असी वसन्तको उकालो चढसेकेकी आमा डाडाँमाथिको जूनझैँ पिँढीको डिलमा बसेर अतीतका दिन गन्ती गर्दैछिन् । घरमा दुई बूढाबूढी मात्रै छन् । घरको काम सघाउन बीसौँ वर्षदेखि बसेकी बालविधवा वसन्तीले भने अझै साथ छाडेकी छैनन् । घर ठूलै छ । दुवै तलामा बस्ने डेरावालसित कुनै सम्पर्क छैन । भाडा बुझ्ने बुझाउने बेलामा पनि वसन्तीले नै कुरा मिलाउँछिन् । दुई छोरा दुई छोरी समेत चार सन्तान हुन् उनीहरूका । चारै सन्तान विदेशिएको वर्षौं भयो । अन्डा कोरल्ने र हुर्काउने कर्तव्य सुम्पेको छ नियतीले । पखेटा लागेपछि नौ डाँडा काटेर जान्छन् माउलाई चटक्कै बिर्सेर । दुःखजिलो गरेर छोराछोरीको हातखुट्टा लगाइदिए, हुर्काए पढाए र जान्ने सुन्ने बनाए । बाबु आमालाई बिर्से परदेशी भए ।