• १४ वैशाख २०८१, शुक्रबार

वर्षाले चिसो बढेसँगै गहुँ पाक्न ढिलाइ

blog

अमरगढी समाचारदाता 

डडेलधुरा, वैशाख २० गते । तीन दिनदेखि लगातार वर्षा भएसँगै पहाडी क्षेत्रमा चिसो बढेको छ। चिसोका कारण गहुँ पाक्न ढिलाइ भएको छ। पाकेको गहुँ बाली थन्क्याउन पनि समस्या भएको गुनासो किसानको छ। डडेल्धुरा जिल्ला सदरमुकाममा पछिल्लो २४ घण्टामा झन्डै ४५ मिलिमिटर वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभाग हावापानी फिल्ड कार्यालयको यन्त्रमा मापन भएअनुसार पछिल्लो २४ घण्टा सोमबार बिहान ८:४५ बजेदेखि मङ्गलबार बिहान ८:४५ बजेसम्म ४४ दशमलव ८ मिलिमिटर वर्षा भएको छ। डडेलधुरामा कुहिरोसहित वर्षा भइरहेको छ। 

लगातारको वर्षापछि मध्यपहाडी जिल्ला डडेलधुराको तापमान समेत घटेको छ। अहिले डडेलधुराको अधिकतम तापमान १७ डिग्री सेल्सियस छ भने न्यूनतम तापमान ९ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ। गत चैत महिनामै उच्चतम तापमान ३० डिग्री सेल्सियससम्म पुगेको डडेलधुरामा वर्षापछि तापमान ओरालो लागेको हो। 

चिसो बढेकाले पहाडी क्षेत्रका खेतबारीमा लगाइएको गहुँ र जौ बाली पाक्न र पाकेको बाली पनि भित्र्याउन समस्या भएको छ। मकै छर्ने समय भइसकेको छ तर वर्षासँगै चिसोले गहुँ, जौ खेती पाक्न ढिलाइ भएको स्थानीय जयबहादुर भाटले बताउनुभयो। 

उहाँले भन्नुभयो, “चैत महिनाको दोस्रो साता भएको वर्षाले खेतीपातीलाई केही राहत भयो। तर हाल लगातारको वर्षाले साग तरकारी र मकै, भटमासका लागि राम्रो भए पनि गहुँ र जौ पाक्न ढिलाइ भएको छ। चैत, वैशाख महिनामा पाक्ने काफलसमेत यस वर्ष पाक्न नसकेको उहाँले बताउनुभयो। 

हावापानी फिल्ड कार्यालय डडेलधुराका प्रमुख श्याम सुनारका अनुसार आगामी बुधबारसम्म वर्षा जारी रहने भए पनि मङ्गलबार बेलुकीदेखि केही बदली भई कम हुँदै जाने पूर्वानुमान छ। 

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थान र अन्य पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। 

जल तथा मौसम विज्ञान विभागले मङ्गलबार बिहान जारी गरेको सूचनाअनुसार देशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागमा एक÷दुई स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको  सम्भावना रहेको छ।