• १४ वैशाख २०८१, शुक्रबार

पर्यटन व्यवसायी नै पदयात्रामा

blog

तानसेन समाचारदाता

पाल्पा, साउन १६ गते । आन्तरिक तथा बाह्य पर्यटकलाई नयाँ गन्तव्यसम्म पु-याउन पदयात्रा सुरु गरिएको छ। जिल्लाका विभिन्न स्थानमा रहेका नयाँ पर्यटकीय स्थलको पहिचान र प्रचारप्रसार गर्ने उद्देश्यले पर्यटन व्यवसायीकोपदयात्रा सुरु गरिएको हो। 

पहिचानमा नआएका तथा पर्यटकलाई आकर्षित गर्न सम्भावना बोकेका स्थलसम्म जिल्लाका पर्यटन व्यवसायी, लुम्बिनी प्रदेशका रुपन्देही र कपिलवस्तु तथा भारतका विभिन्न स्थानका पर्यटन व्यवसायीलाई पदयात्रामा सहभागी बनाइएको छ। हरेक साताको एक दिन पर्यटन व्यवसायी नै पदयात्रा गर्दै नयाँ गन्तव्यमा पुगेर ती स्थानको पर्यटन सम्भावना र अवसरका बारेमा जानकारी लिने काम भइरहेको छ। यसले पाल्पामा आएका पर्यटकलाई जिल्लाको नयाँ पर्यटकीय गन्तव्य चिनाउन तथा प्रचारप्रसारमा सहयोग पुग्ने नेपाल एसोसिएसन टुर्स एन्ड ट्राभल्स (नाटा) पाल्पाका अध्यक्ष राजीवकुमार शाहले जानकारी दिनुभयो। 

नाटाले यो वर्ष पाल्पाका १२ नयाँ गन्तव्यस्थलमा पर्यटन व्यवसायीलाई पदयात्रामा सहभागी बनाउने योजना बनाएको नाटा पाल्पाका सल्लाहकार सागरमान महर्जनले बताउनुभयो। पदयात्राका लागि सांस्कृतिक पहिचान, प्राकृतिक सौन्दर्यता, धार्मिक एवं सांस्कृतिक स्थल, ऐतिहासिक स्थललाई छनोट गरिएको छ। 

पदयात्राले पर्यटन व्यवसायीलाई समेत उत्साहित बनाएको छ। हरेक दिन पर्यटकको व्यवस्थापनमा खटिएका पर्यटन व्यवसायीलाई स्वयं आफू नै पदयात्रामा सहभागी भएर नयाँ स्थानबारे जान्न पाउँदा खुसी लागेको तानसेनस्थित श्रीनगर होटलका प्रबन्धक अशोक थापाले बताउनुभयो। पदयात्राबाट फर्किएपछि होटलमा बस्न आउन स्वदेश तथा विदेशी पर्यटकलाई आफूले जानेको नयाँ पर्यटकीय स्थलमा समेत घुम्न जानका लागि सूचना दिने उहाँले बताउनुभयो। 

पर्यटन व्यवसायीको पदयात्राबाट स्थानीय तहका जनप्रतिनिधिसमेत उत्साहित बनेका छन्। पर्यटन व्यवसायीको पदयात्राले ग्रामीण भेगमा लुकेर रहेका पर्यटकीय स्थलको प्रचारप्रसारमा सहयोग पुग्ने बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो। पदयात्रालाई निरन्तरता दिन सके त्यसले ग्रामीण पर्यटनलाई सघाउ पु¥याउने उहाँको धारणा रहेको छ।