बालाचतुर्दशी पर्व आज

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २० गते । मार्ग कृष्ण चतुर्दशीका दिन बिहीबार मृतक आफन्तको आत्माले बैकुण्ठबास गरोेस् भन्ने कामनाका साथ पशुपतिस्थित श्लेषमान्तक वन र मृगस्थलीमा सातथरीका बीउ छरेर बालाचतुर्दशी पर्व मनाइँदैछ ।
बालासुर नामका व्यक्तिले मानिसको मासु खान थालेपछि उनकै मितद्वारा असुरको बध भएको र दुनियाँलाई सुख मिलेको कथा प्रसङ्ग यो दिनसँग जोडिएको छ । मितको हत्या गरेर भौँतारिएका हत्यारालाई महादेवले मृगस्थलीमा सत्वीज छरेमा दोष टर्छ भनेकाले यो दिन सत्वीज छर्न थालिएको भनिन्छ ।
धान, मकै, कोदो, गहुँ, रायो, सस्र्युँ र मास वा आफूखुशी सङ्ग्रह गरिएका सात् थरी बीउ यो दिनमा छरिन्छ । आशौच बारेकाले सत्वीज छर्ने र आशौच चोख्याएकाले महादीप बाल्ने चलन छ । बुधबार आशौच चोख्याएकाहरूले कैलास, मृगस्थली र पशुपति क्षेत्रका यावत् भागमा महादीप बाले । यसै सिलसिलामा पशुपतिनाथको ढुकुटीमा रहेको एकमुखे रुद्राक्ष, नागमणि लगायतका मणिमाणिक्य प्रदर्शन गरिएको छ । मणिमाणिक्यलाई वर्षदिनका लागि शुक्रबार नै ढुकुटी दाखिला गरिँदैछ ।
पशुपति गुठी गोश्वारा कार्यालयका वरिष्ठ लेखा सहायक युवराज रेग्मीका अनुसार महादीप बाल्न आएका सबैलाई मणिमाणिक्य देखाइएको छ । यी मणिमाणिक्य दुरुस्त छन् भनेर यसै दिन देखाउने चलन छ । मूलभण्डारी कविन्द्रलाल राजभण्डारी र नाथका विसेट नाइके अरुण श्रेष्ठ मन्दिरको दोस्रो तलामा रहेको ढुकुटी प्रवेश गर्नुभएको थियो ।
ढुकुटीमा दाखिला होस् भनी भक्तजनले नाथलाई चढाएका छुट्टै नगद जिन्सीको पनि जोखतौल नापजाँच गरिँदैछ । धातुको परीक्षण गर्न गोश्वाराले बाँडा श्रीरत्न शाक्यलाई खटाएको छ । पशुपतिनाथका कोटवाल पूर्णनारायण जोशीका अनुसार ढुकुटीमा थन्क्याउने दिन पनि यी मणिमाणिक्य देखाइन्छ ।
भूकम्पले सत्तल भत्किएको र पुनःनिर्माणको क्रममा रहेकोले पशुपति क्षेत्र विकास कोषले यत्रतत्र स्थानमा त्रिपालको व्यवस्था गरेर श्रद्धालुलाई रातबस्ने व्यवस्था मिलाएको छ । अमालकोटले अमाल परिसर, महास्नानघर र पशुपति गोश्वाराले आफ्नो भवनमा समेत भक्तजनलाई रात बस्ने व्यवस्था मिलाएको थियो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds