किसानको साथी ‘लघु महाचील’को अध्ययन हुँदै

चाँदनी हमाल

काठमाडौँ, चैत ११ गते । सङ्कटापन्न लघु महाचीलको रहनसहनको अध्ययन शुक्रबारबाट सुरु भएको छ । मुसा खाएर खेतीपातीमा किसानलाई सघाउने हुँदा लघु चीललाई ‘किसानको साथी’ पनि भनिन्छ ।
पहिलो चरणमा शुक्रबारबाट लुम्बिनी क्षेत्रका लघु महाचीलमा स्याटलाइट ट्रान्समिटर जडान थालिएको वरिष्ठ चराविज्ञ डा.तुलसी सुवेदीले जानकारी दिनुभयो । लुम्बिनीपछि कोशी क्षेत्र र त्यसपछि धनुषा क्षेत्रका लघु महाचीलको अध्ययन गर्न ट्रान्समिटर जडान गरिने उहाँले जानकारी दिनुभयो । laghu chil तस्बीर साैजन्य प्रविन जाेशी
डा. सुवेदीसहित वरिष्ठ चराविज्ञ डा. हेमसागर बराल, चराविद् सन्देश गुरुङ तथा प्राविधिक सहितको टोली यतिबेला काठमाडौँबाट लुम्बिनी पुगेर लघु महाचील खोजीमा जुट्नु भएको छ ।
महाचील प्रजाति अन्तर्गत पर्ने लघु महाचीलको बासस्थान राम्रो रहेको मानिने सो क्षेत्रमा यसअघि उसको आहारा तथा आनीबानीबारे अध्ययन भएको थियो ।
“लघु महाचीललाई स्याटलाइट ट्रान्समिटर जडान गरी छाड्छौं”, चराविद् डा. सुवेदीले भन्नुभयो, “चीललाई अप्ठेरो नपर्नेगरी हार्नेस फित्ताले ढाडमा बाँधेर छाड्नेछौं ।”
सोलार शक्तिबाट चल्ने ट्रान्समिटरमा जडान गरिएको जीपीएस सिस्टमले चीलको गति, पुगेको स्थान र गतिविधिबारे जानकारी गराउने उहाँले बताउनुभयो । जम्मा ४० ग्रामको ट्रान्स मिटरको सहायताले विश्वका जुनसुकै कुनाबाट इन्टरनेटको माध्यमबाट चीलको अध्ययन गर्न सकिन्छ ।
चीलका २२ जातिमध्ये महाचील प्रजाति अन्तर्गत जीवाहार महाचील, राज महाचील, गोमाइ महाचील, रणमत्त महाचील, सुवर्ण महाचील र लघु महाचील गरी छ प्रजाति छन् ।
लघु महाचील सहितका यी छ प्रजातिका चील आईयूसीएनमा विश्वकै सङ्कटापन्न चराको सूचीमा सूचीकृत छन् । सन् २०१६ को एक अध्ययन अनुसार नेपालमा लघु महाचीलको सङ्ख्या करिब ३० देखि ७० रहेको छ ।
स्तनधारी साना जीवको सिकार गर्ने सिकारी चराका रूपमा लघु चीललाई लिइन्छ । नेपाल र भारतीय महाद्वीपमा पाइने लघु महाचीलको आवतजावत र रहनसहनको अवस्था बुझ्न यसरी अध्ययन सुरु गरिएको वरिष्ठ चराविज्ञ डा. हेमसागर बराल बताउनुहुन्छ ।
यसरी अध्ययन गर्दा लघु चीलको संरक्षण गर्न योजना बनाउन सहज हुने उहाँले उल्लेख गर्नुभयो । “नेपालमा मात्र बस्छ वा अन्यदेशमा पनि विचरण गर्छ भन्ने अन्योल छ,” बरालले थप्नुभयो, “कता जान्छ, के गर्छ, बच्चा कसरी कोरल्छ आदि तथ्याङ्क थाहा पाउन अध्ययनले सघाउँछ ।”
चार किलोदेखि पाँचकिलोसम्मको तौल हुने लघु महाचीलको आहारा विनास यसको सङ्कटको मुख्य कारण रहेको बराल बताउनुहुन्छ । जमिनको खण्डीकरण, वन विनास, परम्परागत अर्गानिक खेतीको सट्टा विषादीको प्रयोग जस्ता कारणले लघु महाचीलको बासस्थानमै सङ्कट आएको उहाँले बताउनुभयो ।
“जङ्गलमा भन्दा खुला स्थानमा स्वतन्त्र रम्न चाहने चील हो तर मानव वस्तीको घना विकासले यसको चहलपहल गर्ने स्थानमै सङ्कट ल्याइदिएको छ,” चराविज्ञ सुवेदीेले भन्नुभयो, “यसले गर्दा आफू पायकको स्थान खोजीमा बासस्थान फेर्छ वा मर्छ त्यो अध्ययनबाटै पत्ता लाग्छ ।”
खाद्य चक्रको माथिल्लो तहमा रहेको मांसाहारी सिकारी चरा लघु महाचीलको विनास हुँदा मानव जातिको अस्तित्वमा समेत खतरा उत्पन्न हुने अनुमान चराविज्ञहरू गर्छन् ।
लघु महाचीलको जीवनमा बढ्दै गएको चुनौतीको विश्लेषण गरी संरक्षणका लागि पहल गरिने विज्ञ बताउँछन् ।
नेपालको लघु महाचीलको अध्ययनमा कोरिया इन्स्टिच्यूट अफ इन्भायरमेन्ट इकोलोजी र ओरियन्टल बर्डस् क्लबले सहयोग गरेको छ ।
आयूसीएनका अनुसार लघु महाचील बाहेक नेपालमा राज महाचील सबैभन्दा कम करिब १० वटा मात्र छन् । त्यसपछि रणमत्त महाचील १० देखि ३५ र जीवाहार महाचील २० देखि १००, गोमायु महाचील १० हजारदेखि २० हजार र सुवर्ण महाचील १०० देखि २०० रहेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds