• १५ वैशाख २०८१, शनिबार

चीनतर्फका नाका खुला हुने

blog

काठमाडौँ, वैशाख १८ गते ।   लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका सोमबारदेखि खुला हुने भएका छन् । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच गत चैतमा चीनमा भएको भेटका क्रममा (मे १) वैशाख १८ गतेदेखि चीनतर्फका सबै नाका खुला गर्ने सहमति भएअनुसार नाका खुल्न लागेका हुन् । 

भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको कोदारी नाका र हुम्लाको यारी नाकालगायतका अन्य सबै नाका सोमबारदेखि खुला हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । चीनतर्फका नाकाहरूमा मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला रहेका छन् । मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी र डोल्पाको उत्तरी नाकासमेत खुला हुने मन्त्रालयले जनाएको छ । 

चीनतर्फका व्यापारिक नाका रसुवाको केरुङ, कोदारी र यारी रहेका हुन् । केरुङ र कोदारी नाकाबाट सामान आयात निर्यात धेरै हुने गर्छ । हुम्लाको यारी नाकाबाट समेत सामानको आयात हुने गर्छ । २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण तातोपानी नाका लामो समयदेखि बन्द रहेको थियो । सो नाकाबाट बीचमा कार्गो सामान आयात भए पनि नाका पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन ।

सरकारले २०७६ चैत ११ गते कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि लकडाउन गरेपछि बन्द रहेको चीनतर्फको रसुवागढी–केरुङ नाका बन्द रहेको थियो ।