कूटनीतिक ज्ञान बाँड्ने पुस्तक
चाँदनी हमालकुनै पनि मुलुक जिउँदो रहन छिमेकी मुलुक र मित्रराष्ट्रसँगको सम्बन्ध पनि जिउँदो राख्नुपर्छ । छिमेकी सम्बन्धलाई जिउँदो राख्ने एउटै माध्यम कूटनीतिक सम्बन्ध हो । नेपाल एकीकरणका पिता पृथ्वीनारायण शाहको एउटा उपदेश छ, “जाई कटक नगर्नु झिकी कटक गर्नु ।” अर्थात् आफँै जाइ नलाग्नु, जाइलाग्नेमाथि जाइलाग्न पछि नपर्नु । त्यो बेलामै नेपालले छिमेकी मित्र मुलुकप्रतिको समभावलाई महत्व दिइएको यही उपदेशले प्रष्ट पार्छ ।प्रा.डा. श्रीरामप्रसाद उपाध्याय न्यौपानेद्वारा लिखित ‘नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध’ पुस्तकले नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धको सार बताउँछ । यसमा नेपालको कूटनीतिक सम्बन्धको विगत र आगतसँग जोड्ने विविध आयाममध्येको एक अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा लेखकले खुट्याउने प्रयास गर्नुभएको छ । छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिताका बारेमा लेखकले उल्लेख गर्नुभएका कतिपय विषय आगामी दिनमा थप अध्ययन गर्न चाहने अध्येताका लागि समेत महìवपूर्ण सन्दर्भग्रन्थ बन्न सक्छ । विभिन्न सोह्र अध्यायमा विभक्त गरिएको पुस्तकको अन्तिम अध्याय नै सन्दर्भग्रन्थ रहेको छ । जसले नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा थप जानकारीका लागि ढोका खुला गरेको छ ।कूटनीतिको इतिहासको फेहरिस्त खोतल्दै कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध एकअर्काका पर्यायवाची हुन् भनेर लेखकले पहिलो अध्यायमै उद्घोष गर्नुभएको छ । जस अनुसार उहाँले यी दुई विषयवस्तुलाई जोडेर अन्य अध्यायमा थप चित्रण गर्नुभएको छ । कूटनीतिका आठ रूप प्यासिफिकेसन, गनबोट, आर्थिक, सार्वजनिक, जनता, मध्यस्थता, विद्युतीय र सम्मेलन कूटनीतिका बारेमा यही पुस्तकले भन्छ । अनौपचारिक कूटनीतिक यात्रा विश्वमा शताब्दीयौँदेखि चलिआएकै हो । तथापि औपचारिक अभिलेखका रूपमा पहिलो कूटनीतिक अभ्यासको विषयमा अझै पनि बहस छ । पुस्तकले भने चौथो शताब्दीमा मिश्रका सम्राट् रामेसस् द्वितीय र कनानको अमुरुबीचमा भएको पत्र आदानप्रदानलाई पहिलो औपचारिक कूटनीतिको अभिलेखका रूपमा प्रस्तुत गरेको छ । इतिहासका चाखलाग्दा मिश्र र हिट्टी साम्राज्यबीचको युद्ध र कूटनीतिक प्रयासपछिको शान्ति सम्झौताजस्ता विषयबोध पाठकलाई गराउँछ ।नेपालको अनौपचारिक कूटनीतिक सम्बन्धको विगत बताउने तथ्य चीनबाट मञ्जुश्रीको आगमन र द्वापरयुगमा श्रीकृष्ण भगवानको आगमनको चर्चा पुस्तकले गरेको छ । त्यसपछि चिनियाँ भिक्षुलगायतका विदेशी यात्रुको नेपाल यात्राको कालखण्डसँगै नेपालका लिच्छवि, मल्ल र शाहकालीन समयसँगै आधुनिक कूटनीतिक सम्बन्धको तुना पुस्तकले जोड्न खोजेको पाइन्छ । शाहकालीन कूटनीतिमा नेपाल–ब्रिटिस युद्ध तथा त्यसपछिका सम्बन्धका पाटाहरूलाई लेखकले दोस्रो अध्यायमा समेट्नुभएको छ । नेपाल एकीकरणका पिता पृथ्वीनारायण शाहले तिब्बतसँगको व्यापार कायम राख्न गरेका पहल र अन्य शाहवंशीय राजाले त्यस्ता विदेशसम्बन्धलाई कोसेलीपातले सँगालेको स्मरण रोचक छन् । यस अन्तर्गत नेपालको राजवंशीय इतिहास झल्काउने केही कथाहरूले पुस्तक कतै कतै इतिहासतिर बरालिएको हो कि भन्ने भान पनि पार्छ तर बीचबीचमा अङ्ग्रेजसँगको सम्बन्धका विषयले त्यसलाई सन्तुलनमा राख्न कोसिस गरेको छ । नेपालको अङ्ग्रेजसँग भएको युद्धका क्षतिको विवरण, नेपालले युद्धका क्रममा प्रयोग गरिएका जनावर र हतियार, तत्कालीन सेनापतिको व्यक्तिगत विवरणको उल्लेखले पाठकलाई तान्छ । राणाकालीन कालखण्डको आन्तरिक किचलो र अन्तर्राष्ट्रिय सम्बन्धको आधुनिकीकरणलाई पुस्तकले पर्गेल्न खोजेको छ । भारतीय भूमिमा तत्कालीन समयमा जारी ब्रिटिससँगको युद्ध र नेपालले त्यहाँका राजा रजौटालाई गरेको सहयोगसँगै तत्कालीन श्री ३ महाराज जङ्गबहादुर राणाको बेलायत यात्राबाट सुधारिएको सम्बन्धको यात्राले नेपालको कूटनीतिक सम्बन्धको काँचुली फेरेको दर्शाउँछ । दोस्रो विश्वयुद्धमा गोर्खाली सेनाको बेलायती सेनामा भर्तीको विरोधाभास तथा बेलायतको नेपालप्रतिको नतमस्तक दृष्टिकोणको उदय त्यही समयमा भएको थियो । राणाकालमा नेपाल–बेलायत युद्धको अन्त्यसँगै नेपालले पहिलो कूटनीतिक सम्बन्ध बेलायतसँगै गाँस्यो । त्यसपछि अमेरिका, भारत, फ्रान्स, चीनसँग दौत्य सम्बन्ध गाँस्दै औपचारिक रूपमा विदेशी दूतको नियुक्ति र कार्यभार दिन थालिएको जानकारी पुस्तकले दिन्छ । यसरी इतिहास खोतल्दै जाँदा नेपालको विविधताका बारेमा पनि पुस्तकले बोल्छ । अध्याय चारदेखि विभिन्न मुलुकसँगको सम्बन्धका विषयमा जानकारीमूलक विषय उल्लेख छन् । नेपाल–भारत सम्बन्ध, नेपाल–चीन सम्बन्ध त्यसपछि नेपाल–बेलायत सम्बन्ध, नेपाल–अमेरिका सम्बन्ध, नेपाल–जर्मन सम्बन्ध, नेपाल–फ्रान्स सम्बन्ध, नेपाल–रुस सम्बन्ध र नेपालको अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सम्बन्धको व्याख्या र विश्लेषण पुस्तकमा सटीक रूपमा गरिएका छन् । यी अध्यायहरूमा आपसी सम्बन्धका विभिन्न आयामको विश्लेषणका साथै ती देशसँग भएको आर्थिक तथा विकास साझेदारी एवम् उच्चस्तरीय भ्रमण आदानप्रदानका तथ्यतथ्याङ्कको मौलिक ज्ञान पुस्तकले बाँड्छ । निकटतम छिमेकी भारतबाट भएका धार्मिक भ्रमणहरू र सांस्कृतिक सामाजिक समानताका विषय पुस्तकका महत्वपूर्ण पाटो लाग्छन् । छिमेकी मुलुकसँग विभिन्न कालखण्डमा भएका केही सन्धि सम्झौताका बारेमा जानकारीमूलक सामग्रीको अभिलेखले पुस्तकको मान बढाउँछ ।अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सम्बन्धतर्फ संयुक्त राष्ट्रसङ्घमा नेपालको प्रवेशदेखि सार्कको उदय र शिखर सम्मेलन, असंलग्न राष्ट्रका सम्मेलन, बिमस्टेक तथा अन्य अन्तर्राष्ट्रिय सम्मेलन र समुदायसँग नेपालको साझेदारी विस्तारलाई सङ्क्षेपमा प्रस्तुत गरिएको छ । कुन देशबाट कस्ता साझेदारी हुन्छन् र भए भन्ने जानकारी आम नागरिकका लागि पनि पठनीय विषय हुन् । आफ्नो देशका नेतृत्वले कति ऋण वा अनुदान लिइरहेका छन् र यसले देशको भविष्य कतातिर लैजान्छ भन्ने मूल्याङ्कन गर्न ती तथ्यले सघाउँछन् । समग्रमा पुस्तक पठनीय छ । कतैकतै लेखक कूटनीतिभन्दा बढी इतिहासमैत्री भएको छनक दिन्छ । कतिपय गहन विषयको जानकारीमात्र काफी हुन्न त्यसमाथि भएका टिप्पणी र विरोधाभासका विषय पनि नेपालको कूटनीतिक क्षेत्रको महत्वपूर्ण अभिलेख हुनसक्ने सवालमा लेखकले ध्यान दिन सक्नुभएको छैन । तथापि पुस्तक ज्ञानवद्र्धक खुराकका रूपमा छ ।
पथिक (कथा)
बीउ छरेपछि उमार्न कर लाग्छ धरतीलाई । फरक अनुभूतिको बीजारोपण तिमीले गराएका थियौ । ठान्थेँ, तिमी त्यही प्यारो गाउँको असल पुरुष ! जीवनको उत्तराद्र्धमा एक हातले लौरो टेक्तै अर्को हातमा कोइरालाको अचार लिएर चौतारीमा पर्खिरहनेछौ ।
पूर्ण–कृष्ण स्मृति साहित्यिक पुरस्कार श्रेष्ठलाई
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख २ गते । पूर्ण–कृष्ण स्मृति राष्ट्रिय साहित्य पुरस्कार २०७७ बाट आख्यानकार भागिरथी श्रेष्ठ पुरस्कृत हुनुभएको छ । वरिष्ठ साहित्यकार श्रेष्ठ प्रिया पत्थरले आफ्नो आमाबाबुको स्मृतिमा सो पुरस्कारको स्थापना गर्नुभएको हो । साहित्यकार पत्थरले आज एक समारोहबीच सो पुरस्कार हस्तान्तरण गर्नुभएको हो ।कैलाली जनपुस्तकालयद्वारा सञ्चालित सो पुरस्कार शुक्रबार काठमाडौंमा साहित्यकार श्रेष्ठलाई हस्तान्तरण गरिएको वरिष्ठ साहित्यकार पत्थरले जानकारी दिनुभयो । सो अवसरमा साहित्यकार हेमन्ती जोशी, डा. पुष्करराज भट्ट, वरिष्ठ पत्रकार भैरव रिसाल, साहित्यकारहरु मञ्जुल, द्वारिका श्रेष्ठ, प्राज्ञ माया ठकुरी, जलेश्वरी श्रेष्ठ, सुलोचना मानन्धर, इल्या भट्टराई, सुस्मिता नेपाल, प्रभा बराल लगायतको सहभागिता थियो ।२०७७ मा तीन लाख रुपियाँको अक्षयकोष स्थापना गरी सो बापत आउने व्याजबाट सञ्चालित सो पुरस्कारको राशी नगद २५ हजार रुपियाँ र सम्मानपत्र रहेको छ ।
जोश र जाँगरका साथ मञ्चन हुन थाल्यो नाटक
