• ६ चैत २०८०, मङ्गलबार

पुनर्निर्माण गरेर घरमा ताला

blog

सुजन काफ्ले 

चरीकोट, वैशाख १२ गते । भूकम्पले क्षतिग्रस्त बनाएका घर पुनर्निर्माण भए पनि दोलखाका गाउँ छाडेर सहर छिर्ने क्रम बढ्दै गएको छ। वि.सं. २०७२ वैशाख १२ को भूकम्प र वैशाख २९ को परकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये दोलखा पनि एक हो। वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु गोरखा भए पनि २९ गतेको भूकम्पको केन्द्रबिन्दु भने दोलखा हो। त्यसैले २९ गतेको भूकम्पले दोलखामा बढी क्षति पुगेको थियो। 

दोलखामा भूकम्पले क्षति पुगेका ७३ हजार घरमध्ये ६२ हजार ५९० पुनर्निर्माण भएको सघन सहरी तथा भवन निर्माण  आयोजनाका असिस्टेन्ट सब इन्जिनियर रामशरण न्यौपानेले बताउनुभयो। 

कालिञ्चोक गाउँपालिका–४, हिलेपानीको घिमिरेटोलका ३६ घरपरिवारमध्ये १४ घरमा अहिले बसोबास रहेको स्थानीय रीता सुवेदीले बताउनुभयो। बाँकी २२ घरपरिवार अनुदानमा घर निर्माण गरेर काठमाडौँ बस्दै आएका सुवेदीको भनाइ छ। बस्तीमा खानेपानीको समस्या र विभिन्न सुविधाको खोजीमा बसाइँ सरेर सहर पस्न थालेपछि यहाँका घर रित्तै भएको उहाँले बताउनुभयो। 

छिमेकी सहर पसेपछि गाउँ बिरानो लाग्न थालेको स्थानीय राजकुमार कार्कीले बताउनुभयो। दोलखाका विभिन्न गाउँबाट देशभित्र र बाहिर रोजगारी, शिक्षासँगै नयाँ अवसरको खोजीमा जान थालेपछि भूकम्पपछि पुनर्निर्माण भएका अधिकांश घरमा ताला लागेको छ। 

कालिञ्चोक गाउँपालिका–४ का वडाध्यक्ष दीपक खुलालले गाउँबाट तीव्र रूपमा बसाइँसराइ बढ्दै गएको बताउनुभयो। आफ्नो वडामा मात्र नभई पूरै गाउँपालिकाको अवस्था उस्तै रहेको भन्दै गाउँमा कृषि, शिक्षा सडकमा लगानी गरिए पनि गाउँ भने स्थानीयले छाड्दै गएको उहाँले बताउनुभयो।