• १४ वैशाख २०८१, शुक्रबार

कांग्रेस केन्द्रीय समितिको बैठकमा नयाँ प्रयोग भयो : अर्थमन्त्री डा. महत

blog

प्रेस युनियन रुपन्देहीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री तथा पार्टी प्रवक्ता डा. प्रकाशशरण महत ।

भैरहवा, साउन ८ गते । अर्थमन्त्री तथा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा सदस्यले बोल्ने क्रम आज सकिने र मङ्गलबारसम्म प्रस्ताव पारित गरिने बताउनुभएको छ ।

प्रेस युनियन रुपन्देहीले सोमबार बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै डा. महतले भन्नुभयो, ‘‘केन्द्रीय कमिटीको बैठकलाई यसपटक कांग्रेसले जनतासँग जोड्ने नयाँ प्रयोग गरेको छ ।’’

मन्त्री डा. महतले प्रत्यक्ष प्रसारणको धेरै सकारात्मक प्रतिक्रिया आइरहेको बताउनुभयो । मन्त्री डा. महतले नेपाली कांग्रेसभित्र के भइरहेको छ भनेर भ्रम र अन्योल सिर्जना गर्ने प्रयास हुन्थ्यो, तर प्रत्यक्ष प्रसारणसहितको बैठकले नेपाली कांग्रेसभित्रको यथार्थ स्थिति के हाे भन्ने कुरा स्पष्ट भएको जानकारी दिनुभयो ।

केन्द्रीय समितिमा एकदमै सिर्जनात्मक छलफल भएको छ । मन्त्री डा. महतका अनुसार व्यक्ति होइन, पार्टीलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्न सकिन्छ र देशको समसामयिक मुद्दालाई सम्बोधन गर्दै समयानुकूल गतिशील कसरी बनाउने र पार्टीभित्र कसरी अनुशासन कायम राख्दै बैठकले जे निष्कर्ष निकाल्छ त्यसलाई सबैले अपनत्व ग्रहण गरेर अगाडि बढ्ने बैठकमा छलफल भएको छ ।

छलफलमा चाँडै नीति अधिवेशन गर्ने प्रस्ताव छ, विभिन्न राष्ट्रिय मुद्दामा आफ्नो दृष्टिकोण आउँछ, पार्टीका हरेक निकाय क्रियाशील गराउनका लागि कार्यक्रम तालिका पनि प्रस्ताव गरिएको र यी सबै प्रस्ताव पारित हुने मन्त्री डा. महतले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘गठबन्धन सरकारमा सुशासन केन्द्रबिन्दु राख्नुपर्ने पार्टीको मान्यता छ, यही मान्यतासँग उच्च मनोबलका साथ जनता र देशलाई केन्द्रबिन्दुमा राख्नुपर्ने सर्भिस दिनुपर्छ ।’’

देखिएको समस्या सम्बोधन गर्नुहुँदै देशलाई आर्थिक समृद्धि र विकासको बाटोमा हिँडाउनुपर्ने मूल उद्देश्यका साथ काम गरिरहेको मन्त्री डा. महतले बताउनुभयो । तत्काल बजेट पुगेन, यता भएन, उता भएन जस्तो देखिन्छ, तर दीर्घकालमा परिणाम आउने गरी काम गरिरहेको मन्त्री डा. महतको भनाइ छ ।

आवश्यक भएको सुधारका कार्यक्रम अगाडि बढाउने, अर्थतन्त्र चलायमान बनाएर राजस्वको आधार विस्तार गर्ने र राज्यको लगानी गर्ने क्षमता वृद्धि गर्नेतिर नै उन्मुख रहेको मन्त्री डा. महतको भनाइ छ । यसपटक स्रोतको कमीले धेरै विनियोजन प्रस्ताव गर्न नसकिएको यद्यपि आउँदा दिनमा त्यसको बाटो खोजी भइरहेको मन्त्री डा. महतले बताउनुभयो ।

‘‘मौद्रिक नीति सार्वजनिक भएको छ । ब्याजदरमा केही खुकुलोपन प्रस्ताव भएको छ । सुधारका केही पहल भएका छन्, त्यसले निजी क्षेत्रमा जाने लगानी सहज हुनेछ ।,’’ मन्त्री डा. महतले भन्नुभयो, ‘‘ब्याजदर कम भएर जान्छ, त्यसले लगानीको वातावरण सहज बन्नेछ ।’’

‘‘वित्तीय र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनिश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने, मूल्यवृद्धि समग्रमा घटेको छ ।,’’ मन्त्री डा. महतले भन्नुभयो, ‘‘विसङ्गति चिर्दै जाने र समस्यालाई हल गर्दै जाने बाटोमा हामी अगाडि बढेका छौं ।’’