सुकृत नेपालकाठमाडौँ, वैशाख २ गते । वर्ष २०७८ मा नेपाली रङ्गमञ्चमा खासै चहलपहल हुन सकेन । कारण, कोरोनाको तेस्रो लहर । यसले नेपाली रङ्गमञ्चलाई अधिक नै असर ग¥यो । यसका कारण धेरै रङ्गकर्मी आर्थिक चपेटामा पनि परे । धमाधम नेपाली थिएटरहरूमा नाटक बन्द भए । यसबीच रङ्गकर्मीले भर्चुअल माध्यमबाट केही नाटक देखाउने काम नगरेका होइनन् तर प्रत्यक्ष नाटक देखाउँदा भेटिने ऊर्जा दर्शकहरूले सम्भवतः भर्चुअल प्रदर्शनमा पाउन सकेनन् । वर्षको सुरुमै बन्दजस्तै हुन पुगेको रङ्गमञ्च गत वर्षको मध्यतिर भने केही तङ्ग्रिन थाल्यो । मण्डला, कुञ्ज, कौसी, पुरानो घर, थिएटर मल, शैली, शिल्पीलगायतका मोफसल र राजधानीमा अवस्थित थिएटरहरूमा पूरै जोश र जाँगरका साथ नाटकहरू मञ्चन हुन थाले । अहिले त्यसैको निरन्तरता जारी छ । मण्डलामा यस वर्ष १६ जना विद्यार्थीले डेढवर्षे तालिमपछि अभिनय गरेको नाटक ‘जिजीविषा’, राजन खतिवडा निर्देशित ‘रोगन’, दयाहाङ राई निर्देशित ‘मीतज्यू’ र सोमनाथ खनाल निर्देशित नाटक ‘तीन ट्रान्जिट’ मञ्चन भयो । यस्तै २०७८ सालको उत्तराद्र्धमा कौसी थिएटरमा आकाङ्क्षा कार्की निर्देशित ‘एनिमल फर्म’ र ‘हरेक बबाल कुरा’, चन्द्रमान भैरव निर्देशित ‘पचली भैरव’ र आशान्त शर्मा निर्देशित ‘ढल्केको सालैजो’ मञ्चन भएको थियो । सबै नाटकले अपेक्षित दर्शक पाए । वर्ष २०७८ मा एक दशकअघि बन्द भएको गुरुकुल थिएटर फेरि सञ्चालनमा आयो । रङ्गकर्मी सुनील पोखरेलले नै यो थिएटर सञ्चालनमा ल्याएका हुन् ।काठमाडौँ महानगरपालिकाको सहयोगमा एक वर्षका लागि थापागाउँस्थित कुञ्ज थिएटरमा ‘फेरि गुरुकुल’ सञ्चालनमा आएको हो । थिएटर सुरु भएसँगै सुनील पोखरेलको अनुवाद र निर्देशन रहेको नाटक ‘पुतलीको घर’को पहिलो मञ्चन गरिएको थियो । पुतलीको घरपछि गुरुकुलमा ‘ताराबाजी लै लै’ मञ्चन भयो । यसै वर्ष कुञ्ज थिएटरमै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा भारतीय रङ्गकर्मी तथा प्रशिक्षक अमित बेनर्जीले सात दिन भ्वाइस एन्ड स्पिचको कार्यशाला दिएका थिए । कार्यशालामा देशका ३४ नाट्य संस्थासँग आबद्ध ३४ कलाकारको सहभागिता थियो । यस्तै सिनामङ्गलस्थित पुरानो घर थिएटरले यो वर्ष तीनवटा नाटक मञ्चन ग-यो । ‘म’, ‘लाटीको छोरो’ र ‘खत’ पुरानो घरमा यो वर्ष मञ्चन भएका नाटक हुन् । तीनवटै नाटकलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् । सबै नाटकले औसत दर्शक बटुलेका थिए । वर्ष २०७८ मा थिएटर मल कीर्तिपुर रङ्गमञ्चले एउटा मात्र नाटक मञ्चन ग-यो । नाटक ‘शिरीषको फूल’ । नाटक अञ्जान प्रदीपले निर्देशन गरेका हुन् भने नाटकको परिकल्पना केदार श्रेष्ठले गरेका हुन् । नाटकले राम्रो दर्शक बटुलेको थियो । यही नाटक पोखराको पोखरा थिएटरमा पनि मञ्चन गरियो । कोरोना कहरले अर्को त्राहिमाम ल्याएन भने यस वर्ष दुई वर्ष लामो महामारीको साङ्लोबाट उम्किएर नेपाली थिएटरले आफ्नो लय समात्ने विश्वास लिन सकिन्छ । थिएटरमा मञ्चनको लामो अन्तरालपछि नयाँ नाटकको तिर्खामा दर्शकहरू पनि सम्भवतः प्रेक्षालयसम्म पुग्न आतुर छन् ।
