• १५ वैशाख २०८१, शनिबार

लुम्बिनी क्याम्पसलाई विश्वविद्यालय बनाइने

blog

बुटवल समाचारदाता

बुटवल, असार २५ गते । बुटवलमा ४३ वर्षअघि स्थापना भएको लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय र बहुसङ्काय क्याम्पसका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। विश्वविद्यालयको मान्यता दिनका लागि योग्यता निकट पुगेको अर्थात् मान्यता लिन अग्रसर अवस्थालाई मानित विश्वविद्यालय भनिन्छ। 

क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को १३ औँ सभामा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोतीलाल पाण्डेले उक्त योजना अघि बढाइएको बताउनुभयो। 

क्याम्पस सभामा अध्यक्ष पाण्डेले हाल व्यवस्थापन सङ्कायको मात्र पठनपाठन हुँदै आएकोमा भविष्यमा मानित विश्वविद्यालयका रूपमा स्थापित गर्दै विज्ञान तथा प्रविधि सङ्काय थप गरी बहुसङ्काय क्याम्पसका रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो। 

अध्यक्ष पाण्डेले क्याम्पसलाई मानित विश्वविद्यालयका रूपमा स्थापित गर्न बुटवल १२ तामनगरस्थित चारपाला सामुदायिक वनको ३० बिघा जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको र जग्गा प्राप्त भएपछि विश्वविद्यालयका लागि आवश्यक संरचना निर्माण गरिने जानकारी दिनुभयो। क्याम्पसले हाल त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति प्राप्त गरी पाँच वटा स्वायत्त कार्यक्रम सञ्चालन गरिरहेको छ। 

क्याम्पसका अनुसार सेमेस्टर प्रणालीमा आधारित दुई वर्षे मास्टर अफ म्यानेजमेन्ट स्टडिज र चार वर्षे ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन इन इन्फरमेसन टेक्नोलोजी सञ्चालनका लागि पाठ्यक्रम निर्माण गरी त्रिभुवन विश्वविद्यालयमा पेस गरिसकिएको छ।

क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायले सबै सङ्कायमा गरी तीन हजार २१२ जना विद्यार्थी अध्ययनरत क्याम्पसले हालसम्म २०६८ र २०७५ सालमा गरी दुई पटक विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (क्युएए) प्राप्त गर्न सफल भएको बताउनुभयो। 

तत्कालीन बुटवल नगर पञ्चायत तथा बुटवलका उद्योगी व्यवसायीको अग्रसरतामा २०३७ सालमा लुम्बिनी व्यवस्थापन अध्ययन संस्थानको नामबाट अनौपचारिक कक्षा सञ्चालन गरेको लुम्बिनी वाणिज्य क्याम्पसले २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी आई.कम कक्षा सुरु गरेको थियो।

पाँच वर्षपछि २०४२ सालमा स्नातक तहको बी.कम र २०५७ सालमा स्नातकोत्तर तहको एमबीएस कक्षा सञ्चालन गरेको क्याम्पस २०६३ सालमा ए स्किममा पर्न सफल भएको थियो। क्याम्पस प्रमुख उपाध्यायले व्यवस्थापन विषय अध्यापन गराउने यो क्याम्पस लुम्बिनी प्रदेशमा मात्र नभई देशकै उत्कृष्ट क्याम्पस रहेको दाबी गर्नुभयो। 

उपाध्यायका अनुसार २०७५ सालमा देशभरका सामुदायिक क्याम्पसमध्ये सर्वोत्कृष्ट बनेको लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमै उत्कृष्ट नतिजासहित १९ पटक गोल्डमेडल प्राप्त गरेका छन्।