• १५ वैशाख २०८१, शनिबार

कोहलपुरमा पनि गोलभेँडा दलेर होली मनाइयो

blog

कोहलपुरमा पहिलो पटक गोलभेँडा दलेर होली मनाइँदै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, फागुन २३ गते । कोहलपुरलाई पर्यटकीय गतिविधिसँग जोड्ने उद्देश्यका साथ बाँकेको कोहलपुरमा पहिलो पटक ‘गोलभेँडा उत्सव नेपाल–२०२३’ आयोजना गरेर मङ्गलबार होली मनाइएको छ । 

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको आयोजनामा कोहलपुरमा ‘ला टोमाटिनो फेस्टिवल’ आयोजना गरेर गोलभेँडा दलेर होली खेलिएको हो ।

गोलभेँडाकाे रङसँगै होली मनाऔं भन्ने नाराका साथ मनाइएको सो होलीमा सहभागी सबैले पानी र रङको विकल्पमा पाकेको टमाटर दलेका थिए । 

किसानको उत्पादनलाई बजार खोज्नुका साथै कोहलपुरलाई पर्यटकीय गतिविधिसँग जोड्ने उद्देश्यले नाट्टा बाँके च्याप्टरले गोलभेंडा उत्सव गरेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो । 

यस्तो आयोजनाले कोहलपुरलाई एकातिर पर्यटक आकर्षित गर्न सहयोग गर्ने र अर्कोतिर किसानले आफ्ना उत्पादनको मूल्य पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । सेन्थेटिक रङले पार्ने नकारात्मक असरबाट पनि जोगिन यो कार्यक्रम गरिएको नाट्टा बाँके च्याप्टरले जनाएको छ ।

आयोजकले टोमाटिनो फेस्टिभलका लागि आवश्यक गोलभेँडा सिधै किसानबाट खरिद गरेका थिए । कोहलपुर र वैजनाथमा किसानसँग समन्वय गरेर गोलभेँडा खरिद गरेर सोही दलेर भव्य होली मनाइएको कोहलपुरका मेयर पूर्णप्रसाद आचार्यले बताउनुभयो । उहाँले यो आयोजनाले नयाँपन दिनुका साथै पर्वलाई पर्यटन र आर्थिक विकाससँग पनि जोडिएको बताउनुभयो ।