संसारको भोकको अवस्था ‘संसारा’
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख २ गते । हीराकाजी श्रेष्ठको आत्मकथा ‘संसारा’ले संसारको भोकको अवस्था दर्शाउँछ । संसारामा उहाँले आफ्नो जीवनका अनेक पाटोसहित कर्मक्षेत्रको ३४ वर्षे सेवा अवधिमा भोगेको, देखेको सत्यकथालाई पुस्तकको रूपमा सार्वजनिक गर्नुभएको छ । पोखरामा जन्मिनुभएका श्रेष्ठ हुर्कने, पढ्ने परिवेशदेखि जागिरे जीवन, अवकाशप्राप्त जीवनसम्मका सङ्घर्ष, सन्तुष्टिलाई यस पुस्तकमा पढ्न पाइन्छ । श्रेष्ठले दुई दशकसम्म संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमअन्तर्गत नेपालमा काम गर्नुभयो । त्यसपछि खाद्य सङ्कटमा रहेका अन्य मुलुकमा पुगेर काम गर्ने क्रममा देख्नुभएको यथार्थ घटना, खानाको अभावले हुने द्वन्द्व, लुटपाटदेखि हिंसात्मक गतिविधि, अभावबाट प्रभावित महिला, बालबालिकाको कारुणिक अवस्थाले मन अमिलो बनाउँछ । पुस्तकमा कर्ण शाक्य लेख्नुहुन्छ, “हीराकाजीको जीवन साढे तीन दशक विश्व खाद्य कार्यक्रममा काम गरेको साधनाको फल हो ।” उहाँले वि.सं. २०२८ मा एसएलसी परीक्षाको नजिता हेर्न पोखरा विमानस्थल पुगेर गोरखापत्र दैनिकका लागि हवाईजहाज पर्खेको, सोही वर्ष पोखराबाट उच्च शिक्षा पढ्ने धोको लिएर हवाईजहाजमा ६२ रुपियाँ तिरेर राजधानीमा आएको सम्झना पनि पुस्तकमा लेख्नुभएको छ । त्यसैगरी राजधानीमा साथीसँग समूहमा मिलेर बस्दा ५२ पैसा छाकको खाना खाएर पढ्नुभएको सम्झनाले त्यति बेलाको बजारभाउको अवस्था देखाउँछ । हाल उहाँ बागवानी फर्ममा रमाइरहनुभएको छ । घोस्ट राइटिङ नेपालमार्फत बजारमा आएको यस पुस्तक बिक्रीबाट आएको रकम पनि समाजसेवामा समर्पित गर्ने लक्ष्यले पोखरेली दिदीबहिनी समूहद्वारा सञ्चालित ‘असहाय बालबालिका शिक्षा विकास कोष’को खातामा जम्मा गर्ने लेखकको उद्देश्य छ ।
‘भेनिस विएनाले’ कला महाेत्सवमा नेपालले पहिलोपटक सहभागिता जनाउँदै
गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत २३ गते । विश्वकै कला महोत्सवमध्ये प्रमुख मानिने ‘भेनिस विएनाले’ मा नेपालले पहिलोपटक सहभागिता जनाउने भएको छ । इटलीको भेनिसमा ५९ औं भेनिस विएनाले वैशाख १० गतेदेखि सुरु हुँदैछ । सन् १८९५ देखि हरेक दुई दुई वर्षमा सो कला महोत्सव सञ्चालन हुँदै आएको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट फाउण्डेसनद्वारा संयक्त रुपमा बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । छ महिनासम्म सञ्चालन हुने कला महोत्सवमा नेपालको सहभागिताले नेपाली कलाको प्रवद्र्धनमा सहयोग पुग्ने नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति केके कर्माचार्यले बताउनुभयो ।सिद्धार्थ आर्ट फाउण्डेसनकी निर्देशक संगीता थापाका अनुसार, रुविन म्युजियम अफ आर्ट, अमेरिकाले यस महोत्सवका लागि नेपाल प्रदर्शनी कक्ष उपलब्ध गराएको छ । महोत्सवका लागि हितमान गुरुङ र सिलाशा राजभण्डारीले क्युरेटिङको जिम्मा लिनुभएको छ । सो महोत्सवमा कलाकार आङछिरिङ शेर्पाले अन्य नेपाली कलाकारसँगको सहकार्यमा तयार पारिएका कलाको प्रदर्शनी गरिने जनाइएको छ । कलाकार आङछिरिङले आशा राई, विजय महर्जन, दुर्गा श्रेष्ठ, कर्म लामा, मउण्ट रिफ््युज, पासाङ लामा, फुर्वा ह्योल्मो, रमेश श्रेष्ठ, सजल सिवाकोटी, सङ्गीता महर्जन, सुनिलबहादुर मोक्तान, हिमालयन आर्ट ग्यालरी, भुटि उख्याव, जाङ्बु लामा, ङवाङ्ग लुढुप र उर्गेन दोर्जे शेर्पासँगको सहकार्यमा तयार पारिएका कला महोत्सवमा प्रदर्शन गरिने जनाइएको छ ।कलाकार आङछिरिङले भन्नुभयो, “कलाको त्यो विश्व महोत्सवमा नेपाली कला र कलाकारको सहभागिता निकै महत्वपूर्ण छ । यसले नेपाली कलालाई हस्ताकलाको रुपमा मात्र बुझ्ने विश्व बजारमा नेपाली विशिष्ट कलाको परिचय गराउन सहयोग पुर्याउँछ ।”
राष्ट्रिय लोकदोहोरी महोत्सव सुरु
काठमाडौं, चैत २६ गते। ‘राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८’ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ। महोत्सव पाँच दिनसम्म चल्नेछ। महोत्सवलाई डीएआर मुभिज एण्ड फिल्मस् इण्डष्ट्रिजले आयोजना गरेको हो।महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गर्नुभयो। उद्घाटन गर्दै उपराष्ट्रपति पुनले लोकगीतमा इतिहास, पीडा, परिस्थिति कलात्मक तरिकाले प्रस्तुति हुने भएकाले वास्तविक अभिव्यक्ति त्यहाँ मात्र पाइने उल्लेख गर्नुभयो।उपराष्ट्रपति पुनले विभिन्न जातजाती, भूगोल, धर्म संस्कृतिमा गाइने लोकगीत संगीत देशको अमूल्य सम्पत्ति भएको बताउनुभयो। ‘कुनैबेला समुदाय विशेषका मेला, पाखा, वनजंगल, रोधी, चौतारी, विवाहलगायत विभिन्न उत्सवमा दोहोरी गीत गाउने चलन थियो’, उपराष्ट्रपति पुनले भन्नुभयो, ‘लोकदोहोरी आज गाउँबाट सहर पसेको छ। सहरमात्र होइन। विश्वका विभिन्न मुलुकमा पुगेको छ।’दोहोरी गीत सुन्दा जस्तो आनन्द, रोमाञ्चकता र उत्सुकता अरु गीतमा नहुने उहाँको भनाइ छ। विभिन्न जात–जातिका संस्कृति झल्कने झाँकी प्रदर्शनीसहितको र्याली माइतिघरदेखि सुरु भएर महोत्सव टुँडिखेलमा सुरु भएको हो।
मिथिला कलामा युवाको आकर्षण बढ्दो
लक्ष्मी चौधरीजनकपुरधाम, चैत २८ गते । जनकपुरधामस्थित सञ्चालित तीन दिवसीय साहित्य, कला तथा नाट्य महोत्सवमा युवाको मिथिला चित्रकलाप्रति आकर्षण तथा लगाव बढ्दै गएको देखिन्छ । युवाहरू अध्ययन अन्य विषयमा गरे पनि लगाव भने मिथिला चित्रकलातिर भएको बताउँछन् । मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा भइरहेको तीन दिवसीय उक्त महोत्सवमा मिथिला चित्रकला प्रदर्शनीमा आफ्ना कला प्रदर्शन गरिरहनुभएकी मनीषा साहले मिथिला लोक कलालाई मोर्डन मिथिला कलामार्फत प्रस्तुत गर्दै आइरहनुभएको छ । चित्रकलाप्रति युवाको आकर्षण बढिरहेको त्यसैअनुरूप बजार व्यवस्थापन भइदिएको भए आर्थिक रूपले पनि सबल हुने उहाँ बताउनुहुन्छ ।