फाइबर बिछ्याउने जिम्मा चिनियाँ कम्पनीलाई


विश्वास रेग्मी

काठमाडौँ, चैत ८ गते । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणबाट पाए जिम्मेवारी पाएको प्रदेश एक, दुई र तीनमध्ये दुई र तीनमा अप्टिकल बिछ्याउने प्रक्रिया अघि बढाएको हो । यो बिछ्याउनका लागि आवश्यक उपकरण उपलब्ध गराउने कम्पनीसँग यसै साता ठेक्का सम्झौता पूरा भएको कम्पनीका प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो । प्रदेश दुई र तीनका लागि सप्लायर्ससँगै यसै हप्ता सम्झौता पूरा भएको छ, उहाँले भन्नुभयो । बाँकी रहेको प्रदेश एकमा पनि यसै हप्ताभित्र सम्झौता गर्ने अन्तिम तयारी छ ।
टेलिकमले प्रदेश तीनका लागि आवश्यक उपकरण उपलब्ध गराउन चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल (सीसीएसआई)सँग सम्झौता गरेको हो । सीसीएसआईले टेलिकमको फोरजी विस्तारका लागि आवश्यक नेटवर्क उपकरण उपलब्ध गराउने जिम्मेवारीसमेत पाएको छ । त्यस्तै प्रदेश दुईमा आरोग्य कन्स्ट्रक्सन र चाइना रेल्वेको जोइन्ट भेन्चरलाई जिम्मा दिइएको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै कम्पनीसँग भएको सम्झौतामा १८ महिनाभित्रै अप्टिकल बिछ्याउने सहमति भएको छ । दूरसञ्चार प्राधिकरणले टेलिकमसँगको सम्झौतामा दुई वर्षभित्र फाइबर बिछ्याउने काम पूरा गर्नुपर्ने सर्त तोकेको थियो । टेलिकमले सो सर्तअघि नै काम पूरा गर्ने गरी ठेक्का प्राप्त कम्पनीसँग सहमति गरेको हो । fiver
सम्झौतापछि कम्पनीले वस्तु तथा उपकरण आयातका लागि अनुमति प्रदान गर्नेछ । त्यसपछि ठेक्का प्राप्त कम्पनीले एलसी खोलेर उपकरण आयातको प्रक्रिया अघि बढाउनेछ । यसका लागि अब करिब तीन महिना लाग्ने अनुमान छ । त्यसैअनुसार तीन महिनापछि मात्रै सम्बन्धित ठाउँमै गएर अप्टिकल बिछ्याउने काम शुरु हुनेछ ।
प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमा सङ्कलित रकमको उपयोग गरेर देशैभर अप्टिकल बिछ्याउने योजनाअन्तर्गत टेलिकमलाई तीनवटा प्रदेशको जिम्मेवारी दिएको थियो । २०७३ साल असोज १२ गते प्राधिकरण र टेलिकमबीच सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौतामा टेलिकमलाई फाइबर बिछ्याउन चार अर्ब ८८ करोड रुपियाँ उपलब्ध गराउने उल्लेख थियो । उक्त सम्झौताअनुसार टेलिकमले पाँचथरको चियोभञ्ज्याङदेखि धादिङको आरुघाटसम्मको मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउनेछ ।
तीनवटै प्रदेशका ३२ जिल्लाका सदरमुकाममा पनि कम्पनीले फाइबर बिछ्याउनुपर्नेछ । सबै गरेर टेलिकमले दुई हजार ३७६ किलोमिटर फाईबर बिछ्याउनेछ । त्यसमध्ये एक हजार ६६० किलोमिटर भूमिगत गर्नुपर्नेछ ।
देशैभर उच्च गतिको ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने सरकारी नीतिअनुसार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम पूर्वाधार निर्माणमा लगाउँदै आएको छ । अप्टिकल फाइबर बिछ्याउने परियोजना सम्पन्न भएपछि देशका सबै ठाउँ उच्च गतिको इन्टरनेटको पहुँचमा पुग्ने अपेक्षा लिइएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds