• १५ वैशाख २०८१, शनिबार

गल्ने र नगल्ने फोहोर राख्न 'वेष्टविन'

blog

नागरिकलाई वेष्टविन प्रदान गर्दै नगर प्रमुख चौधरीलगायतका अतिथिहरु ।

लीलाधर वली

घोराही, जेठ १८ गते । दाङको घोराहीमा गल्ने र नगल्ने फोहोर वर्गीकरण घरबाटै गर्ने अभियानको सुरुवात भएको छ । अभियानअन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. १४ को गोरखा टोल विकास संस्थाका ६० घरधुरीलाई गल्ने फोहोर राख्नका लागि वेष्टविन प्रदान गरिएको हो । 

घोराही उपमहानगरपालिकाको गल्ने फोहोर व्यवस्थापनका लागि जापान सरकार तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपीको सहयोगमा वडा नं. १४ र १५ का करिब १२ सय घरधुरीलाई उक्त वेष्टविन प्रदान गरिने भएको छ । 

सहरलाई सफा र स्वच्छ राख्ने र गल्ने फोहोरबाट ग्याँस उत्पादनका लागि घरबाटै फोहोर वर्गीकरण अभियान सुरु गरिएको र त्यसका लागि वडा नं. १४ र १५ मा फोहोर सङ्कलनका लागि वेष्टविन प्रदान गरिएको बताउनुभयो । उपमहानगरपालिकाले प्रदान गरेका वेष्टविनमा गल्ने फोहोर मात्रै राख्नुपर्ने सरसफाइ व्यवस्थापन शाखाका प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिनुभएको छ । 

शाखा प्रमुख अधिकारीले भन्नुभयो, "फोहोर वर्गीकरण गरेर गल्ने फोहोर राख्नका लागि वेष्टविन प्रदान गरेका छौँ ।" 

वेष्टविन घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले टोल विकास संस्थाका सदस्यलाई प्रदान गर्नुभएको थियो । सामग्री प्रदान गर्दै नगर प्रमुख चौधरीले गल्ने फोहोर र नगल्ने फोहोर छुट्याएर राख्न अनुरोध गर्दै नगल्ने फोहोर घरमा व्यवस्थापन गरेर राखे उपमहानगरपालिकाले खरिद गरिदिने बताउनुभएको थियो । नगर प्रमुख चौधरीले भन्नुभयो, "गल्ने र नगल्ने फोहोरलाई छुट्याएर राख्नुहोस् । गल्ने फोहोर बायो ग्याँस र मल उत्पादनका लागि लाग्छाै‌ भने नगल्ने फोहोर पैसा तिरेर नगरले खरिद गर्ने गर्दछ ।" 

फोहोरको वर्गीकरण गरेर उपमहानगरपालिकाले खरिद गर्न अघिल्लो वर्षदेखि सुरु गरेपनि विक्रीका लागि उपभोक्ताहरूले सङ्कलन भने गर्ने गरेका छैनन् । जसले गर्दा घोराहीमा दैनिक २० टन फोहोर उठ्ने गरेको छ । त्यसका लागि नगरले निश्चित बार तोकेर गल्ने र नगल्ने फोहोर उठाउनका गाडी सञ्चालन गर्दै आएको छ ।