महोत्सवमा बनाएको चित्रकला प्रदर्शनी गरिरहनुभएकी २२ वर्षीया मनिका शाह आफ्नो उज्ज्वल भविष्य मिथिला चित्रकलामा नै देख्नुहुन्छ । कम्प्युटरमा डिप्लोमा गरे पनि मिथिला चित्रकलामै काम गर्न मन पराउने उहाँको भनाइ छ । मनीषा र मनिका दुवैजना भन्नुहुन्छ, “चित्रकलाबाट हामी सन्तुष्ट छौँ । महोत्सवमा आएका पाहुनाले कम्तीमा पनि चित्रकलाका स्टलमा भिजिट गरिदिए मिथिला कला प्रवद्र्धनमा निकै सहयोग पुग्ने उहाँहरू बताउनुहुन्छ । मिथिला चित्रकलाका साथै महोत्सवमा मैथिली भाषाका पुस्तक, मिथिला क्षेत्रका देवीदेवताका माटाका प्रतिमा समेत प्रदर्शनीमा राखिएको थियो ।
मधुपर्कका सम्पादक भट्टराई सम्मानित
शिवा तामाङकाठमाडौँ, चैत २८ गते । ललितकला पत्रकार समाज (सोफाज) ले ललितकला पत्रकारिता क्षेत्रमा योगदान गरेकालाई सम्मानित एवं पुरस्कृत गरेको छ । समाजद्वारा सोमवार राजधानीमा आयोजित कार्यक्रममा मधुपर्कका सम्पादक जयदेव भट्टराईलाई सोफाज ललितकला पत्रकारिता सम्मान प्रदान गरिएको छ ।त्यसैगरी पत्रकारद्वय सुशिला तामाङलाई सोफाज लक्ष्मीमाया कुमाले पुरस्कार, र नारायण ढुङ्गानालाई नारायणबहादुर सिंह पुरस्कार प्रदान गरिएको छ । सो अवसरमा सम्मान तथा पुरस्कार प्राप्त गर्नुहुने व्यक्तित्वहरू सबैलाई जनही एघार हजार १११ रूपियाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ ।कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले कलाकारिता र इन्जिनियरिङ विषय एकअर्कासँग जोडिएको विषय भएको बताउनुभयो । पुस्तौंदेखि कलालाई व्यवसायिक रूपमा गरिरहनुभएका कलाकारलाई आफ्नै घरमा कला सिर्जना गर्दा प्रयोगात्मक अभ्यास गर्न पाउनेगरी कलाका पाठ्यक्रम तयार गरी उहाँहरूलाई सैदान्तिक र शैक्षिक योग्यतासहित अगाडि बढ्न मौका दिनुपर्ने बताउनुभयो ।कार्यक्रममा सम्मानित व्यक्तित्व मधुपर्कका सम्पादक जयदेव भट्टराईले ललितकला पत्रकार समाजले सम्झेर सम्मानित गरेर आफुलाई काम गर्न थप प्रेरित गरेको बताउनुभयो । समाजका अध्यक्ष केशवराज खनालले ललितकला पत्रकारितामा कलम चलाउने पत्रकार तथा यस कर्मका लागि प्रेरित गर्ने व्यक्तित्वलाई हौसला प्रदान गर्न समाजले विगत सात वर्षदेखि पुरस्कार प्रदान गर्दैआएको बताउनुभयो ।समाजका उपाध्यक्ष मधु शाहीले ललितकला विधामा पत्रकार खोज्नुपर्ने सङ्ख्यामा रहेको बताउनुभयो । यस विधामा पत्रकार कम टिक्ने, कलाकार, कलाक्षेत्रको साझा प्रयासले पत्रकारलाई प्रेरित गर्नुपर्ने उहाँको भनाई छ ।