्री खरिद गर्न नेपाली उपभोक्ता जाने र निर्बाध रूपमा सामान ल्याउने गरेका कारण नेपाली बजार सुक्दै गएको व्यवसायीको गुनासो छ ।
मलेसिया पहिलो श्रम गन्तव्य
चालू आर्थिक वर्षको डेढ महिनामा नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश मलेसिया भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, काठमाडौँका अनुसार साउनदेखि भदौ महिनाको १५ गतेसम्म श्रम स्वीकृति लिएका ३५ हजारमध्ये १७ हजारले लगभग मलेसियाका लागि मात्रै लिएका छन् । साउन महिनामा ६५ देशमा जान वैदेशिक रोजगारीका लागि कुल ६३ हजार जनाले श्रम स्वीकृति लिएकोमा मलेसिया जान मात्रै २५ हजारले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
नेप्से परिसूचक ४.२९ अङ्कले गिरावट
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । आइतबार सामान्य अङ्क बढेर बन्द भएको नेप्से परिसूचक आज ४.२९ अङ्क घटेर १९७३.०१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८२ अङ्क, फ्लोट इण्डेक्स ०.३६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अङ्क घटेको छ ।
घरजग्गा कारोबारीले इजाजतपत्र लिनुपर्ने
घरजग्गा कारोबारलाई व्यवस्थित गर्ने उद्देश्यले सरकारले यसका लागि इजाजत लिनुपर्ने कानुनी व्यवस्था गर्ने भएको छ । संसद्मा दर्ता गरिएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा मालपोत ऐन २०३४ लाई संशोधन गर्दै अबदेखि घरजग्गासम्बन्धी कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने व्यवस्था थप गरिएको हो । यो विधेयक पारित भएसँगै अहिले धेरैजसो व्यक्तिगत तवरबाट हुँदै आएको घरजग्गा कारोबार थप व्यवस्थित हुनेछ । त्यस्तै घरजग्गा कारोबारबाट गुमिरहेको राजस्व पनि सङ्कलन हुने अपेक्षा गरिएको छ ।
छ मर्चेन्ट बैङ्करलाई कोष व्यवस्थापकको अनुमति
नेपाल धितोपत्र बोर्डले थप छ मर्चेन्ट बैङ्करलाई विशिष्टीकृत लगानी कोषअन्तर्गत कोष व्यवस्थापकको अनुमति दिएको छ । बोर्डले आइतबार प्रभु क्यापिटलसहित एनआईबीएल एस क्यापिटल, एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल इन्भेस्टमेन्ट क्यापिटल र एनआईसी एसिया क्यापिटललाई यो अनुमति दिइएको हो । यसअघि ग्लोबल इक्विटी फन्ड र अवसर इक्विटी फन्डले यस्तो अनुमति पाएका थिए । कोष प्रबन्धकको अख्तियारीसँगै यी मर्चेन्ट बैङ्करले निजी इक्विटी र भेन्चर क्यापिटलजस्ता नयाँ सेवा प्रदान गर्नेछन् । नवीन ज्ञान सीप प्रयोग भएका उद्योग व्यवसाय सञ्चालन गर्न स्वदेशी तथा वैदेशिक लगानीका भेन्चर क्यापिटल, प्राइभेट इक्विटी फन्ड, हेज फन्डजस्ता उपकरणमार्फत लगानीको नयाँ स्रोतको व्यवस्था गर्न यी कम्पनीले भूमिका निर्वाह गर्नेछन् ।
सस्तो प्याकेजले मुस्ताङमा अडिएनन् पर्यटक
पछिल्लो समय पर्यटन क्षेत्रले बिस्तारै लय समाउँदै छ । कोभिड–१९ को सङ्क्रमण बिस्तारै कम हुन थालेपछि तेस्रो मुलुकसहित भारतीय पर्यटकको सङ्ख्या बढ्न थालेको हो । पर्यटन व्यवसायीका अनुसार अहिले तेस्रो मुलुकबाट पनि पर्यटक आउन थालेका छन् । पोखरा आउने पर्यटक हिमालपारिको जिल्ला मुस्ताङ पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्र पर्ने मुस्ताङमा अन्नपूर्णको पदयात्रा पूरा गरेर जाने पर्यटक पनि उत्तिकै छन् तर त्यहाँ पुगेका पर्यटक धेरै दिन टिक्न नसकेको व्यवसायी बताउँछन् । अझ धार्मिक पर्यटकको बसाइ अवधि मुस्ताङमा एक रातभन्दा बढी नहुने उनीहरूको भनाइ छ । पर्यटकको बसाइ कम हुनुमा पोखरेली व्यवसायी र सडक यातयात मुख्य कारक बनेको त्यहाँका व्यवसायीको गुनासो छ । पोखराका पर्यटन व्यवसायीले मुस्ताङ उक्लेका पर्यटकलाई घुमघाममा लैजाने र बसाइ अवधि बढाउने गरी प्याकेज नबनाउँदा समस्या परेको मुस्ताङको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले बताउनुभयो ।
भारत पाँचौँ ठूलो अर्थतन्त्र
भारत विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बनेको दाबी गरिएको छ । स्टेट बैङ्क अफ इन्डिया (एसबीआई)ले शनिबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले सन् २०२१ डिसेम्बरमै भारतको अर्थतन्त्रको आकार बेलायतको भन्दा ठूलो भएको जनाएको हो । यो प्रतिवेदनले सन् २०२९ सम्ममा भारत विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण पनि गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पनि अहिले भारतको अर्थतन्त्र अमेरिका, चीन, जापान र जर्मनीभन्दा पछि रहेको जनाएको छ । “आईएमएफको प्रक्षेपणले डलरमा भारतको अर्थतन्त्र बेलायतको अर्थतन्त्रभन्दा ठूलो भइसकेको छ । जुन अमेरिका, चीन, जापान र जर्मनीको पछाडि छ । एक दशकअघि भारत ठूलो अर्थतन्त्रको सूचीमा ११औँ स्थानमा थियो,” आईएमएफको प्रतिवेदनमा भनिएको छ ।
समस्या समाधान गर्न मन्त्रीसँग आग्रह
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर आइतबार बिहान ११ बजे मन्त्रालयकै कल सेन्टरमा छिर्दै गर्दा सप्तरीबाट विष्णुदेव साहको फोन आयो । मन्त्री कुँवरले फोन उठाउनेबित्तिकै साहले रुन्चे स्वरमा भन्नुभयो, “मन्त्रीज्यू ! गएको वैशाख २ गते सडक दुर्घटनामा परी मृत्यु भएको मेरो भाइ सुरेन्द्रप्रसाद साहको शव साउदीमै अलपत्र छ, छिटो नेपाल झिकाउन पहल गरिदिनुप-यो ।”
मल नल्याउने दुई कम्पनी कालोसूचीमा
कृषि सामग्री कम्पनी लिमिटेडले समयमा रासायनिक मल नल्याउने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । मल नल्याउने सिल्क जेभी र सिल्क मार्केटलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिएको कम्पनीले जनाएको छ । कम्पनीका निमित्त प्रबन्धक राजेन्द्रबहादुर कार्कीले तोकिएको समयमा मल नल्याउने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको जानकारी दिनुभयो । सम्झौता अवधि सकिएको छ महिनासम्म पनि मल ल्याउन समय दिँदा पनि ठेकेदारले आलटाल गरेपछि कम्पनीले ठेक्का सम्झौता तोडेर धरौटी जफत गरेको उहाँले बताउनुभयो । आव २०७८/७९ मा यी दुई कम्पनीले ५० हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डीएपी गरी कुल ५५ हजार मेट्रिक टन मल आयातको सम्झौता गरेका थिए । ती कम्पनीले समयमा मल नल्याउँदा बजारमा अभाव भएको थियो ।
आठ वर्षमा सकियो बुटवल–लुम्बिनी प्रसारण लाइन
बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजना सम्पन्न भएको छ । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सम्पन्न भएको हो । यो आयोजनाको औपचारिक उद्घाटन सोमबार हुने कार्यक्रम छ । नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर लामो बुटवल–लुम्बिनी प्रसारण लाइनमा विद्युत् प्रवाह (चार्ज) गरी यसअघि नै सञ्चालनमा ल्याएको छ ।