• १५ वैशाख २०८१, शनिबार

हिमपहिरोमा परेका आमाछोरासहित तीन जनाको सनाखत

blog

हिमपहिरोबाट वेपत्ता भएकाको खोजी कार्यमा जुटेका सुरक्षाकर्मीहरु । तस्बिर : जिल्ला प्रहरी कार्यालय, दार्चुला

प्रकाशविक्रम शाह/गोकर्ण दयाल

धनगढी, वैशाख २० गते । दार्चुलाको व्याँस गाउँपालिका –१, भोलेनमा मंगलबार दिउँसो हिमपहिरो खस्दा वेपत्ता भएका पाँच जनामध्ये तीन जनाको शव फेला परेको छ । तीनै जनाको सनाखत भएको छ । दार्चुला दुहँ गाउँपालिका –४, का १८ वर्षीय प्रवीण कुँवर, उहाँकी आमा ३६ वर्षीय कमला कुँवर र डोटीको जोरायल गाउँपालिका –२, बुडरका ४५ वर्षीय नक्कीडोमा थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेयले बताउनुभयो । 

अझै वेपत्ता रहनेमा दार्चुला दुहँु गाउँपालिका –४, का १५ वर्षीय छिमी साम्मो थापा र २८ वर्षीय ईश्वरी थापा रहेका छन् ।  फेला परेका शव घटनास्थलभन्दा अन्दाजी छ सय मिटर पर खोल्सामा भेटिएका हुन् । उनीहरुको शव भोली हेलिकोप्टरबाट लिने कि भारतको सडकमार्गबाट भन्ने गृह मन्त्रालयले निर्णय गर्ने पनि प्रनाउ पाण्डेयले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार वर्षा र हिमपात रोकिएको छैन, त्यसले पनि वेपत्ताको खोजी कार्यमा कठिनाइ भएको छ । वेपत्ताको खोजी कार्यमा सशस्त्र प्रहरी बल नेपालका ३० जना र नेपाल प्रहरीका पाँच जना गरेर ३५ जना सुरक्षाकर्मी घटनास्थलमा खटिएका छन् ।”  


मंगलबार अपरान्ह व्यास गाउँपाकिला –१, नाम्पा पाटन नजिक यार्चागुम्बा संकलनका लागि गएका १३ जना त्रिपाल टागेर बसेका बेला माथिबाट हिमपहिरो आएको बताइएको छ ।    

पहिरोमा हराएको भनिएकामध्ये दुहुँ गाउँपालिका –४ पोक्से बस्ने ३६ वर्षीया कलावती कार्की, १८ वर्षीय अर्जुन कार्की, डोटी जोरायल गाउँपालिका –२, बुडरका ३६ वर्षीय फुर्पा थापा, डोटीकै २६ वर्षीय छप्तेन थापा, २६ वर्षीय पासाङ छुम्तेल विष्ट, ३१ वर्षीय थुतेङ थापा, हुम्ला जिल्लाको लाखा गाउँपाकिला –५, का २० वर्षीय लाक्या ग्याल्बु तामाङ र  दार्चुला नौगाड गाउँपालिका –२, दल्लेखका  ५० वर्षीय ललितसिंह विष्ट भने मंगलबार साँझ नै सम्पर्कमा आउनुभएको थियो ।